वनकाे विषयमा सञ्चारकर्मीबीच अन्तर्क्रिया

विराटनगर । मोरङको वैज्ञानिक वन व्यवथापन तथा मोरङका वनको अवस्था विषयमा सञ्चारकर्मीबीच अन्तर्क्रिया गरिएको छ । डिभिजन वन कार्यालय मोरङ र नेपाल पत्रकार महासंघ मोरङको संयुक्त आयोजनामा बेलवारीमा भएको कार्यक्रममा वैज्ञानिक वन व्यवस्थापनका विषयमा अन्तर्क्रिया भएको थियो ।

डिभिजन वन कार्यालय मोरङका वन अधिकृत विशाल घिमिरेले जिल्लाको समग्र वनको अवस्था र त्यसबाट पुगेको फाइदाका विषयमा जानकारी गराएका थिए । मोरङका सञ्चारकर्मीहरू सहभागी सो कार्यक्रमअन्तर्गत वनको फिल्ड भ्रमण पनि गराइएको थियो । कार्यक्रममा बोल्दै समग्र वनको दिगो व्यवस्थापनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा फलदायी भएको उल्लेख गरे । नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले, अन्तर्क्रियाले सञ्चारकर्मीलाई जिल्लाका वनको अवस्थाका बारेमा जानकारी पाउन सहज भएको उल्लेख गरे ।

यसैगरी बेलबारी चिसाङ साझेदारी वन व्यवस्थापन समूहले एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने ३४ जना विद्यार्र्थीलाई छात्रवृत्ति वितरण गरेको छ । समूहले आफ्नो कार्यक्षेत्र भित्रका नगरपालिका तथा गाउँपालिकाका एक छात्र र एक छात्रालाई छात्रवृत्ति वितरण गरेको हो । बुधबार सब डिभिजन वन कार्यालयमा आयोजित कार्यक्रममा डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरे तथा महासंघ अध्यक्ष बन्धु पोखरेलले, समूहका सदस्यहरूले विद्यार्थीलाई छात्रवृत्ति रकम हस्तान्तरण गरेका थिए ।

छात्रवृत्तिबापत् विद्यार्थीहरूलाई जनही तीन हजार रुपैयाँ प्रदान गरिएको हो । यस्तै समूहले दुई वटा विद्यालयलाई एलइडी र पेनड्राइभ पनि प्रदान गरेको छ । बेलबारी–१ स्थित जनएकता आधारभूत विद्यालय र कानेपोखरी–१ स्थित सगरमाथा आधारभूत विद्यालयलाई ३२ इन्चको एलइडी प्रदान गरेको हो ।

साना बालबालिकालाई श्रव्यदृष्यको माध्यमबाट सिकाई गराउन सहज होस् भनेर सामग्रीहरू वितरण गरिएको बेलबारी चिसाङ साझेदारी वन व्यवस्थापन समूहका संयोजक दिनेश गिरीले जानकारी दिएका छन् । आफ्नो विद्यालयमा अधिकांश आदिवासी समुदायका विद्यार्थी अध्ययनरत रहेको र प्राप्त सामग्रीले सहयोग पुग्ने सगरमाथा आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष दीपक तिवारीले बताए ।

प्रतिक्रिया