हिंसाप्रति काँग्रेसको दृष्टिकोण के ? बाँस्कोटा

काठमाडौं । सर्लाही घटनालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद् अवरोध गरिरहेका सन्दर्भमा प्रतिपक्षी काँग्रेसको हिंसाबारे दृष्टिकोणबारे स्पष्ट हुन सरकारले आग्रह गरेको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटले हिंसालाई प्रोत्साहन गर्ने गरी काँग्रेसको गतिविधिले गम्भीर प्रश्नचिह्न खडा गरेको उल्लेख गर्दै यसबारे जवाफ माग गरे ।

मन्त्रिपरिषद्को हालै भएको निर्णय सार्वजनिक गर्न बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटले हिंसाले घेराबन्दी गरे कोही पनि बाँकी नरहने सचेत गराए । प्रतिपक्षी दलबाट सर्लाही घटनाका सम्बन्धमा संसदीय छानबिन समितिको मागका बारेमा मन्त्री बाँस्कोटाले सोही विषयलाई लिएर संसद् अवरुद्ध पहिलो र अन्तिम घटना हैन भन्दै हरेक घटनामा समिति बनाउनाको तुक नहुने बताए ।

उनले भने, ‘समितिहरू कस्तो विषयमा कति पल्ट बनाउने ? सबै विषयमा त्यो बनाउन सकिँदैन । विगतका पनि हेर्नुपर्छ, हरेक घटनामा समिति बनाउँदै जाने, दुर्घटनामा पनि समिति बनाउने, राज्यले गैरकानुनी हो भनेर हत्या हिंसा नगर भनेर प्रतिबन्ध लगाएको विषयमा पनि समिति बनाउने भन्ने कुरा सम्भव हुँदैन । अर्को कुरा समिति बनाउँदा कस्तो बन्छ, बन्ने र बनाउने दुवै राजनीतिकर्मी नै हुन् त्यस्ता प्रतिवेदन पोलिटिकल ‘प्रपगाण्डा’ मात्रै हुन्छन् ।’

प्रतिपक्षी काँग्रेसका प्रवक्ताले हालै सरकारले मृत्युको व्यापार ग¥यो भनेर दिएको अभिव्यक्ति सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासामा सञ्चारमन्त्री बाँस्कोटाले मृत्युको व्यापार हैन हामी जीवनको निरन्तरता खोज्दैछाैँ, व्यक्तिको बाँच्न पाउने मानवअधिकार हुनुपर्छ भने । प्रतिपक्षी दलको शान्ति र लोकतन्त्रमाथि दृष्टिदोष रहेको आरोप लगाउँदै सञ्चारमन्त्री बाँस्कोटाले ‘काँग्रेस दिनमा बिपी र रातमा विप्लव’ हो भनी टिप्पणी गरे ।

‘मान्छे मार्न पाइन्न, जबर्जस्ती हत्या, हिंसा र आतंक कसैलाई पनि स्वीकार्य हुँदैन, हामीले प्रतिपक्षी काँग्रेसलाई हिंसाका बारेमा सिकाउने र यसबारे ‘कन्भिन्स’ गर्नुपर्ने भयो भने काँग्रेसका चार तारामध्ये शान्ति र लोकतन्त्र वा स्वतन्त्रताको तारो कहाँ गए खोज्नुपर्छ, त्यसैले हिंसा सत्तापक्ष र प्रतिपक्ष भन्ने हुँदैन यो सर्वत्र घृणा र भत्र्सनायोग्य हुन्छ’, उनले भने ।

उनले तरकारी र फलफुलको विषादी परीक्षणबारे चाहिनेभन्दा बढी प्रचार भइरहेको बताउँदै यसैका नाममा अनुचित दवाव कसैलाई पनि स्वीकार्य नहुने भनाइ राखे ।

प्रतिक्रिया