खेलाडीप्रति गुनर विश्वस्त

एजेन्सी, मड्रिड । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गुनर सोल्सायरले पाउल पोग्बाको भविष्यबारे जानकारी दिएका छन् । उनले युनाइटेडका कुनै पनि खेलाडीको बिदाइ बारेमा सूचना नआएको बताएका हुन् । मड्रिड र युभेन्टसले पोग्बामा रुचि राखेपछि पोग्बाले युनाइटेड छाड्ने हल्ला व्यापक रूपमा फैलिएको थियो । प्रिसिजन भ्रमणमा रहेको युनाइटेडले शनिबार पर्थ ग्लोरी र मंगलबार लिड्स युनाइटेडविरुद्ध खेल्नेछ ।

मंगलबार सामाजिक सञ्चालमा सार्वजनिक भएको फुटेजमा पोग्बा र जेसे लिगार्डबीच विवाद भएको देखिएपनि सोल्सजायरले त्यसको समेत खण्डन गरेका छन् । ‘पोग्बा उत्कृष्ट खेलाडी हुन् ।यो सबै पोग्बा र क्लबबीच विवाद र्सिजना गर्न रचिएका षडयन्त्र हो,’सोल्सजायरले भने, ‘जेसे र पोग्बा अभ्यास सत्रका क्रममा सँगै हिडिरहेका थिए ।तर त्यसलाई झगडाको रुपमा प्रस्तुत गरियो ।उनीहरूबिच कुनै झगडा भएको छैन । प्रि सिजन भ्रमण सुखद भैरहेको छ ।’

यता सोल्सजायरले गोलकिपर डेविड डि हियाको क्लबसँगको सम्झौता एक सिजनका लागि मात्र बाकीरहेनि उनी लामो समय युनाइटेडमै बस्ने विश्वास व्यत्त गरे । सरुवा बजार खुला रहँदा युनाइटेड यस सिजनका लागि सोउथह्यामटनका मारियो लेमिना र टोटेनह्यामका क्रिस्टियन इरिकसनलाई भित्राउन इच्छुक रहेको खबर सार्वजनिक भैरहेको छ । ‘हामी उचित मूल्यमा क्लबलाई आवश्यक खेलाडी भित्राउने योजनामा छौ र सुरुवा बजार खुला रहेकाले हामीलाई कुनेै हतार छैन,’सोल्सजायरले भने ।

सोल्सजायरले हालै ब्राजिलमा सम्पन्न कोपा अमेरिकाका क्रममा घाइते भएका चिलीका एलेक्सिस सान्चेज सिजन सुरु हुन अगवै फिट हुने आशा समेत व्यत्त गरे ।पर्थमा दुई अभ्यास खेल खेलेपछि युनाइटेड थप अभ्यास खेलका लागि सिंगापुर र चीन भ्रमणमा निस्कनेछ । सन् २०११–२०१२ मा युनाइटेडबाट आफ्नो सिनियर करियरको सुरु गरेका पोग्बा सन् २०१२ देखि २०१६ सम्म युभेन्टसमा आबद्ध भएका थिए । सन् २०१६ को अगस्टमा पोग्बा युनाइटेडमा फर्केका थिए । ८९.३ मिलियन युरोमा उनी युुभेन्टसबाट म्यानचेष्टर फर्किए ।

२६ वर्षे पोग्बाले गत सिजन युनाइटेडको लागि सबै प्रतियोगितामा १५ गोल तथा ९ एसिस्ट गरेर सबैभन्दा बढि गोल गर्ने खेलाडी बनेका थिए । पछिल्लो समयमा पोग्बा आफ्ना समर्थकहरूबाट आलोचित भइरहेका छन् ।पोग्बाले नयाँ चुनौती खोजेको र उनी अरू क्लबमा जाने उनका एजेन्टले केही साताअघि बताएका थिए । पोग्बा बारेमा प्रशिक्षक सोल्सायर भन्छन्,‘पोग्बासित बोलिरहेको छु, सम्पर्कमा छु ।

यो कुरामा म सचेत छु कि म कुनै पनि हाम्रा खेलाडीहरूलाई बिदाइ गर्नुछैन । हामी युनाइटेड हौँ हामीलाई खेलाडी बेच्नु आवश्यक छैन । पोग्बाले कहिल्यै आफूलाई आफ्नो टिमबाट बाहिर निकालेनन् । उनी सधैं खेल्न चाहन्छन् । उनले आफूले सक्दो राम्रो गरेका छन् र त्योभन्दा बढी मैले केही बताउँदिन । एजेन्टहरू सधैं बोलिरहन्छन् । हाम्रो क्लबबाट हामीले कसैलाई बिदाइ गर्नुछैन । यस विषयमा म यत्तिमात्र भन्न चाहन्छु, उनले थपे ।

प्रतिक्रिया