काठमा संस्कृति खोज्दै इन्द्रप्रसाद

काठमाडौं । नेपाली काष्ठकलाको इतिहास निकै प्राचीन रहेको पाइन्छ । विशेषगरी काठमाडौं उपत्यकामा बनेका विभिन्न वास्तुसंरचना र तिनको इतिहासलाई नियाल्ने हो भने लिच्छवीकालसम्म पुग्न सकिन्छ । त्यसयता नेपालमा काष्ठकलाको निकै विकास भएको देखिन्छ । विभिन्न मन्दिर, भवन तथा घरमा कुँदिएका कलात्मक झ्याल, ढोका, टुँडाल, खम्बा तथा मूर्तिले नेपालको वैभवतालाई चिनाउन सफल भएको छ ।

लामो समयदेखि नेपालको मौलिक सीपका रूपमा विकसित हुँदै आएको काष्ठकलालाई पछिल्लो समय जीवन्तता दिँदै आएका कलाकार इन्द्रप्रसाद शिल्पकारले बनाएका काष्ठकलाको प्रदर्शनी सम्पन्न भएको छ । बौद्ध टुसाल स्थित तारागाउँ म्युजियममा उनको पहिलो काष्ठकलाको एकहप्ते प्रदर्शनी भएको हो ।

प्रदर्शनीमा उनले मौलिक विषयका कलात्मक काष्ठकला राखेको तारागाउँ म्युजियमका निर्देशक रोशन मिश्रले बताए । परिवारकै कारण उनी सानैदेखि काष्ठकलामा लाग्ने वातावरण पाए । २२ वर्षअघि इन्द्रप्रसादले स्कुल पढ्दा पनि घरमा गरिने काठकै काममा उनको ध्यान जान्थ्यो ।

उनका बुवा इन्द्रकाजीको दैनिक काम काठमा चित्र बनाउने र कुँद्नमै बित्थ्यो । बुवाको कामबाट प्रेरित भएर इन्द्रप्रसादले आफूलाई पनि काष्ठकलामै समर्पित गरेको सुनाए । उनले सानैदेखि हातमा ज्यावल समात्न थाले र काठमा विभिन्न आकृति कुँद्न थाले । उनका बुवाले भने छोरालाई यस पेशाप्रति काम नगर्न सल्लाह दिन्थे । यस काममा पैसा हुँदैन अर्को पेसा रोज भन्ने बुवाको आग्रहलाई उनले लत्याउँदै उनले काष्ठकलामै काम गर्ने निधो गरे । इन्द्रले भने, ‘बुबाले काठको काममा राम्रो भविष्य छैन । पैसा पनि कमाउन सकिन्न । यस क्षेत्रमा नलाग भन्नुहुन्थ्यो ।’

त्यसवेला काठको काम गरेर जीविकोपार्जन गर्न गाह्रो भएकाले बुवाले त्यसो बनेको उनले सम्झिए । उनले भने, ‘मिहिनेत धेरै लाग्ने तर, ज्याला कम पाउने । त्यसैकारणले बुवाले यस काममा नलाग्न भन्नुभएको हो ।’ उनले एसएलसी दिएपछि आफ्नो पुख्र्यौली पेसाको रूपमा रहेको काष्ठ कलामै लाग्ने निधो गरे ।

उनले भोटाहिटीस्थित ललितकला क्याम्पसमा मूर्तिकला विषयमा स्नातक गरे । भक्तपुरदेखि काठमाडौं आएर उनले त्रिभुवन विश्वविद्यालयबाट समसामयिक मूर्तिकलामा स्नातकोत्तर समेत गरे । उनले काठमा आफ्नो पुर्खाको सीप, पसिना र सिर्जना जोडिएकाले यस क्षेत्रमा लागेको बताए ।

नेपालको पुरातात्विक सम्पदाका रूपमा रहेका काष्ठकलाको अध्ययनपछि उनले प्रदर्शनी गरेको सुनाए । उनी बुवासँग काठमाडौं उपत्यकामा रहेका विभिन्न मठ–मान्दिर घुमेर त्यहाँका काष्ठकलाका बारेमा अध्ययन गरेपछि बनाएका कलाकृतिको प्रदर्शनीमा जुटे । प्रदर्शनीमा उनले बनाएका विभिन्न मन्दिरमा रहेका काष्ठकलाका प्रतिमूर्ति ‘रिप्लिका’ राखिएको छ । कृतिमुख, शार्दुल, टुँडाल, गन्धर्व, किन्नर, मकर भगीरथ, गस्झ्या, गणेश, बुद्ध, इन्द्रलगायतका काष्ठकला राखिएको इन्द्रप्रसादले जानकारी दिए ।

प्रतिक्रिया