बहिरा व्यक्तिले अझै पाएनन् लाइसेन्स

काठमाडौं । बहिरा व्यक्तिलाई सवारी चालक अनुमतिपत्र दिनु भन्ने सर्वाेच्च अदालतले निर्णय गरेको छ वर्ष बिते पनि अहिलेसम्म कार्यान्वयन भएको छैन । संशोधनका क्रममा रहेको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा अपांगता भएका व्यक्तिलाई सवारी चालक अनुमतिपत्र दिने व्यवस्था नहुँदा उनीहरूले चालक अनुमतिपत्र नपाएका हुन् ।

सर्वाेच्च अदालतले २०६९ चैत २९ मा ऐन संशोधन गरेर बहिरा नागरिकलाई सवारी चालक अनुमतिपत्र दिन सरकारका नाममा निर्देशनात्मक आदेश दिएको थियो । अपांगता भएका व्यक्तिले सवारी चालक अनुमतिपत्र नपाउँदा उनीहरूलाई धेरै समस्या भएको नेपाल बहिरा महासंघका अध्यक्ष केपी अधिकारीले बताए ।

अरू धेरै नागरिकको जस्तै निजी सवारी साधन चढ्नु बहिरा व्यक्तिको बाध्यता भएको उनको भनाइ छ । उनका अनुसार अहिले धेरै बहिरा व्यक्तिहरू होटल, रेष्टुरेन्ट, क्याफेलगायतका स्थानमा कार्यरत छन् । उनीहरू साँझ १०-११ बजेसम्म काम गर्ने उनले बताए । सार्वजनिक सवारी साधन राति अबेरसम्म नचल्ने र उनीहरूले अनुमतिपत्र पनि नपाउने हुँदा दुईपांग्रे सवारी साधन चलाउने गरेको उनले बताए ।

उनले भने, ‘राति सार्वजनिक सवारी साधन नचल्दा एकातिर मोटरसाइकल चढ्नैपर्ने बाध्यता छ भने अर्कातिर हाम्रा साथीहरू समयसमयमा पक्राउ परिरहेका छन् ।’ महासंघले बहिरा व्यक्तिले पनि चालक अनुमतिपत्र पाउनुपर्ने भन्दै १० वर्षसम्म पैरवी गरेका थिए । यस क्रममा महासंघले पटकपटक धर्ना र आन्दोलनका कार्यक्रम पनि गरेका थियो । पैरबीले मात्रै सरकारले त्यसतर्फ ध्यान नदिएपछि महासंघले नै छ वर्षपहिले सर्वाेच्चमा रिट दायर गरेको थियो ।

सर्वाेच्चले ऐन संशोधन गर्न भने पनि लामो समयसम्म अवस्था उस्तै रहेको उनले बताए । यातायात व्यवस्था विभागले चालक अनुमतिपत्रमा ‘मापदण्ड पूरा गरेको सडकमा मात्रै चलाउन पाउने’ भनेको उनको भनाइ छ । सडक विभागले भने बहिरा व्यक्तिका लागि मात्रै छुट्टै मापदण्ड बनाउन नसकिने बताउँदै आएको छ । उनले भने, ‘एउटा निकायले अर्काेलाई देखाउने हुँदा हामीले सवारी चालक अनुमतिपत्र नपाएका हौँ ।’ प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको गत साता बसेको बैठकमा बोल्दै अधिकांश सांसदले बहिरा व्यक्तिलाई चालक अनुमतिपत्र दिनुपर्ने बताएका थिए ।

समितिका सदस्यले ऐनमा संशोधन गरेर पनि अनुमतिपत्र दिनुपर्ने सुझाव राखेका थिए । यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले सरकारले अहिलेसम्म कार्यविधि नबनाएकाले सवारी चालक अनुमतिपत्र दिन नसकिएको बताए । सवारी तथा यातायात ऐन संशोधनका क्रममा रहेकाले यी विषय समेटिने उनले बताए । ऐन संशोधन भएपछि बहिरा व्यक्तिले समेत चालक अनुमतिपत्र पाउने गरेर व्यवस्था हुने उनले बताए । उनले भने, ‘केही समयभित्रै समस्या समाधान हुनेछ ।’

ऐनको दफा ४७ मा (ङ) मा ‘साधरण ध्वनि संकेत, आवाज सुन्न नसक्ने गरी बहिरो भएको व्यक्ति चालक अनुमतिपत्र प्राप्त गर्न अयोग्य मानिनेछ’ भन्ने उल्लेख छ । सोही दफामा छारे रोग लागेका, बौलाएका, चस्मा लगाउँदा समेत देख्ने शक्ति ठीक नभएका व्यक्ति चालक अनुमतिपत्रका लागि अयोग्य हुने उल्लेख छ तर ‘यस्ता व्यक्तिको चालक क्षमता सम्बन्धमा परीक्षण गराई तोकिएबमोजिम मापदण्ड पूरा भएका सडकमा मात्रै सवारी चलाउन पाउने गरी निजलाई सवारी चालक अनुमतिपत्र दिन सकिनेछ’ भन्ने उल्लेख छ ।

प्रतिक्रिया