त्रिविविका कर्मचारीविरुद्ध अख्तियार

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्र्तगतका क्याम्पसमा कार्यरत दुई र परीक्षाको गोप्य शाखामा कार्यरत एक कर्मचारी विरुद्ध घुस लिई नम्बर फेरबदलमा संलग्न भएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर भएको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै नम्बर घटाउन बढाउन सहभागी भएको दाबीसहित उनीहरूमाथि मुद्दा चलाएको हो ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका कर्मचारी राम बहादुर कर्माचार्य, त्रिवि कै आंगिक क्याम्पस भक्तपुर बहुमुखी क्याम्पस दुधपाटीमा शिक्षण सहायक (आंशिक) पदमा कार्यरत सुरेन्द्र प्रसाद कोईराला र बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगरका का.मु प्रशासनिक अधिकृत केदार भट्टराई विरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

परीक्षामै अनुपस्थित भएका कोईरालाले घुस दिएर समाज शास्त्रमा स्नातकोत्तर पास भएको अख्तियारको दाबी छ । कोईरालाले अर्थशास्त्रको स्नातकोत्तर तहमा गोल्ड मेडल ल्याउन बढी प्राप्तांक हुने गरी अंक थपाउन लगाएका थिए । सोही आधारमा कोइराला प्रथम भई गोल्ड मेडल पाएका थिए । कोइरालाले सन् २०१९ को दीक्षान्तमा प्रथम श्रेणीमा उत्तीर्ण भइ उक्त पदक पाएका हुन् ।

यसै गरी ग्रामीण विकासमा कोईरालाले प्राप्त गरेको नतिजामा पनि कर्माचार्यले नै अंक थपेका अख्तियारको दावी छ । यसका लागि कोइरालाले कर्माचार्यलाई एक लाख पचास हजार रुपैयाँ दिएका थिए । उनले, कोइरालाको अर्थशास्त्र, ग्रामिण विकास र सामाजशास्त्रका विभिन्न १५ संकायमा नम्बर थपाउँन लगाएका आयोगको दाबी छ ।

यस्तै भट्टराईले अर्थशास्त्रको स्नताकोत्तर तहका ५ वटा पेपरमा १०– १० नम्बरका दरले ५० अंक थप गर्न कोइराला मार्फत नै तीन लाख रुपैयाँ कर्माचार्यलाई बुझाएको अनुसन्धानबाट देखिएकोले ४ लाख ५० हजार विगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

कोइरालाले नतिजा फेरबदल गर्न तीन संकायका १५ वटा विषयमा ३ नम्बर देखि ५० नम्बर सम्म गरी कुल २२४ अंक थप गर्न लगाएका हुन् त्यस्तै भट्टराईबाट तीन लाख रुपैयाँ लिई अर्थशास्त्रको स्नातकोत्तर तहको ५ विषयमा १० –१० नम्बरका दरले ५० अंक थप गर्न लगाई प्रथम श्रेणीमा उत्तीर्ण गराएकोले कोइराला विरुद्ध पनि अख्तियारले ४ लाख ५० हजारको विगो कायम गरी मुद्दा दायर गरेको छ ।

भट्टराईको हकमा तीन लाख रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।

प्रतिक्रिया