राम कार्कीको वैचारिक विचलन

कमरेड राम कार्कीलाई यस लेखकले करिब तीन वर्षदेखि पछ्याइरहेको छ र पढिरहेको छ । यस बीचमा कार्कीले विभिन्न मिडियाहरूमा पार्टी, राजनीति, संस्कृति तथा विकास निर्माण सम्बन्धमा आफ्नै खाल र खलकका दृष्टिकोण प्रस्तुत गरेका छन् ।

०७६ साल असारको २० गते बिहान एक एफ.एम.रेडियोकोे हेडलाइनमा कार्कीको प्रस्तुति देख्दा नेकपाका जिम्मेवार नेताको अतिसामान्य हैसियत प्रस्तुत गर्ने खालको देखिएन । कार्कीले वार्ताका क्रममा ओली सरकार पूर्वराजाको शासनकालको जत्तिको पनि अनुभूत नभएको श्रोताका प्रश्नमा सोह्रैआना समर्थन गर्दै थिए । यसबाट कार्कीमा वैचारिक विचलन गम्भीर रहेको देखियो ।

हुनत उनले हरेक आलेख र वार्तामा कुनै न कुनै मात्रा तथा जोण कोणमा पार्टी र सरकारका कुनै र कत्ति पनि सकार नदेखेको उल्लेख गरेका छन् । कार्की सरकारविरुद्ध बापबैरी साधँुलाझैँ गरेर मिडियाबाजीमा रमाउँछन् ।

माक्र्सवादको सतही भन्दा समग्र सिद्धान्त पढेर मात्र हुन्न । त्यही समग्र ज्ञानलाई व्यवहारमा उतार्दा मात्र ज्ञानले पूर्णता प्राप्त गर्छ । यसको पूर्ण अभाव कार्कीमा देखियो । सूत्र, सिद्धान्त र ग्रन्थमा समाजवाद केही दिनमा देखाउन सकिन्छ तर त्यसलाई व्यवहारमा उतार्न कतिको गाह्रो हुन्छ । त्यो त गर्नेलाई नै थाहा हुन्छ । राम कार्कीले झैँ त्यसै उचालिएर समाजवाद आउँदैन ।

हतियारबद्ध आन्दोलन वा संघर्ष मात्र गर्नेलाई सामाजिक संघर्ष कति जटिल हुन्छ र यसलाई कति समय र श्रम लगाएर, सम्झाएर र चित्त बुझाएर समन र समाधान गर्नुपर्छ भन्ने कुरा थाहा हुँदैन कलम र तरबार मात्र भिरेका भरमा संघर्ष गर्नेलाई सामाजिक अन्तर्विरोधको जटिलता थाहा हुँदैन । यही जटिलताबाट वाक्क र दिक्क भएर होला कमरेड पुष्पकमल दाहाल प्रचण्डले नै केही दिन अघि बलपूर्वक विकास निर्माण तथा घुसखोरी निवारणलगायत काम गर्न नपाएको गुनासो गर्नु भएको थियो ।

कार्की कुनै पनि कुरा रातारात परिवर्तन गर्न चाहेको उग्र चिन्तन व्यक्त गर्छन् । उनी यो कम्युनिस्टको सरकार भएर पनि नेपालको संविधान, नियम, ऐन, कानुनअनुसार चल्नु पर्ने विधि विधानलाई बेवास्ता गर्छन् । तरकारी र फलफूलका बिचौलिया हटाउन सरकारलाई नै हम्मेहम्मे परेको देखिदेखि कार्की चक्मा दिने खालका विकास निर्माणका अद्भूत काम नगरेकामा सरकारलाई धारे हात लगाउँछन् ।

त्यसैले कार्कीले पहिले पनि सरकारका कुनै र कत्ति पनि सकार नदेखेर आफूलाई कम्युनिष्ट हुँ भन्न लाज लागेको बताएका थिए । ओली सरकार विगत सरकारका तुलनामा धेरै सकारात्मक काम र कदमका साथ क्रियाशील रहेको तथ्यबाट अवगत हुन्छ तर राम कार्की प्रवृत्ति भने यो सरकार जत्तिको नालायक अरू कुनै सरकार नरहेको बेहिचक भन्न रूचाउँछन् ।

राम कार्की अहिलेको शान्तिपूर्ण आन्दोलन र संघर्षका सबै बाटाहरू खुल्ला भएका अवस्थामा पनि सबै पार्टी हिंसाबाट गुज्रेका भन्दै विप्लव पाटीर्को सशस्त्र संघर्षको औचित्य सिद्ध गर्न कन्दनी कसेर लागेको देखिन्छ । राम कार्की रातारात घुसखोरी नियन्त्रण नभएकामा धेरै चिन्तित देखिन्छन् । के कम्युनिस्टको सरकार आएको भोलिपल्ट रामराज्यको परिकल्पना कार्कीले गरेका हुन् ? हुन् भने उनी ठूलो भ्रममा बाँचिरहेका छन् ।

प्रधामन्त्री वा सरकारको देखावटी पक्षधर भएर पद हत्याउनेहरू प्राज्ञिक पुरस्कार र पदकमा समेत सरकार र प्रधानमन्त्री निकट भनाउँदाहरू आफैँ बिचौलियाहरू बनेर पाँडेपजनी गरिरहेका छन् । ।

तर, सरकारले सरकारी अड्डा अदालतमा दिनहुँ हुने भ्रष्टाचार र अनियमितताका कारण सरकारदेखि रूष्ट तमाम जनतालाई सुशासन दिएर आगामी दिन सहज बनाउनु अपरिहार्य हुन्छ । त्यसमा पनि सदियौँदेखि दीक्षित र प्रशिक्षित सत्ताको समग्र पक्षमा र कर्मचारी संयन्त्रमा सामान्य सुधार मात्र आउन पनि समय लाग्छ ।

नेकपाभित्रचाहिँ सबै दूधले धोएका छन् भन्ने कार्कीले ठानेका हुन् भने यो उनको अर्को भ्रम हो । सदियौँ देखिको पुरातन कुप्रभाव सबैमा कम वा बेसी परेकै छ र हुन्छ । नत्र नेकपाका केही मन्त्रीलाई करौडौँँ भ्रष्टाचार गरेकामा रातको दश बजे पार्टीले निष्कासन गर्नुपर्ने थिएन । ओली सरकारले अनुगमनमाथि अनुगमन गर्ने गरेको कारण कसैले पनि कुनै मन्त्री माननीय र सचिवले अनियमित नगरोस् भन्नलाई न हो ।

अझ ओलीले प्रधानमन्त्रीका नाताले सबै मन्त्रालय र मातहतलाई आफ्नै नजर नजिक र वरपर राखेको हुँदा सरकारको सरम जोगिएको हो । राम्रो उद्देश्यले गरेका कामहरूलाई पनि प्रतिक्रियावादी त उडाउँछन् उडाउँछन् किनकि, तिनलाई यो सरकार भ्रष्ट र कामै नलाग्ने होस् भनी धूप हालिरहेका छन् तर यसलाई नबुझेर, बुझेर वा बुझ पचाउने कथित नेता देख्दा सरमको भारी हुन्छ ।

सदियौँ पुरानो भ्रष्ट, अनैतिक तथा अनियमित शैली र प्रवृत्तिमा पूरै बानी परेको सत्ता संयन्त्र, कर्मचारी संयन्त्रले यो सरकारलाई खुल्ला दिलले सहयोग गर्दैन । यसको ज्वलन्त उदाहरण निर्मला हत्या तथा बलात्कार प्रकरण हो । यस्तो अवस्थामा सकेसम्म मनले जितेर विधि र पद्धतिअनुसार पाइला फुक्दै राम्रो काम गर्दै गएर आगामी दिनमा सत्तामा सरकारको पकड क्रमशः बढाउँदै जाने सरकारकानने सोच हुनुपर्छ ।

ओली सरकारले तुइन विस्थापित गर्दा पनि कम्युनिस्ट हुँ भन्न लाज मान्नेसित यस विषयमा धेरै भन्नु छैन । माओले नै कुनै पनि युगमा शासकका विचार प्रभावशाली, हुन्छन् भनेका छन् । र शासकका विचारबाट बुद्धिजीविसमेत लामो समयसम्म परिचालित हुन्छन् पनि भनेका छन् । त्यसैले नेकपाका उपल्ला तहका नेताहरू उही पुरानै गिदी र गुदी अनुसार बोलीरहेको र चलिरहेको देखिन्छ । माओले भनेझैँ फेरिएको परिस्थिति अनुसार आफैँलाई फेर्न नसक्ने नेता र कार्यकर्ता मनोगत रटान रटिरहेको यसले कि उग्रगमन कि पश्चगमनतिर धकेल्न सक्छ ।

ओली सरकारले विगत लामो समयदेखिका तमाम खाले भ्रष्टाचार, अनियमितता, घुसखोरी, भू–अपचलन आदि विषयको खोज अनुसन्धान गर्दै तिनलाई आम जनताले थाहा पाउने गरी खुला गरिरहेको देखिन्छ । जसले यस्ता काम गरिरहेको छ, त्यसैलाई उल्टो भ्रष्टाचारीको आरोप लगाउने काम गोयबल्स शैलीमा भइरहेको देखिन्छ । के यस्तै भ्रममा त कार्की परिरहेका छैनन् ।

जनताले जानेर नजानेर सत्य तथ्य थाहा पाएर वा नपाएर सरकारप्रति आक्रोष व्यक्त गरिरहेका छन् भन्ने एउटा नेताले बुझ्नु पर्छ । जनता यसो भन्छन् भनेर भीडका पछाडि नेताले लत्रिन सुहाउँदैन । जनताका गुनासा सुन्नुपर्छ तर गुनासा कत्ति सही छन् भन्ने नबुझ्नु जरुरी हुन्छ । कतिपय जनता राजालाई द्यौता भन्छन् । अनि तिनले द्यौता भने भनेर एउटा जिम्मेवार नेताले द्यौता भनेर राजालाई पुज्न मिल्छ ?

हजारौँ अमेरिकी सेनाले गर्न नसकेको काम एउटा पत्रिकाले गर्छ भनिन्छ । कतिपय नेपाली प्रमुख मिडियामा नेपाल विरोधी आलेख छापिएको अध्ययनशील भन्ने राम कार्कीलाई थाहा हुनु्पर्ने हो । ब्याड न्युज गुड न्युजका भरमा परेर असत्यलाई सत्यझैँ पारेर आम जनतालाई गुमराहमा पार्ने केही कथित मिडियाका भरमा भौँतरिएका जनतालाई सही सूचना पु¥याउनु कार्कीजस्ता सभासदको काम होइन र ? तर, कार्की आफ्नो निर्वाचन क्षेत्रमा कति आउँछन् र के के चाहिँ गर्छन् ? यसको पनि खोज जरुरी भयो ।

राम कार्कीमा नै पनि विगत पुरानो उग्रवादी कि त दक्षिणपन्थी विचार र चिन्तनले घर गरेको देखिन्छ । नत्र उनी द्वन्द्ववादविपरीत सरकार र पार्टीका बारेमा सतही सपाट तथा भड्के विचार व्यक्त गर्दैनथे । उनी मधेसी नेतालाई फुस्ल्याएर तिनलाई पत्रु बनाउने यो चक्र बन्द गरौँ भन्छन् । कार्की जहाँ जुन सामाजिक, जतीय, धार्मिक तथा सांस्कृतिक बहुल जनताका बीचमा पुग्छन् त्यही खालको सतही विचारको बजारीकरण गर्न रूचाउँदा रहेछन् भन्ने थाहा हुन्छ ।

एक अनलाइन खबरका पत्रकार चन्द्र आले मगरले लिएको अन्तर्वार्तामा ने क.पा.का नेताहरू श्राद्ध, काजकिरिया, घेवा, पितृ गर्न पनि गर्छन् र आफूलाई क्रान्तिकारी कम्युनिस्ट पनि भन्छन् भनेर कार्कीले सांस्कृतिक शून्य चेत प्रदर्शन गरेका छन् । पुराना भन्नेबित्तिकै सबै सडुवा भन्ने रोगग्रस्त चिन्तन उपल्ला तहका नेतामा हाबी भएको देख्दा अचम्म लाग्छ । पुरातन संस्कार संस्कृतिमा सुधार वा परिवर्तन गरेर समसामयिक बनाउनुपर्ने सिर्जनात्मक सोचको कमी कार्कीमा पनि देखियो । मानिसको संस्कृति हुन्छ तर पशुको हुँदैन यत्ति कुराचाहिँ बेलैमा बुझिराखौँ ।

माक्र्स जयन्ती तथा स्मृति दिवस परम्परागत श्राद्धका आधुनिक विकल्ःप हुन् भन्ने पनि कार्कीलाई थाहा छैन ? संस्कार संस्कृतिका क्षेत्रमा रहेको जनविरोधी सारतत्वलाई नवीनता प्रदान गर्दै अगाडि बढ्ने हो । । वैदिक सनातन संस्कृतिमा गाईलाई अघाउँजी घाँस खुवाउँदा पनि श्राद्ध हुन्छ भनिएको पाइन्छ । श्रद्धापूर्वक गरिने सबै कामलाई श्राद्ध भनिएको छ ।

नयाँ पत्रिकामा ०७५ चैत्र २९ गते राम कार्कीले अमुक नेतालाई अब्बल भनेकामा धेरै चित्त दुखाएको देखियो तर कार्कीलाई के थाहा हुनुपर्छ भने एक न एक विशेषता र क्षमता कुनै पनि नेतामा हुन्छ तर एउटा त्यस्तो नेता पनि जन्मिन्छ र हुन्छ, उससित एक्लैमा एक होइन अनेक विशेषता र क्षमता हुन्छन् । यस्तो क्षमता व्यवहारबाट नै सिद्ध हुन्छ । बातबहादुरको कुरा भने अर्कै हो । एउटा विद्यार्थीले विशिष्ट श्रेणी पनि ल्याउँछ । यस्तो तथ्य देखी देखी किन कार्की अष्टवक्र विचार व्यक्त गर्छन् । आग्रही नेतृत्व दूराग्रही बन्न केही बेर छैन ।

विचार सिद्धान्तको भयंकर अलमल कार्कीले व्यक्त गरेका छन् । उनले जबज माक्र्सवादी विचारधारामा उभ्भिएको छ कि छैन यो माक्र्सवादको विकास हो कि होइन भनेर कार्कीले आफ्नो अज्ञानता प्रदर्शन गरे । यसै विषयमा विद्यावारिधि गर्दै गरेका आदरणीय नेता वेदुराम भुसालसित कार्कीको सम्पर्क अब जरुरी देखियो ।

शब्दका सामान्य र विशिष्ट प्राविधिक तथा पारिभाषित अर्थ हुन्छन् भन्ने पनि बुझ्नुपर्छ । प्रधानमन्त्रीले नेपाली कांग्रेसका सभासद्का असंसदीय बोलीवचनलाई लक्षित गरेर ‘निम्छरा’ शब्दको प्रयोग गर्नु भएको हो । त्यहाँ बोलेको उक्त शब्दको प्रयोग सन्दर्भ र प्रसंगको विशिष्ट पक्ष छ । यहाँ बोलिएको ‘निम्छरा’ शब्द संसदीय प्राविधिक वा पारिभाषिक विशिष्ट अर्थ छ तर ज्ञानका अभावमा सभासद् नै ट्वाल्ल पर्ने अवस्था देखिएकै हो ।

अझ कार्कीले मृत्युपछि भण्डारीको बढाइचढाइ गरेर सत्तामा पुग्ने भर्याङको रूपमा मात्र जबजको प्रयोग गरेको आक्षेपपूर्ण आरोप लगाउन पनि भ्याएका थिए ।

प्रतिक्रिया