मूर्तिकार इस्पातमा मूर्ति

काठमाडौं । यतिवेला करिब एक दर्जन मूर्तिकार इस्पातमा मूर्ति बनाउन तल्लीन छन् । नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभागले आयोजना गरेको कार्यशालामा कलाकारले विभिन्न आकारमा कलाकृति निर्माण गरिरहेका छन् ।

मूर्तिलाई ढुंगा, माटो, धातुलगायतका माध्यममा मात्रै सीमित नराखेर विविध माध्यममा बनाउने उद्देश्य राखेर आठदिने कार्यशाला गरिएको विभागीय प्रमुख प्राज्ञ लालकाजी लामाले बताए । असार २० गतेदेखि जारी ‘इस्पात मूर्तिकला कार्यशाला’ ले कलाकारमा विविध माध्यममा काम गर्न सकिन्छ भन्ने भावना विकास गर्न सहयोग पुग्ने प्राज्ञ लामाले जिकिर गरे ।

प्रतिष्ठानका अनुसार नेपालमै पहिलोपटक इस्पात मूर्ति कार्यशाला गरिएको हो । केही मूर्तिकारले इस्पात ‘स्टेनलेस स्टिल’ मा काम गर्दै आए तापनि संस्थागत रूपमा कार्यशाला हुन नसकेको सहभागी मूर्तिकार उत्तम डंगोलले बताए । उनले भने, ‘कार्यशालाले मूर्तिकला क्षेत्रमा विविध माध्यमको प्रयोग गरी त्यसलाई मूर्त रुप दिन सकिन्छ भन्ने भावनाको विकास गर्न सहयोग पु¥याउने आश गर्न सकिन्छ ।’ हाल नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा मूर्तिकारहरू स्टीलमा मूर्ति निमार्ण गर्नमा तल्लिन रहेको पाइन्छ ।

कार्यशालाको उद्घाटन गर्दै प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले मूर्तिकला विधा आफँैमा गाह्रो विधा भए पनि यसको आयाम फराकिलो रहेको बताए । उनले भने, ‘स्टिलमा काम गर्नु चुनौतीपूर्ण रहे पनि मूर्तिकारले राम्रा कलाकृति बनाउने अपेक्षा प्रतिष्ठानले गरेको छ ।’

स्टिलमा काम गर्न गाह्रो र जोखिमपूर्ण रहेको बताउँदै प्राज्ञ लालकाजी लामाले पातालाई टुक्राटुक्रा पारेर मूर्तिको आकारमा ढाल्नु चुनौतीको विषय रहेको सुनाए । उनले भने, ‘सधैँ जोखिम मोलेरै काम गर्ने बानी परिसकेका कलाकारले मूर्ति सिर्जना गर्नु एक किसिमले रमाइलो र सिर्जनात्मक गतिशीलता हो ।’

कार्यशालामा कलाकारले कागजका आफूले बनाउने मूर्तिका विविध रुप र आकारमा म्याकेट बनाइरहेका छन् । तिनै म्याकेटका आधारमा स्टिलमा उनीहरूले आफ्नो सीप र सिर्जना प्रस्तुत गर्ने प्राज्ञ लामाले जनाए ।

कार्यशालामा कलाकार उत्तम डंगोल, राजु पिठाकोटे, विष्णुप्रसाद श्रेष्ठ, भिमबहादुर श्रेष्ठ, अगम श्रेष्ठ, भूषण दुवाल, दीपक लामा, कुमार थापा, चन्द्रमणि मगर, विशाल सारु र प्राज्ञ लालकाजी लामा सहभागी छन् । कार्यशाला २८ असारसम्म जारी रहने जनाइएको छ ।

प्रतिक्रिया