मुगु । जिल्लाभित्र सञ्चालित एक सडक मर्मत योजनामा डेढ करोडभन्दा बढी घोटाला भएको पाइएको छ । गमगढी–नाग्म सडक खण्डअन्तर्गत छायाँनाथ रारा नगरपालिका–८ झ्यारी खोलादेखि गमगढी शून्य विन्दुसम्मको सडक मर्मतको ठेक्का प्रक्रियामा घोटाला भएको पाएको हो ।
सडक मर्मतका लागि आव ०७४÷७५ मा सुरु भएको योजनामा मुख्य ठेकेदारले सडक डिभिजन कार्यालय जुम्लामा ३ करोड २३ लाख ९ हजारमा सम्झौता गरेको र काम गर्दा छायाँनाथ रारा नगरपालिका–४ निवासी हृदयसिंह नेपालीसँग १ करोड ६१ लाख ७६ हजार ३ सय ४६ रुपैयाँमा योजना सम्पन्न गर्ने गरी करार सम्झौता गरे पनि नेपालीले भुक्तानी नपाएको भन्दै जिल्ला अदालतमा मुद्दा हालेपछि डेढ करोड बढी घोटाला भएको तथ्य सार्वजनिक भएको हो ।
हृदयसिंह नेपालीसँग गरिएको करार सम्झौतामा उल्लेख गरिएको रकमभन्दा सडक डिभिजन कार्यालयबाट भुक्तानी लिएको दोब्बर छ तर काम भने गुणस्तरहीन छ । गएको वर्ष मर्मत गरिएको सडक घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे बन्ने गरेको छ । सडकका नहर पुरिएका छन् । यतातिर काम गर्ने मजदुरले रकम पाएका छैनन् भने सडकको अवस्था पनि राम्रो छैन ।
कामको जिम्मा लिएको धोधुंगा कन्ट्रक्सन प्रालिविरुद्ध मुद्दा परेपछि यही १९ असारमा जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको एकल इजालसले हृदयसिंह नेपालीका पक्षमा फैसला गर्दै निर्माण कम्पनीका सञ्चालक कार्मानोर्बेल तामाङलाई पाँच लाख जरिवाना तोकेको थियो ।
मुद्दाको फैसलापछि प्राप्त प्रमाणलाई हेर्दा कुल बजेटको आधा बजेट पनि खर्च नगरी गुणस्तरहीन काम भएको, नेपालको विकास कसरी हुँदोरहेछ भन्ने स्पष्ट हुन्छ त्यसैले यो विषयमा राष्ट्रिय बहस गर्न जरुरी छ जिल्ला अदालतले गरेको न्यायिक टिप्पणीमा भनिएको छ ।
१ करोड ६१ लाख ७६ हजार ३ सय ४६ रुपैयाँ नेपालीसँग करार सम्झौता भएको र बाँकी १ करोड ६२ लाख ३२ हजार ६ सय ३५ रुपैयाँ कहाँ गयो भन्नेमा प्रश्न उठाई ३५ दिनभित्र बिगो र जरिवाना असुल गरिने उल्लेख छ ।
तर, निर्माण कम्पनीका ठेकेदार तामाङले पेटी ठेकेदार नेपालीलाई सबै रकम दिएको तर आपूmले भर्पाई नगर्दा यो झमेला आएको दाबी गरेका छन् । ‘नगदसहित खाद्यान्नसमेत दिएको छु मैले नेपालीलाई कुनै रकम बुझाउनुपर्ने छैन’। तामाङले भने । अब मैले जिल्ला अदालतमा हारे पनि पुनरावेदन जान्छु तामाङले बताएका छन् ।
प्रतिक्रिया