टोखाबाट काठमाडौं उपत्यकाको मनोरम दृश्य हेर्दा स्वर्गीय आनन्द प्राप्ति हुन्छ । प्रकृतिमा रमाउने लेखक, कवि, स्रष्टाहरूको सिर्जनाको स्रोत हो शिवपुरीक्षेत्र ! नयाँ पुस्ताको थप उत्साहको क्षेत्र हो टोखाक्षेत्र ! उमेर ढल्केकाहरूको आनन्द प्राप्तिको क्षेत्र हो यो शिवपुरीक्षेत्र
प्रसिद्ध र पावन वागमती, विष्णुमती, रूद्रमती, इक्षुमती जस्ता काठमाडौं उपत्यकाका नदीहरूका उद्गमस्थल वाग्द्वार एवं शिवपुरीक्षेत्रले पूरै नेपाललाई हराभरा बनाएको छ । विक्रम संवत्को आरम्भ, नयाँवर्षको स्वागत सँगसँगै शिवपुरीक्षेत्रको टोखा र सूर्य मेषराशिमा रहेको पावन बिहानीमा यसै क्षेत्रमा रहेको सपनतीर्थ स्नानको आफ्नै महत्व रहेको छ । त्यसो त कुम्भमेला, मकरमेला, पनौतीदेखि कुरूक्षेत्र एवं हरिद्वारसम्मको चर्चाले पनि सदा वर्षभरि हाम्रो मनमस्तिष्कमा गहिरो प्रभाव पारेकै हो ।
वैशाख महिनाभरि जीवनका सञ्चालक देवताका रूपमा मानिने श्रीविष्णु यसै क्षेत्रमा रहेका बूढानीलकण्ठ नारायणको दर्शन एवं पूजाआजा गर्नेहरू पनि काठमाडौंमा धेरै छन् । शिवपुरीको काखमा रहेको टोखानजिकैको खहरेखोलाको संगममा स्नान गरी आफ्नो मनोकामना पूरा गर्नेहरू पनि हामी कहाँ धेरै छन् । शिवपुरीको काखमा रहेको टोखा नजिकैको खहरेखोलाको संगममा स्नान गरी आफ्नो मनोकामकना पूरा गर्नेहरू पनि हामी कहाँ धेरै छन् । खासगरी सामान्यदेखि ठूला असाध्य रोगहरू पनि यहाँको स्नानबाट दूर हुन्छन् भन्ने जन विश्वास देखिन्छ । सपना देखेकाले सपनतीर्थ मेला आरम्भ भएको विषयमा एउटा किंवदन्ती यस्तो रहेको छ ।
छोराछोरीको विहे गर्दा अभिभावकले उनीहरूको अभिप्राय बुझ्ने चलन पूर्वीय धर्म, संस्कृति र दर्शनको विशेषता नै हो । युगौँयुगदेखि आफ्नो मौलिक अस्तित्वमा रहेको काठमाडौं क्षेत्रका एक राजाको तीन छोरीहरू रहेछन् । विवाहयोग्य भएका ती तिनै छोरीहरूलाई राजाले एक पटक सोधेछन्, ‘तिमीहरूको विहे गर्ने वेला भयो, कोसँग विहे गर्छौ ?’ आफ्नो बाबुको सोधनीले खुसी भएका जेठी र माहिली दुई छोरीहरूले आफ्नो बिहेको लागि वरको प्रस्ताव राखेछन्–राजकुमारहरू ! कान्छी छोरीलाई पटक–पटक सोद्धा पनि जवाफ नआउँदा बाबुले भनिदिएछन्, ‘तेरो पालो चाहिँ रोगीसँग बिहे गर्ने होला नि ! अभिभावकको आदर गर्ने ती छोरीले पनि बाबुकै संकल्पस्वरूप एक कुष्ठरोगीको सेवा गर्न लागिछन्, असहाय रोगीको लामो समय सेवा गर्दा आफू पनि कुष्ठरोगी भइछन् तर कति पनि विचलित भने भएकी थिइनन् ।
राजकुमारीको सेवा पाएको कुष्ठरोगीले एकदिन रातमा सपना देखेछ । “सूर्य मेषराशिमा भएका वखत वैशाख मासमा टोखाको खहरेखोलामा स्नान गरेमा कुष्ठरोग निको हुन्छ ” । रोगीले यो सपना लामो समय सम्म बिर्सेछ । एकपटक राजकुमारी अन्यत्र भएका वेला त्यो कुष्ठरोगी खहरेखोला नजिक चौरमा बसिरहेको थियो । त्यहाँ एउटा अचम्मको दृश्य देखिएको थियो । गोठालाहरू खेल्दै थिए । उनीहरू फट्याङ्ग्राहरू समात्दै खोलामा फाल्दै गर्थे । फट्यांग्राका खुट्टाहरू भने पोखरीमा पुगेपछि जस्ताको त्यस्तै हुन्थे ।
खूब रमरमितामा रहेका गोठालाहरू भने यस्तो देखेर हाँसो गर्थे । उता त्यही दृश्य देखिरहेको कुष्ठरोगी भने आफ्नो हातखुट्टा पनि यस्तै गरी जोडिए हुन्थ्यो भन्ने सोच्दथ्यो । उसले रातमा देखेको सपना झल्यांस्स सम्झ्यो । ओहो मैले यहाँ नुहाएमा कुष्ठरोग निको हुन्छ भन्ने सपना देख्या थिएँ । नभन्दै घस्रेर ऊ त्यो खोलामा गयो, नुहायो पनि ।
एकै छिनमा उसका सम्पूर्ण शरीर, अंगहरू पूर्ण र स्वस्थ्य देखिन थाले । त्यसदिन मेषसंक्रान्ति परेको रहेछ । राजकुमारी पनि घुम्दै त्यहीँ पुगिन् । आफनो कुष्ठ रोगी पति त्यहाँ देखिनन् बरू बडो सुन्दर युवक पो त्यहाँ बसेको रहेछ । त्यस युवकले राजकुमारीलाई भनेछ – “म तिम्रै पति हुँ ”। राजकुमारीलाई विश्वास लागेनछ । वरिपरि वसेका मानिसलाई सोधिछन् उनले ! सबैले भनेछन् अघिको वृत्तान्त ! साच्चै कुरो सही रहेछ । राजकुमारी पनि त्यही खोलामा स्नान गर्न पुगिछन् । आफूसँग भएको कुरूप अंगहरू पनि पूर्ण र स्वस्थ्य भइहालेछ । राजकुमारी र त्यो युवकको खुसीको सीमा नै भएन छ । त्यो चामत्कारिक दृश्यको वर्णन सबैतिर हुन थालेछ । काठमाडौंका राजासम्म यो कुरा पुगेछ र एउटा खोरण्डो व्यक्तिलाई त्यहाँ लगेर स्नान गर्न लगाइएछ ।
नभन्दै खोरण्डो तुरून्तै पूरै आफैँ हिँड्न सक्ने भएछ । अब त मुलुकभरिका लंगडा, खोरण्डा, काना, अपांगाहरूको भीड नै लाग्न थालेछ त्यहाँ । आजसम्म पनि वैशाख महिना खासगरी संक्रान्तिका दिन त्यहाँ स्नान गर्नेहरूको भीड नै देखिन्छ । शरीर स्वस्थ्य र हृष्टपुष्ट हुन चाहनेहरू त्यसक्षेत्रमा एकपटकै भए पनि पुग्ने गरेको पाइन्छ । सपनाबाट घटेका विवरणहरू भएकाले सपनतीर्थ भन्ने नाम रहन गएको र सपनतीर्थ मेलामा श्रद्धालुहरू उत्साहजनक अवस्थामा त्यहाँ उपस्थित हुने गरेको पाइएको छ ।
हिजोआज त्यहाँ पोखरी, भौतिकअवस्था, आतेजाते सुविधा रामै्र देखिन्छ । प्राकृतिक, सुन्दर, हावापानीका कारण दिल बहलाउन जानेहरू पनि थुप्रै पाइन्छन् । टोखाबाट काठमाडौं उपत्यकाको मनोरम दृश्य हेर्दा स्वर्गीय आनन्द प्राप्ति हुन्छ । प्रकृतिमा रमाउने लेखक, कवि, स्रष्टाहरूको सिर्जनाको स्रोत हो शिवपुरीक्षेत्र ! नयाँ पुस्ताको थप उत्साहको क्षेत्र हो टोखाक्षेत्र ! उमेर ढल्केकाहरूको आनन्द प्राप्तिको क्षेत्र हो यो शिवपुरीक्षेत्र ।
‘अस्तु’
प्रतिक्रिया