ल्याब स्थापना गर्न १० महिना

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले विषादी चेकजाँच केन्द्र स्थापना गर्न कम्तिमा पनि १० महिना लाग्ने बताएका छन् । उनले नाकामा यस्तो परीक्षण केन्द्र स्थापना गर्न कम्तिमा पनि ९-१० महिना लाग्ने बताएका हुन् ।

सरकारले ६ महिनाभित्र भारत लगायत तेस्रो मुलुकबाट आयात गरिने फलफुल तथा तरकारीको एकीकृत विषादी परीक्षणको काम सुरु गर्ने बताएपनि त्यो सम्भव नहुने स्वयम मन्त्रीले बताएका हुन् । राष्ट्रियसभामा आइतवार सांसदको प्रश्नको जवाफ दिदै उनले भने,‘६ महिनाभित्र पुर्वाधार तयार गर्ने भनिएको छ, ‘हाम्रो खरिद प्रक्रियाका कारण ६ महिनामा सकिदैन ।

खरिद प्रक्रिया पुरा गर्न हामीलाई करिब ९ महिना लाग्छ । ९ देखि १० महिनामा ल्यावहरु खडा गर्न सकिन्छ ।’ उनले ल्याब खडा गर्न ४ अर्ब रुपैयाँ लाग्ने र त्यो रकम अर्थसंग माग गरिसकेको जानकारी पनि गराए । काठमाडौंको कालिमाटीस्थित केन्द्रमा २९ विषादी समूहको परीक्षण हुन्छ भने बाँकी ६ ठाउँमा रहेको परीक्षण केन्द्रमा केवल दुई विषादी समूहको मात्र परीक्षण हुने जानकारी समेत गराए ।

मन्त्री खनालका अनुसार एक नम्बर प्रदेशको विर्तामोड, दुई नम्बरको सर्लाही, ३ नम्बरको कालीमाटी, गण्डकी प्रदेशको पोखरा, ५ नम्बर प्रदेशको बुटवल र ७ नम्बर प्रदेशमा रहेका २ वटा विषादी परीक्षण केन्द्रबाट विषादी परीक्षण हुदै आएकोमा अहिले भने रोकिएको बताए ।

वाणिज्य र कृषि मन्त्रालयसंग सम्बन्धीत कतिपय विषयमा एउटाले गरेको निर्णय अर्को मन्त्रालयले कार्यान्वयन गर्नुपर्ने अवस्था रहेकाले तत्कालका लागि पुर्वाधार नभएको भन्दै परीक्षण रोक्न बाणिज्यले गरेको प्रस्ताव पास भएपछि आफुले त्यसैको कार्यान्वयन गर्नुपर्ने उनको भनाई थियो । ‘बाणिज्य मन्त्रालयबाट प्रस्ताव गयो, पारित भयो । राजपत्रमा सूचना प्रकाशित भएपछि मैले कार्यान्वयन सुरु गरेको थिएँ’, मन्त्री खनालले भने,‘अब फेरि बाणिज्यले पूर्वाधार नभएकाले अहिले सकिन्न कि भनेर प्रस्ताव लग्यो । पास भएको छ, मैले रोक्नु पर्ने होला ।’

प्रतिक्रिया