कप्तान मोर्ताजाको खराब प्रदर्शन

एजेन्सी, लण्डन । बंगलादेश क्रिकेट टिमका कप्तान मसरफे मोर्तजाका लागि यस विश्वकप निकै निरासजनक रह्यो । सत्तारूढ दल अवामी लिगका सांसदसमेत रहेका मोर्ताजाको जारी विश्वकपमा न बल चल्यो, न ब्याट नै । उनको प्रदर्शनबाट बंगाली समर्थकहरू भने पक्कै निराश भएका छन् । सेमिफाइनल रेसबाट आउट हुँदै प्रतियोगिता टुंग्याएको बंगलादेशका कप्तान मोर्तजाले जम्मा ३४ रन बनाए भने १ विकेट लिएर विश्वकपबाट बिदा पनि भए ।

बंगलादेश क्रिकेटमा मोर्तजा एक सफल बलर पनि मानिन्थे । उनले आफ्नो १० ओभरको स्पेलमा कम्तिमा ४०–६० रन खर्चिएर २–३ विकेट लिने क्षमता राख्थे । तर आईसीसी विश्वकप क्रिकेटको १२ औँ संस्करणमा कप्तानको रूपमा मैदान उत्रदा उनको प्रदर्शन यति खस्कियो की समर्थकहरू पनि पुरै निराश बने ।

कप्तानको रूपमा सय विकेट पूरा गर्न अझै उनी २ विकेटले टाढा छन् । यो नाम अहिलेसम्म शन पोलक र बकार युनुसको नाममा मात्रै रहेको छ । बंगलादेशबाट सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा मोर्तजा पर्छन् । उनले समग्रमा २६५ विकेट लिएका छन् । दोस्रो स्थानमा सकिब अल हसन छन् उनले २६० विकेट लिएका छन् । मोर्तजाको पछिल्लो प्रदर्शन निकै खस्किएको छ ।

उनको बलिङ औसत ३२ थियो भने विश्वकपमा ५३ पुगेको छ । यो विश्वकपमा ८ खेलमा उनले जम्मा एक विकेट लिएर सबैलाई निराश बनाए । अधिकांश खेलमा उनले आफ्नो १० ओभरको स्पेल नै पूरा गर्न सकेनन् । उनले हरेक ओभरमा ६ दशमलव ५ देखि ७ दशमलव ५ को औसतमा रन खर्चिएका थिए भने कति बेला त ८ नै पुग्ने गरेको थियो । यसैले त बंगालीहरू भन्दै छन् मोर्तजा कसरी कप्तान बने जो आफैमा टिमका लागि बोझ छन् ।

क्रिकेट खेल्दा खेल्दै राजनीतिमा लाग्दा पनि समर्थकहरूले मोर्तजाको आलोचना नगरेका होइनन् । राजनीतिमा लागेपछि उनको क्रिकेट करियर कमजोर बनेको उनका आलोचकहरूको दाबी पनि छ । जसलाई यो विश्वकपले पुष्टि पनि गरिदियो । त्यसैले उनीहरूको एक मात्र भनाइ थियो मोर्तजाको ठाउँमा अरु कुनै भरोसा गर्न योग्य खेलाडीलाई राखिएको भए टिमको प्रदर्शन अझै राम्रो हुने थियो कि ?

प्रतिक्रिया