न्यायिक समितिका संयोजक टोलटोलमा

सल्यान । गाउँपालिकास्तरीय न्यायिक समितिबाट हुने गरेका काम कार्वाहीको अवस्था बुझ्न कालिमाटी गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक सनशिलता वलीले गाउँगाउँमा पुगेर सुझाव संकलन गरेकी छन् ।

आफ्नाे गाउँपालिकाबाट न्याय सम्पादन गरेका विषयमा स्थानीयको बुझाइ र आगामी दिनमा न्यायिक समितिलाई अझै प्रभावकारी ढंगले अगाडि बढाउनका लागी स्थानीयको सुझाव संकलन गर्न गाउँगाउँमा पुगेको उनले बताइन् ।

विभिन्न वडामा पुग्नुभएकी गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक सनशिलता वलीले न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमिन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गरेको बताइन् । न्यायिक समितिको अधिकार क्षेत्रको प्रयोग न्यायिक समिति संयोजक र सदस्यले सामूहिक रूपमा गरिरहेको उनले बताइन् ।

न्यायमा जनताको पहुँच कस्तो छ ? जनताको पहुँच पु¥याउन कस्तो खाले कार्यक्रम ल्याउन सकिन्छ भन्दै उपाध्यक्षको नेतृत्वमा न्यायिक समितिको एक टोली प्रत्येक वडामा पुगेको छ । भौगोलिक बनावटका आधारमा अत्यन्तै विकट रहेका वडाहरूमा भने पायक पर्ने स्थानमा कार्यक्रमको आयोजना गरिएको थियो । सो अवसरमा स्थानीयले स्थानीय तहमा न्यायिक समितिले प्रवाह गरेको न्याय सम्पादनका कार्य सराहनीय रहेको बताएका छन् ।

कार्यक्रममा बोल्दै कालिमाटी गाउँपालिका–२ का स्थानीय कुल प्रसाद भण्डारीले न्यायिक समितिले स्थानीय स्तरमा मेलमिलाप प्रकृयाबाट टुंगो लगाउने मुद्दा दुबै पक्ष सन्तुष्ट हुने गरेको बताए । उनले भने, ‘पहिले पहिले सामान्यरू भएका विवाद मिलाउन नसक्दा त्यो घटनाले विकराल रूप लिन्थ्यो, मुद्दामामिला गर्न सदरमुकाम जानु पथ्र्यो जुन झन्झटिलो पनि थियो । यहाँका स्थानीय न्यायका लागि सदर मुकामसम्म जानसक्ने अवस्था पनि थिएन । तर, अहिले त्यस्तो छैन्, उनले थपे ‘अहिले स्थानीय तह अन्तर्गतको न्यायिक समितिले यस्ता खालका विवाद सुल्झाउने भएकाले न्यायको अनुभूति हामीले गर्न पाएका छौँ ।’

यस्तै स्थानीयले बजार अनुगमन पनि उपाध्यक्षको संयोजकत्वमानै हुने भएकाले २ नम्बर वडामा घरेलु मदिरा न्यूनिकरण गर्न उपाध्यक्षलाइ आग्रह गरेका थिए । स्थानीय पल बहादुर केसीले मदिराले गर्दा अधिकांश झगडाहरू हुने गरेकाले मदिरा न्यूनिकरण गर्न पनि आवश्यक रहेकोमा जोड दिए ।

यस्तै वडा नम्बर– ४ का सचिव हुमबहादुर भट्टराईले दुरीको हिसाबले सदरमुकाम भन्दा धेरै टाढा रहेका वडामा पनि पछिल्लो समय मेलमिलापकर्ताहरू चयन भएपछि विवाद मिलाउन सहज भएको बताए । यस वडामा ४ वटा मुद्दा मेलमिलापबाट टुंग्याएको बताउँदै वडा सदस्य हुम बहादुर थापाले स्थानीयलाई सहज भएको बताए ।

प्रत्येक स्थानीय तहमा विवाद निरूपण गर्ने जिम्मा पाएका न्यायिक समितिले विभिन्न विवादित विषयहरू टुंगो लगाउने गर्छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट तयार भई मन्त्रीपरिषद्बाट पारित गरी संसदमा पेस गरिएको विधेयक अनुसार अधिकार क्षेत्र तोकी न्यायिक समितिलाई विवाद निरूपण गर्न संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति रहने व्यवस्था छ ।

न्यायिक समितिका उजुरी प्रशासक तथा न्यायमा जनताको पहुँच कार्यक्रमका संयोजक वीरेन्द्र रेग्मीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मार्शल वली,न्यायिक समितिका सदस्य तथा वडा नम्बर ३ का वडा अध्यक्ष वीर बहादुर वली, पत्रकार लगायत सम्मिलित टोलीले गाउँपालिकाको चार स्थानमा कार्यक्रम सञ्चालन गरेको थियो ।

प्रतिक्रिया