समृद्धिको आधार गर्न सरकार सफलः मन्त्री ज्ञवाली

बुटवल । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकार गठन भएको पहिलो वर्षमा ‘समृद्धिको आधार’ तयार गर्न सफल भएको बताएका छन् । उनले पहिलो वर्षमा संविधानको पूर्ण कार्यान्वयन र संघीयतालाई स्थापित गर्न सफल भएको बताए ।

मन्त्री ज्ञवालीले भने, ‘संविधानअनुसार जनताका मौलिकहक स्थापित गर्ने गरी एक वर्षमा कानून निर्माण गर्यौँ र मुलुकमा सबै तहका सरकार सक्रिय ढङ्गले चलेका छन् संघीयताले खुट्टा टेकेर अघि बढने भएको छ ।’

नेकपा बुटवल उपमहानगर कमिटीले आज बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा मन्त्री ज्ञवालीले वर्तमान सरकारको मुख्य ‘मिसन’ मुलुकको समृद्धि भएको बताउँदै अहिलेसम्म भएका सबै खाले आन्दोलनबाट प्राप्त अधिकारको जगमा उभिएर आर्थिक समृद्धिमा देश अघि बढेको दाबी गरे । उनले भने, ‘लोकतान्त्रिक आन्दोलनको मुख्य कम्युनिष्ट पार्टीलाई अब देश समृद्ध बनाउने आन्दोलनमा समेत च्याम्पियन बनाउँछौँ ।’

उनले सरकार अवसर र जिम्मेवारी रहेको र जनताका अपेक्षा अपार रहेको बताउँदै वर्तमान सरकारलाई जनताको अपार समर्थन प्राप्त भएजस्तै सरकारले पनि जनताका अपेक्षा पूरा गर्ने प्रतिबद्ध व्यक्त गरे । वर्तमान सरकारले देशको विकास र समृद्धिको बहशलाई अघि बढाएको बताउँदै उनले सरकारमा रहेका कमी कमजोरीलाई सुधार गरेर अघि बढ्ने बताए । उनले भने, ‘वर्तमान नेतृत्वलाई असफल हुने कुनै छुट छैन, यो सिङ्गो नेकपाका कार्यकर्ता र आम मतदातासँग जोडिएको छ ।’

मन्त्री ज्ञवालीले सरकारको काम गर्ने रफ्तारमा कर्मचारी संयन्त्रको ढिला सुस्ती समस्याको रुपमा रहेको बताउँदै कार्यान्वयन गर्ने संयन्त्रमा रहेको समस्याले अपेक्षाकृत उपलब्धि प्राप्त हुन नसकेको बताए । उनले सरकार सही बाटोबाट अघि बढी रहेको बताउँदै वर्तमान सरकार र नेकपाको नेतृत्वले एतिहासिक अभिभारा पूरा गरेरै छाड्नेसमेत प्रतिबद्धता व्यक्त गरे ।

पार्टीभित्र चलेको वैचारिक विषयमा उनले विचारका विषयमा अहिले बहश जतिनै भए पनि बहुदलीय प्रतिष्पर्धा भित्र जनताको जनवादको बाटोबाट अघि बढ्ने विषयमा कुनै द्विविधा नरहेको र यसको नामाकरण भने महाधिवेशनले मात्रै टुङ्गो लगाउने बताए । कार्यक्रम पार्टी नगर कमिटी अध्यक्ष बाबुराम पन्थीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया