अंग्रेजले भारतमा शासन चलाएको वेला लखनउ विद्रोह दबाउन राणासँग सहयोग मागेका थिए । त्यसक्रममा लखनउ पुगेका तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले त्यहाँजस्तै गञ्ज (सहर) नेपालमा पनि बनाउने सपना देखे । विद्रोह असफल पार्न सहयोग मिलेपछि अंग्रेजले आफूले युद्धमा जितेको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता दिए ।
त्यसपछि बाँकेको समथर फाँट छानेर राणा शासकले नेपालगञ्ज बनाउने आदेश दिएका थिए । त्यतिवेला आधुनिक सवारी साधन थिएनन् । राणा र राजपरिवारबीच बग्गी प्रचलनमा रहेको नेपालगञ्जका जानकारहरूको भनाइ छ । दुई पाङ्ग्रा भएको साधनलाई एउटा जनावरले तान्ने गरी बनाइएको स्वरुप नै बग्गी भएको नेपालगञ्जका साहित्यकारसमेत रहेका सनत रेग्मी बताउँछन् ।
उनका अनुसार त्यसलाई एक्का भनिन्थ्यो, पछि समय परिर्वतनसँगै त्यसैलाई टाँगा भन्न थालियो । आधुनिक प्रविधि र सवारीसाधन प्रवेश गर्नुपूर्व नेपालगञ्जमा टाँगा नै सर्वसाधारणका लागि अत्यावश्यक सवारीका रूपमा स्थापित भएको थियो । उनले भने, ‘त्यसैले त, नेपालगञ्ज टाँगैटाँगाको सहर भनेर चिनिन थालेको हो ।’ उनका अनुसार टाँगा चढ्न नेपालगञ्ज आउने पर्यटक धेरै भेटिन्थे ।
करिब दुई सय वर्ष पुरानो नेपालगञ्ज सहरको मौलिकताका रूपमा रहेको टाँगामा बसेर यात्रा गर्नुको मज्जै बेग्लै हुन्थ्यो । कुनै वेला सहरको मुख्य सवारीसाधन टाँगा थियो । नेपालगञ्जदेखि कोहलपुर–चिसापानीसम्म टाँगा चल्थे । खजुरा बजारमा रहेको विमानस्थल पुग्ने एक मात्र साधन टाँगा थियो । नेपालगञ्ज घुम्न आउने जो कोहीका लागि टाँगाको यात्रा रोमाञ्चक रहन्थ्यो । धेरैले घोडा चढ्ने रहर टाँगा चढेर पूरा गर्थे ।
सुर्खेत रोड हुँदै नेपालगञ्ज–रुपैडिया मार्गमा टाँगा चल्दासम्म व्यवसायीलाई राम्रै आम्दानी हुन्थ्यो । सुरुमा रिक्साले यात्रु खोसे । त्यसपछि मिनी बस र अहिले इलेक्ट्रिक रिक्साले । दुई÷चार वटा टाँगा मुस्किलले देख्न पाइन्छ । नेपालगञ्जबाट भारतीय सीमा रुपैडिहासम्म किनमेल, घुमघामलगायत काममा जाँदा पहिलो रोजाइको साधन हुन्थ्यो, टाँगा । नेपालगञ्जको परिचयसँग जोडिएको यो व्यवसाय पछिल्लो समयमा लोप हुने संघारमा पुगेको छ ।
आधुनिक यातायातका साधनको संख्या बढेसँगै यो व्यवसायमा संकट आएको हो । उतिवेला नेपालगञ्जमै करिब ५०० को हाराहारीमा टाँगा रहेकामा अहिले मुस्किलले दुई÷चारवटा मात्रै देखिन्छन् । नेपालगञ्जमा टाँगा देख्नै मुस्किल भइसकेको छ । व्यवसाय संकटमा परेपछि अधिकांश टाँगा व्यवसायी मजदूरीका भारत जाने गरेका छन् । हाल टाँगा चलाउने पेसा गर्ने धेरैले घोडा बेचिसकेका छन् ।
‘राजा, महाराजा र मन्त्रीहरू आउँदा पनि टाँगा चढ्ने गरेको इतिहास छ,’ साहित्यकार रेग्मीले स्मरण गर्दै भने, ‘नेपालगञ्ज आउनु भनेको टाँगा चढ्नु हो भन्ने चलन जस्तै थियो । समयको मागसँगै मानिसमा आएको विलासिताको लहडले नेपालगञ्जमा टाँगा लोप हुँदै गएका छन् । मानिसहरू आजभोलि रिक्सा चढ्छन्, गाडीमा हुइँकिन्छन् ।’ यतिवेला नेपालगञ्जमा मुस्किलले पाँच÷छ वटा टाँगा मात्र देखिन्छन् ।
अर्का साहित्यकार एवं नेपालगञ्जका पुराना बासिन्दा सच्चिदानन्द चौवेका अनुसार रानीबगियाका चुन्नी साहुका कुनैवेला १२ वटासम्म घोडा थिए । त्यसवेला उनी टाँगा चलाउँथे, अरूलाई पनि भाडामा दिन्थे । टाँगाको स्थान रिक्सा, अटोरिक्सा र विभिन्न मोटरगाडीले लियो । टाँगा व्यवसायीहरू विस्तारै विस्थापित भए । उनीहरूले समयको मागलाई ध्यानमा राख्दै आफ्नो पेसासमेत बदलेका छन् । अहिले घोडाको कामै छैन ।
‘टाँगा चढेर राप्ती नदीको किनारमा घुम्न र नुहाउन गएको विगत र वर्तमानलाई तुलना गर्दै चौवेले भने, ‘टाँगा विस्थापनसँगै यहाँका धेरै सुमदायको रोजीरोटी खोसिएको छ ।’ टाँगाहरूको आधुनिकीकरण हुन नसक्नु र संरक्षणको पहल नहुनु नै टाँगा विस्थापनको कारण भएको उनी बताउँछन् । अहिले धेरै मानिसहरू घोडाको तस्बिर खिच्न मात्रै आउने गरेको टाँगा चालकहरू बताउँछन् ।
त्रिचालिस वर्षदेखि नेपालगञ्जमा टाँगा हाँकेर गुजारा गर्दै आएका मुन्नाको पनि हालत उस्तै छ । घोडालाई खुवाउने घाँसको धुलो, चनाको पीठो र धानको भुस किन्नसमेत पैसा नभएपछि आफूले घोडालाई खुलाचौरमा चर्न छोडिदिने गरेको उनले बताए । ‘कुनैवेला घोडाका चरन क्षेत्र रहेका स्थान घरहरूले भरिएका छन्,’ मुन्नाले भने, ‘आजभोलि नेपालगञ्जमा टाँगामा चढ्ने मान्छे नै भेटिन्नन्, दिनभरि दौडायो, साँझ घोडालाई खानेकुरा किन्नेसम्म पैसा हुन्न ।’
नेपालगञ्जमा रहेका केही टाँगा व्यवसायीहरूको यही नै हो पीडा । पहिले मुस्लिम समुदायमा धेरैजसोले टाँगा चलाउँथे । टाँगा व्यवसायी मुन्ना भन्छन्, ‘टाँगा हराए, हाम्रो काम पनि सकियो । टाँगा हराएसँगै टाँगावालाको पेसा संकटमा मात्रै परेको छैन यो हराई नै सक्यो । टाँगाको सहर नेपालगन्ज अब एकादेशको कथाजस्तै भइसक्यो । टाँगाको सहरको पहिचान गुमेको छ । टाँगा चालकको रोजगारी पनि खोसिएको छ ।’
टाँगा हराउँदा टाँगाका लागि घाँस काट्ने घँसियारहरूको समेत पुख्र्यौली पेसासमेत संकटमा परेको छ । टाँगा हराउँदा घँसियारको जीविका मात्र नभई इतिहास पनि संकटमा परेको नेपालगञ्ज महेन्द्रपार्कस्थित घाँसमण्डीका घँसियारहरू बताउँछन् । कुनैवेला नेपालगञ्ज उपमहानगरपालिका सरस्वती माविको छेउमा टाँगा स्टेसन थियो । जुन स्थान अझै पनि टाँगा स्टेसनका रूपमा परिचित छ ।
टाँगाका लागि पालिएका घोडालाई धेरै घाँस चाहिन्थ्यो, त्यसैले माग धान्न मुस्किल थियो तर, अहिले घोडा नै नभएपछि उनीहरू पनि बेरोजगार बनेका हुन् । टाँगा चालक तथा टाँगा व्यवसाय गर्दै आएका अधिकांश हाल ईंटाभट्टामा ईंट्टा, माटो बोक्ने, हार्डवेयरलगायतका सामग्री ढुवानी गर्न सक्रिय छन् । ‘यहाँ पनि प्रतिष्पर्धा धेरै भएकाले काम पाउनै मुस्किल छ,’ नेपालगञ्ज धम्बोझीमा भेटिएका बग्गीचालक जलाल बेहना बताउँछन् ।
नेपालगञ्जदेखि भारतीय सीमावर्ती बजार रुपैडिहाबाट सामान खरिद गरी ल्याउने र आवातजावत गर्ने मुख्य साधनका रूपमा रहेको थियो टाँगा । कुनैवेला नेपालगञ्जमा टाँगा सञ्चालकहरूको संगठन नै थियो । आधुनिक सवारी साधनले टाँगा विस्थापन गरेपछि टाँगा स्टेसन सम्म भेट्टाउन सकिन्छ, टाँगा भेट्टाउन निकै मुस्किल छ । नेपालगञ्जको यो पहिचानलाई जोगाउन नेपालगञ्ज उपमहानगरपालिकाले चासो नदिएको टाँगा व्यवसायीको गुनासो छ ।
तीन वर्षअघिसम्म टाँगा व्यवसायी समितिका अध्यक्ष रहेका सहादल अलीेका अनुसार विगतमा रिक्साका कारण समस्यामा परेको व्यवसाय अटोरिक्सा आएपछि टाँगा व्यवसाय अब एकादेशको कथाजस्तै भएको छ,’ अलीले भने, ‘स्थानीय रुटमा सुरुमा रिक्सा र पछि ई–रिक्साको प्रयोग हुन थालेपछि टाँगा विस्थापित भए ।’
विस्थापित नै हुने अवस्थामा पुगेपछि टाँगावालहरू आन्दोलन र विरोधमा पनि उत्रिए तर, उनीहरूको केही लागेन । मुख्य चोक धम्बोझी छेउको बेलासपुरबाट टाँगा स्ट्यान्ड नगर भवन सामुन्ने सारियो । सुर्खेत रोड चार लेनमा विस्तार हुने वेलासम्म स्थानीय प्रशासन र प्रहरीले रुट फेरेर टाँगालाई अस्पताल रोडमा मात्र सीमित गरिदिए । टाँगाबाट जीविका चल्न छाडेपछि केही व्यवसायी भारत छिरेर मजदूरी गरिरहेका छन् ।
केही रैथानेले आफ्ना घोडा र खच्चडलाई ईंटाभट्टामा लगाएका छन् । अहिले स्टेसनमा टाँगा नै देखिँदैनन् । अलीले भने, ‘पुराना रिक्सा चलाउनेले ऋण लिएर बिजुली रिक्सा किनेका छन् । हामी भएको घोडा कहाँ बेचौँ भन्ने अवस्थामा पुगेका छौँ ।’ टाँगा व्यवसाय छाडेर अरू काम गरे पनि घोडा र खच्चड पाल्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
तीन वर्षअघिसम्म नेपालगञ्जका टाँगा व्यवसायीको दैनिक कमाइ दुई हजारदेखि तीन हजारसम्म हुने भए पनि अहिले दुई÷चार सय कमाउनै मुस्किल छ । त्यसकारण उनीहरू यो पेसा छाडिरहेका छन् । ‘अहिले बजारमा यात्रु पाउन गा¥हो छ,’ टाँगा चालक जब्बर अलि भन्छन्, ‘दिनभरको कमाइले साँझ–बिहानको छाक टार्न र घोडाको दानापानीको जोहो गर्न मै सकिन्छ ।’
प्रतिक्रिया