रोपाइँ मेला

सहर पसेपछि माझघरे बा’को दिनचर्या पूरै फेरिएको छ । एक–डेढ वर्षअघिसम्म गाउँमा खेती किसानीमा रमिरहेका उनलाई आरामले खाना खानेसम्मको फुर्सद हुँदैन थियो । गाई, बाख्रा, भैँसी, खेतबारीको काम र सामाजिक जिम्मेवारी निर्वाहको व्यस्तताका कारण हरेक दिन उनका लागि अत्यन्तै छोटा भएझैँ लाग्थे । तर, अचेल तिनै दिनहरू अत्यन्त लामा र पट्यारलाग्दा बनेका छन् । श्रीमतीको पहिल्यै मृत्यु भइसकेको र सबै सन्तान जिविकाको क्रममा सहरिया बन्न बाध्य भएपछि सत्तरी वसन्त पार गरिसकेका माझघरे बा विभिन्न रोगको सिकार बन्दै गएका छन् ।

उनी सन्तानकै आग्रह, सुझाब र घुर्कीलाई शिरोधार्य गर्दै गाउँ छाडेर सहर पसेका छन् । नातिनातिनाबाट कम्प्युटरमा गेम खेल्न र फेसबुकमार्फत सामाजिक सञ्जालमा जोडिने सीप सिकेका माझघरे बा’को दिन कटनीका सहारा टिभी, मोबाइल, कम्प्युटर, सार्वजनिक पार्क भ्रमण, आफन्तसँगको भेटघाट र यदाकदा गाउँतिरका युवाहरूबाट सञ्चालित संघ, संगठन र सामाजिक संस्थाद्वारा आयोजित सभा सम्मेलन नै बनेका छन् ।

सामाजिक, राजनीतिक र शैक्षिक सचेतनाका हिसाबले गाउँमा अगुवामध्येमा गणना गरिने माझघरे बा गत शनिबार आफ्नै गाउँका युवाले गठन गरेको विशुद्ध समाजसेवी संस्थाको वार्षिक साधारणसभामा सहभागी बन्न पुगेका थिए । ‘गाउँलाई बिर्सिंदै गए’ भन्ने आरोप खेप्दै आएका युवाहरूको गाउँप्रतिको माया, सद्भाव, जिम्मेवारीबोध, गाउँको उन्नतिका लागि उनीहरूको अनवरत् प्रयास, सहयोगी भावना र आत्मीय व्यवहारले उनलाई अत्यन्तै पुलकित बनायो । सोही सभामा अतिथि बनेर पुगेका हरिराम, जो माझघरे बाले आस्था राख्ने राजनीतिक दलका चर्चित जिल्लावासी नेतासँग भेटघाटको मेसो पनि जु¥यो त्यो दिन ।

भलाकुसारीकै क्रममा हरिरामले असार पन्ध्रको धान रोपाइँका लागि माझघरे बालाई निम्त्याउने भ्याइहाले । ‘म बूढो मान्छे, पहिलेजस्तो तागत पनि अब कहाँ छ र ? दिनभर रोपाइँमा खट्न नसकौँला बाबू म,’ माझघरे बा अन्कनाए । एक हल गोरुको मेलोमा एक्लै आली हाल्ने, छेउकुना खन्ने र बाउसे पनि भ्याउने जवानीका दिनहरू सम्झिँदै फेरि उनले थपे, ‘दिनभरि खेतमा खट्न सक्ने सामथ्र्य बाँकी रहेको भए किन सहर पस्नु पथ्र्यो र ?’ हरिरामले स्पष्टीकरण दिँदै भने, ‘मैले तपाईंलाई काम गर्नकै लागि बोलाएँ हौँला त ? कामका लागि अरू नै प्रशस्त मान्छे भइहाल्छन् नि ! तपाईं रोपाइँको रमाइलो हेर्न मात्र आइदिनुस् न ।’

‘खेत कति छ ? गोरु कति हल छन् ? कि ट्याक्टरले जोत्ने हो ? काम गर्ने मानिस कति हुन्छन् नि ?’ माझघरे बा निकै जिज्ञासु बनेर उनलाई सोधे । हरिरामले उनका जिज्ञासा शान्त पार्न भने, ‘पाँच सात सय मान्छेको जमघट होला । अरू सबै रोपाइँ स्थलमा पुगेपछि आफैँ देखिहाल्नु हुन्छ नि !’ रोपाइँका लागि पाँच सात सय मान्छे जम्मा हुने कुरा सुनेर झन् उत्साहित बनेका माझघरे बा बोलिहाले, ‘बेठी हो र बाबू ?’
‘अँ ! त्यस्तै त्यस्तै भनौँ न’, हरिरामको उत्तर थियो । गाउँघरको बेठीको रौनकताको स्मरणले रोमाञ्चित बनेका माझघरे बा रोपाइँमा सहभागी बन्न किन पो इन्कार गर्थे र ? असारको पन्ध्र गते बिहानैदेखि माझघरे बाको हतारो हेर्नलायक थियो ।

रोपाइँका लागि सजिलो कपडामा सजिएर निर्धारित समयमै हरिरामले बोलाएको स्थानमा पुगेका माझघरे बा त्यहाँको माहोल देखेर जिल्लिए । त्यहाँ मान्छेको उपस्थिति झन्डै झन्डै हरिरामले भनेजति नै भए पनि कोही रोपाइँका लागि आएजस्ता लाग्दैन थिए । न त पाँच सात सय मानिसले रोप्नुपर्ने खेत नै देखिन्थ्यो त्यहाँ वरपर । माझघरे बाले त्यहाँ उपस्थित सबैमा आँखा पु¥याए । प्रायः पुरुषहरू टाइसुट वा दौरासुरुवाल, कोट र छालाका जुत्तामा ठाटिएका थिए । युवती र महिलाहरू फेसन प्रदर्शनी वा महँगा कपडा र गहनाको विज्ञापनका लागि आएजस्ता देखिँदै थिए । त्यहाँको माहोलको अवलोकनपश्चात् आफू गलत ठाउँमा आइपुगेको ठम्याइसहित फर्किन लागेका माझघरे बा परबाट आउँदै गरेका हरिरालाई देखेर रोकिए ।

‘धान दिवसको शुभकामना है,’ भन्दै छेउमा आइपुगेका हरिरामलाई माझघरे बाले सोधिहाले, ‘तपाईंले यही ठाउँमा रोपाइँ गर्ने भन्नुभएको हैन र नेताज्यू ? खै ! त रोपाइँ गर्ने खेतालाहरू ? पाँच सात सय मान्छेले रोप्ने खेत पनि देख्दिन त म । वरिपरि घरैघरै छन् । खेतको नाममा एउटा सानो गरो मात्र छ यहाँ त ।’

‘त्यहाँ हेर्नुस् त रोपाइँ गर्न आएका मान्छे,’ हरिरामले त्यही भीडतिर देखाउँदै भने । ‘त्यही एउटा गरो आजको रोपाइँका लागि यथेष्ट हुन्छ, तपाईं हेर्दै जानुस् न,’ हरिरामले थपे । जीवनको सम्पूर्ण उर्जाशील समय खेतीकिसानीमै बिताएका माझघरे बाले आजको रोपाइँको फेद टुप्पो केही नबुझेर जिल्ल परिरहे । सुकिलामुकिला मानिस थपिनेक्रम जारी नै थियो । हेर्दाहेर्दै एकैछिनमा माझघरे बाले रोपाइँमा कहीँ नदेखेको र नसुनेको भाषणबाजी पो सुरु भयो । करिब एक घण्टा चलेको भाषणमा कृषिको विकासविना देश नबन्ने ठोकुवा, कृषिमा आधुनिकीकरण गर्नैपर्ने, कृषि क्रान्तिको सुरुवात आज यसै स्थानबाट गरिनेलगायत अनेकौँ उद्घोष गर्न चुकेनन् भाषणबाजहरू ।

यसैक्रममा खेतमा रोपिनुपर्ने धानको बीउ माला बनेर धेरैको गलामा झुन्डियो । कतिपय व्यक्तिले माटोसहितको बीउ आफ्नो टाउकोमा सजाए । २–४ जना युवायुवतीले त कपडाको सट्टा धानको बिउलाई नै पहिरन बनाएको अनौठो दृश्य पनि माझघरे बाले त्यहीँ देखे ।  भाषणको समापनसगैँ सबैजना हातहातमा बिउ लिएर त्यही सानो गरातिर लम्किए । सर्वसाधारणदेखि जिम्मेवार राजनीतिज्ञ, उच्च पदस्थ कर्मचारी, योजनाविद्, कृषिविज्ञलगायतको उपस्थितिमा सुरु गरिएको रोपाइँमा प्रायः सबै मोबाइल र क्यामेरामा फोटो खिच्दै हिलो छ्यापाछ्यापमा रमाइरहेका थिए । त्यहाँ रोपाइँ त के थियो र ? एउटाले राम्रोसँग धानको बीउ हिलोमा गाड्न नपाई अर्को गएर त्यही रोपोमाथि उफ्रन्थ्यो, झन् अर्को जान्थ्यो र रोपोसहितको हिलो अरूमाथि हु¥याउँथ्यो । सेल्फीमा रम्नेहरूको तँछाडमछाड, कतिपयका अश्लील हर्कत, समाजका अगुवा भनाउदाहरूको हेर्नै नसकिने नौटंकी मत्थर हुँदै गएपछि रोपाइँ सकिएको घोषणा गरियो ।

आजको रोपाइँ वास्तविक धान रोपाइँमाथिको व्यंग्य र रोपाइँको नाममा गरिएको हेरिनसक्नुको विकृत नाटकभन्दा बढी केही लागेन माझघरे बालाई । रोपाइँको वास्तविक रमाइलो र व्यस्तताको आनन्दप्रद स्मरणमा एक छेउमा झोक्राइरहेका माझघरे बाले खाली हुँदै गएको गरातिर नजर पु¥याए । गरामा दश पन्ध्र गाभा धानको बिउ बेढंगसँग रोपिएको थियो । केही बिउ पानीमा असरल्ल तैरिरहेको थियो भने धेरै बिउ पाखामा छरपस्ट थियो ।

‘यहाँको रोपाइँ त सकियो । अब योभन्दा अझ भव्य रोपाइँ हेर्न जाउँ है ? बेलुका मेरै गाडीमा तपाईंलाई वासस्थानसम्म पु¥याउने व्यवस्था मिलाउँला नि, किन चिन्ता गर्नुहुन्छ ?’ हरिरामको प्रस्तावमा हुन्छ भन्ने भावमा टाउको हल्लाउँदै गाडीमा बसे माझघरे बा ।  उनीहरू सहभागी हुँदै गरेको दोस्रो रोपाइँ पहिलो रोपाइँका विशेषतामाथि अर्को एउटा अनौठो विशेषता थपेर सम्पन्न हुँदै रहेछ । त्यहाँ देशका सारथी र कृषि विकासका संवाहक हौँ भन्नेहरू करुवामा ल्याएको पानीले माटो भिजाएर गमलामा पो धान रोप्दै थिए । उत्पादनको अपेक्षा नराखी गरिएका यी रोपाइँका दृश्यले माझघरे बालाई खपिनसक्नुको औडाहा भयो । ‘यत्रो समय, सम्पत्ति र जनशक्ति साँच्चिकै रोपाइँमा खर्चिन पाएको भए ?’

माझघरे बा त्यो विकृत रोपाइँ नाटक हेर्न नसकेर मुर्मुरिँदै वासस्थान फर्किए । टिभीका पर्दामा रोपाइँ विशेष कार्यक्रमहरू समाचारको प्राथमिकतामा थिए । माझघरे बा उन्नत बिउ, मल, सिँचाइ र जनशक्तिको अभावमा बाँझिदै गएका सयौँ हेक्टर उर्वरजमिन र टिभीमा वाचन हुँदै गरेको समाचारमा भनिएको कृषि क्रान्ति र कृषिको आधुनिकीकरणका बीच असम्भव प्रायः तालमेल अनि असार पन्ध्रका नाममा आज मञ्चित विकृत रोपाइँ नाटकको अर्थ र उपादेयता पत्ता लगाउन नसकी झोक्राइरहे ।

पोकली, ओखलढुंगा

प्रतिक्रिया