काठमाडौं । सुडान घोटलामा दोषी ठहर नेपाल प्रहरीका पूर्व महानिरीक्षक रमेशचन्द ठकुरीले अदालतमा आत्मसमर्पण गरेका छन् । बिहीबार विहान ११ बजे आत्मसमर्पण गरेका उनलाई डिल्ली बजार कारागार जेल चलान गरिएको छ ।
सुडानमा खटिने प्रहरीको मिसनका लागि आवश्यक बन्दोबस्तीका सामान खरिदका क्रममा भएको भ्रष्टाचार प्रकरणमा उनीसहित तीन पूर्व आईजिपीलाई सर्वोच्चले दोषी ठहर गरेको थियो । ठकुरी र हेमबहादुर गुरुङलाई एक वर्ष कैद र ४० हजार जरिवाना तथा अर्का पूर्वआइजिपी ओमविक्रम राणालाई दुई वर्ष कैद र ५० हजार जरिवाना सुनाएको थियो ।
फैसलालगत्तै राणा र गुरुङले आत्मसमर्पण गरेपनि ठकुरी भने फरार रहँदै आएका थिए । बिहीबार दिउँसो निवेदन लिएर सर्वाेच्च अदालत पुगेका ठकुरीलाई यसअघि नै फैसला भइसकेको सजाय कार्यान्वयनका लागि कारागारमा पठाइएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी गराए । जेलमा नबसी जरिवाना भुक्तानी गरी पाऊँ भनी ठकुरीले सर्वोच्चमा निवेदन दिएका थिए । तर, उनको निवेदन अस्वीकार गर्दै सर्वोच्चले जेल चलानका लागि पठाएको हो । मुद्दाको फैसलाउपर पुनः सुनुवाइको मागसहित ठकुरीले पुनरवलोकन निवेदन भने दर्ता गराएका छन् । उनले कारागारभित्रै रहेर पुनरावेदन गर्न पाउने भएका छन् ।
सर्वोच्च अदालतले पूर्व आइजिपी राणाले प्रारम्भदेखि नै खरिद सम्झौताको शर्त विपरीतका सामान आपूर्ति गर्ने काममा खेलेको निर्णायक भूमिकाका कारण भ्रष्टाचारजन्य कसुर गरेको उल्लेख गरेको छ । पूर्व प्रहरी महानिरीक्षक गुरुङ आपूर्ति नै नभएका स्पेयर पार्टस् बापत समेत भुक्तानी दिएकोमा कसुरदार ठहरिएका छन् भने ठकुरीले खराब र गुणस्तरहीन सामान सप्लाइ भएको जान्दाजान्दै रकम भुक्तानी नरोकी बिक्रेता कम्पनीलाई भुक्तानी दिने काम गरेकोमा जिम्मेवार देखिएका हुन् ।
यसैविच, ठकुरीले ११ बुदे स्पष्टिकरण निकाल्दै ठेकेदारलाई भुक्तानी दिँदा आफू पदमा बहाल नै नरहेको उल्लेख गरेका छन् । त्यस्तै ठकुरीले आफ्नो पालमा एपीसी सम्बन्धी ठेक्कामा कुनै प्रकारको निर्देशन दिने, टिप्पणी सदर गर्ने वा चेक काट्नेजस्ता कार्य नभएको दाबी गरेका छन् ।
दुई वर्षअघि नै तत्कालीन प्रधानन्याधीश सुशीला कार्कीसहितको इजलासले ठकुरीलाई सुडानको डार्फरमा खटिने नेपाली मिसनको लागि सामग्री खरिदमा घोटाला गरेको ठहर गरेको थियो । सर्वोच्चले पूर्वएआइजी श्यामसिंह थापा र दीपकसिंह थाङ्देङलाई १ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको थियो । तत्कालीन डिआइजी दीपककुमार श्रेष्ठ र तत्कालीन एसएसपी रविप्रताप राणालाई पनि ६ महिना कैद र ३० हजार जरिवाना फैसला सुनाएको थियो । उनीहरू सबै आफैँ अदालतमा उपस्थित भएर जेल चलान भएका थिए ।
सुडान मिसनमा प्रहरी कल्याणकोषबाट खर्च गरिएको ४५ करोड ४२ लाखमध्ये करिब २९ करोड घोटाला भएको र त्यो रकम ठकुरीको कार्यकालमा भुक्तानी भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६८ जेठ २४ गते २८ करोड ८१ लाख रुपैयाँ माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अख्तियारले तीन पूर्वप्रहरी प्रमुखसहित ३४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की लगायतको टोलीको फैसलाले एपीसी प्रकरणमा जोडिएका ठेकेदार र तीन पूर्व प्रहरी प्रमुखबाट एक अर्ब १४ करोड रुपैयाँ असुल्नुपर्ने ठहर गरेको थियो । तर, विशेषको फैसलामाथि पुनरावेदनको माग गर्दै प्रहरी अधिकृतहरू सर्वोच्च अदालत पुगेका थिए ।
प्रतिक्रिया