मुगु । जिल्लाको एक स्वाथ्यचौकीमा एक जना कार्यालय सहयोगी महिलाले सुत्केरी गराउँदै आएकी छन् । छायाँनाथ रारा नगरपालिका–७ मा रहेको पिना स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगी पदमकला नेपालीले स्वास्थ्यचौकीमा सुत्केरी हुन आएका गर्भवती महिलालाई सुत्केरी गराउँदै आएकी हुन् ।
०६९ सालदेखि बर्थिङ सेन्टर स्थापनासँगै कार्यालय सहयोगीमा भर्ना भएकी कार्यालय सहयोगी नेपालीले अनुभवका आधारमा सुत्केरी गराउँदै आएको स्वीकार गरेकी छन् । गर्भवती महिलालाई सुत्केरी गराउन स्वास्थ्यचौकी ल्याउँछन्, त्यो वेला स्वास्थ्यकर्मी हुँदैनन् बाध्य भएर अनुभवको आधारमा सुत्केरी गराउँदै आएको नेपालीको भनाइ छ । साधारण लेखपढ पनि नगरेकी नेपालीले कुनै तालिम पनि लिएकी छैनन् । स्वास्थ्यचौकीमा सुत्केरी गराउन आएकाहरूलाई भगवान् साक्षी भएर होला आजसम्म कुनै दुर्घटनाको सामना गरेकी छैनन् ।
मेरो काम सरसफाई गर्ने हो सुत्केरी गराउने होइन भन्ने गरेको भए पनि स्थानीयले सुत्केरी गराउन दबाब दिने गरेको बताइन् । आव ०७५-७६ मा पिना स्वास्थ्यचौकीमा ७१ जना सुत्केरी भएको पिना स्वास्थ्यचौकीले जनाएको छ । त्यस मध्ये एक दर्जनभन्दा बढी गर्भवती महिलालाई एक्लै सुत्केरी गराएको र बाँकी गर्भवतीलाई स्वास्थ्यकर्मीलाई खबर गरी सुत्केरी गराएको नेपालीले बताइन् ।
नेपालीले सुत्केरी गराउने मात्र नभई सुई पनि दिने काम गर्छिन् । यदि बिरामी छट्पटाएमा र साल ढिला आएमा गर्भवती महिलालाई कठिन भए अनुभवका आधारमा सिन्डो भन्ने सुई पनि लगाउने गरेको उनी बताउँछिन् । सुत्केरी महिलालाई राती ल्याउँछन् स्वास्थ्यकर्मी हुँदैनन् बाध्य भएर सुत्केरी गराउँदै आएको नेपालीले सुनाइन् । स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुँदा बाध्य भएर कार्यालय सहयोगी भए पनि विश्वासका साथ सुत्केरी गराउन दिने गरेका स्थानीयको भनाई छ ।
सुत्केरी गराउन स्वास्थ्यचौकीमा पु¥याउँदा स्वास्थ्यकर्मी हुँदैनन्, गर्भवती महिला छटपटाउँछन् । त्यो वेला कार्यालय सहयोगी भए पनि अनुभवको आधारमा पदमकला नेपालीलाई सुत्केरी गराउन आग्रह गर्ने गरेको र आजसम्म सुत्केरी गराएका महिलामा अप्रिय घटना नभएको र राम्रो भएको वडा–७ की स्थानीय महिला माया नेपालीले बताइन् ।
स्थास्थ्यचौैकीका इन्चार्ज पदमबहादुर सजेवाल पनि अनमी अभावले नेपालीले सुत्केरी गराउँदै आएको स्वीकार्छन् । सजेवालले भने, ‘स्वास्थ्यचौकीसँगै ०६९ सालदेखि बर्थिङ सेन्टर स्थापना भए यता पदमकला नेपालीलार्ई कार्यालय सहयोगीका रूपमा भर्ना गरेका हाैँ ।
उनको कामा सुत्केरी महिलाको सरसफाई गर्ने हो । तर, दरबन्दी अनुसारका अनमी छैनन्, भएका पनि राजनीतिक खिचातानी गरेर कागजमा तान्छन् । के गरौँ बिरामी आउँछन्, छट्पटिन्छन् बाध्य भएर अनुभवको आधारमा कार्यालय सहयोगीले सुत्केरी गराउँदै आएकी छन्’ ।
सुत्केरी गराउन एसपिएको तालिम लिएको हुनुपर्ने नेपाल सरकारको नीति छ । यस स्वास्थ्यचौकीमा दुई जना स्थायी र एक जना अस्थायी अनमीको दरबन्दी भए पनि अहिले खाली छ । एक जना भर्खरै कागजमा ल्याइएकी अनमी छन् । तर घर टाढा भएकाले राती आएका गर्भवती महिलालाई कार्यालय सहयोगीले सुत्केरी गराउँदै आएको इन्चार्ज सेजुवालको भनाइ छ ।
अनमी व्यवस्थापनलगायत कार्यालय सहयोगीले सुत्केरी गराउनुपर्ने अवस्था आएको सम्बन्धी निकायमा जानकारी गराएको भए पनि सम्बन्धित निकाय मुकदर्शक भएर बसेकाले यस्तो भएको इन्जार्ज सेजुवालले बताए ।
यसको बारेमा छायाँनाथ रारा नगरपालिकाको स्वास्थ्य फाँटमा जानकारी गराएको भए पनि कुनै सुनुवाई नभएको वडा–७ का वडाध्यक्ष हरिचन्द्र शाहीले बताए । उनका अनुसार कार्यालय सहयोगीले सरसफाई गर्ने हो । सुत्केरी गराउने होइन भोलि कुनै घट्ना भएमा सम्बन्धित स्वास्थ्य इन्चार्ज र स्वास्थ्य व्यवस्थापन समितिले जिम्मा लिनुपर्ने अध्यक्ष शाहीले बताए ।
कर्मचारी समायोजनसँगै बर्थिङ सेन्टरमा जनशक्ति अभाव भएको स्वीकार गर्दै छायाँनाथ रारा नगरपालिकाका स्वास्थ्य फाँटका प्रमख पशुपति शाहीका अनुसार जनशक्ति अभाव छ भन्दैमा कार्यालय सहयोगीबाट सुत्केरी गराउन नमिल्ने बताए । उनका अनुसार त्यो कसरी भयो महिनाको अन्तिम दिन बर्थिङ सेन्टरबाट सुत्केरी महिलाको तथ्यांक आउने गरेको भए पनि पिना स्वास्थ्यचौकीबाट त्यस्तो भएको पुष्टि आएको छैन । रिपोर्टको आधारमा बोल्ने हो त्यसका बारेमा आपूmलाई थाहा नभएको स्वास्थ्य प्रमुख शाहीको भनाइ छ ।
यता स्वास्थ्य कार्यालय मुगुका डा. सुरज गरौका अनुसार यसका बारेमा आपूmलाई जानकारी नभएको बताए । यसका विषयमा सम्बन्धित स्थानीय सरकारले निगरानी राख्नुपर्ने बताए । यसका विषयमा स्वास्थ्यचौकीका इन्चार्जसँग बुझ्ने डा. गरौले बताए ।
प्रतिक्रिया