‘पार्टीभित्रको तमासा हेरेर बस्दैनौँ’

दुई कम्युनिस्ट पार्टीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको १४ महिना नाघिसकेको छ । तर, पार्टीको आन्तरिक संरचना मात्रै होइन, पार्टीले लिखित रूपमा राजनीतिक दस्तावेजसम्म तयार गर्न सकेको छैन । पार्टीको केन्द्रीय समितिको बैठकसमेत १४ महिनादेखि बसेको छैन । पटकपटक केन्द्रीय समिति बैठकको माग भए पनि त्यसको सुनवाइ भएको छैन । आन्तरिक कमिटीहरूले पूर्णता पाएका छैनन्, लाखौँ नेता कार्यकर्ता पार्टीले कहिले जिम्मेवारी देला भन्ने पर्खाइमा छन् । पार्टीभित्रै नेतृत्वको तीव्र आलोचना बढिरहेको छ । पार्टी काममा देखिएको लथालिंग प्रवृत्तिले एकाथरी नेता कार्यकर्तामा आक्रोश बढ्दै छ, यसै सेरोफेरोमा नेकपाका स्थायी समिति सदस्य युवराज ज्ञवालीसँग सौर्य दैनिकका लागि चमिना भट्टराईले गरेको संवादः

पार्टी एकता भएको लामोसमय बित्दा पनि आन्तरिक नेता कार्याकर्ताले काम पाएनन् भन्ने गुनासो छ । पार्टी कसरी अगाडि बढिरहेको छ ?
यति वेला नेकपाको केन्द्रीय कमिटीको बैठक नबसेको १४ महिना भइसक्यो । स्थायी समितिको बैठक पुस यता बस्न सकेको छैन । वेलामौकामा सचिवालयको बैठक बसेको छ । तर, सचिवालयको बैठकले पनि ठोस निर्णय गर्न सकेको छैन । अहिलेसम्म पार्टीको राजनीतिक प्रतिवेदन हामीसँग छैन । अहिले पार्टी अध्यक्षदेखि नेता कार्यकर्ताको कहीँ कतै कुनै लिखित रेकर्ड छैन । नेकपा नामको पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । तर, कुनै पनि नेता कार्यकर्तासँग नेकपाको परिचय पत्रसम्म छैन । पूर्वमाओवादीहरू र पूर्वएमालेकाले पुरानै परिचयपत्र बोकेर हिँडेका छन् । एकतापछि पार्टीको सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी बनेको छ । प्रदेश कमिटी र जिल्ला कमिटी बन्दै छन् । अन्य कमिटी बनेको छैन । थोरै नेताले बाहेक अरूले काम नपाएको कुरो साँचो हो ।

यसरी कति दिन चल्छ ?
यति ठूलो पार्टीको नेता कार्यकर्तासँग कुनै पनि परिचय नहुनु भनेको अत्यन्तै अराजक, अस्तव्यस्ततापूर्ण अवस्था हो । साँच्चै भन्नुपर्दा पार्टी अहिले भद्रगोलको अवस्थामा छ ।

त्यसो भए तपाईं नेकपाको नेताको रूपमा नेकपा एमालेको परिचय बोकेर हिँड्दै हुनुहुन्छ ?
हो । म नेकपा एमालेको परिचय पत्र बोकेर हिँड्छु । विभिन्न ठाउँमा जाँदा लेख्नुपर्दा नेकपा लेख्छु । परिचय पत्र देखाउनु पर्दा एमालेको देखाउनुपर्ने बाध्यता छ । नेकपाको कुनै परिचय छैन । यो भन्दा लज्जास्पद के हुन्छ ?

त्यसो गर्नुपर्दा कस्तो अनुभूति हुन्छ । हुँदै नभएको पार्टीको परिचय पत्र देखाउनुपर्यो भन्ने लाग्दैन ?
यो अव्यवस्थापनको चरम रूप हो । हामीसँग दुई-दुई वटा पार्टी कार्यालयका साथै दुई पार्टी अध्यक्ष छन् । दुवै पार्टी कार्यालयमा कर्मचारी छन् । उनीहरू आएर हाजिर गरेर बस्छन् । उनीहरूलाई काम दिन सकेको छैन । पार्टी कार्यालयमा अध्यक्ष, महासचिव र अन्य सचिवालयका कमरेडहरूको कार्यालय छ । तैपनि, एउटा परिचय पत्रसम्म बनाउन सकेको छैन यो किसिमको अव्यवस्थापन भनेको चरम गैर जिम्मेवारीपन हो । नेकपा एमाले वा माओवादी केन्द्र नामको पार्टी छैन । तर, त्यही नभएको पार्टीको परिचय बोक्नुपर्ने भनेको दुःखद् कुरा हो ।

त्यसोभए नेकपाका करिब आठ लाख पार्टी सदस्य हजारौँ नेता कार्यकर्ता काम, जिम्मेवारी र परिचयविहीन छन् ?

प्रदेशलगायत केही कमिटी बनेको ठाउँमा चाहिँ काममाथि काम थपिएको छ । जनताबाट निर्वाचित स्थानीय तहदेखि मन्त्री प्रधानमन्त्रीसम्मले काम पाएका छन्, ती हजारौँको संख्यामा छन् । त्यो बाहेकको अत्यधिक ठूलो लाखौंको संख्यामा रहेका नेता कार्यकर्ता कामविहीनको अवस्थामा छन् । यसले पार्टी चरम अव्यवस्थापनबाट अघि बढ्दै छ भन्ने देखाउँछ ।

तैपनि, हामी यो अव्यवस्थाबाट निकास निस्कन्छ कि भन्ने आशमा छौँ । त्यसका लागि प्रयत्न पनि भइरहेको छ । सचिवालयको बैठक वेलामौकामा बसिरहेको छ र पार्टीको राजनीतिक प्रतिवेदन पनि सार्वजनिक रूपमा आउँछ कि भन्ने लागेको छ । पार्टीको स्थायी समितिको बैठकमा राजनीतिक प्रतिवेदनमा हामीले लिखित रूपमा सुझाव दिएका छौँ । त्यतिवेला एक महिनाभित्र राजनीतिक प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भएको थियो । तर, त्यसको पनि ६ महिना समय बितिसक्यो ।

राजनीतिक प्रतिवेदनविना कम्युनिस्ट पार्टी चल्छ ?
यही त कुरो छ यति ठूलो विशाल कम्युनिस्ट पार्टी छ तर, पार्टीको प्रतिवेदन छैन । सम्पूर्ण विचार, नीति, कार्ययोजना, कार्यभारहरू, रणनीति सरकार सञ्चालन कसरी गर्नेजस्ता सबै कुरा राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको हुन्छ । तर, त्यो नै नभएर पार्टी अहिले स्वेच्छाले चलेको छ । पार्टीका दुई अध्यक्षले भाषणमा बोलेको कुराका आधारमा पार्टी चलेको छ । उहाँहरूको स्वेच्छा र ब्रह्मले जे देखेर बोल्नुहुन्छ त्यसैअनुसार पार्टी चलेको छ । पार्टीको निश्चित निर्धारित नीति वा लिखित दस्तावेजको आधारमा पार्टी चलेको छैन । विचित्र र भद्रगोलको अवस्थामा पार्टी छ, इतिहासमा कहिल्यै पनि यस्तो भएको थिएन ।

तपाईंले दुनियाँको इतिहास पढनु-देख्नुभएको छ, कम्युनिस्ट पार्टी यसरी चल्छ ?
म पुष्पलालको पार्टीदेखि संगठित भएर आएँ । पुष्पलालको पार्टीबाट कोर्डिनेसन हुँदै यहाँसम्म आए । कम्युनिस्ट पार्टीमा संगठीत भएर निरन्तर काम गरेको ४५ वर्ष भयो । यो बीचमा संगठन निर्माण परिचालनलगायत विभिन्न जिम्मेवारी लिएँ । यति ठूलो पार्टी छ यसको विश्व कम्युनिस्ट आन्दोलनमा नै नयाँ सम्भावना छ ।

लोकतान्त्रिक विधिबाट नै नेपालमा समाजवादमा पुग्न सकिने सम्भावना छ । वडादेखि प्रदेश, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिसम्म नेतृत्व गर्ने हैसियत भएको र दुई ठूला कम्युनिस्ट पार्टी एकता भएर ठूलो पार्टी भएको छ । यति धेरै सम्भावना हुँदाहुँदै पनि यसलाई व्यवस्थित गर्न नसक्नु विडम्बना पूर्ण कुरा हो । यो नचाहेर, नजानेर वा नसकेर हो कि यसै गरी यसलाई विधिवत रूपमा पार्टी विघटनकै रूपमा जाओस् भन्ने चाहना भएर हो । हामीले खोजी गर्नुपर्ने भएको छ । के भएर यो अवस्था भएको छ त्यो नहुनुपर्ने थियो ।

पार्टी कार्यालयमा अध्यक्ष, महासचिव र अन्य सचिवालयका कमरेडहरूको कार्यालय छ । तैपनि, एउटा परिचय पत्रसम्म बनाउन सकेको छैन यो किसिमको अव्यवस्थापन भनेको चरम गैर जिम्मेवारीपन हो । नेकपा एमाले वा माओवादी केन्द्र नामको पार्टी छैन । तर, त्यही नभएको पार्टीको परिचय बोक्नुपर्ने भनेको दुःखद् कुरा हो

विघटनको सम्भावना छ ? विश्व कम्युनिस्ट आन्दोलनमा पनि नेतृत्वले नै कम्युनिस्ट पार्टी विघटन गरेको इतिहास नभएको होइन ?
अहिले यो विषयमा नेपालका वामपन्थी विचार राख्ने बौद्धिक वर्ग र पार्टीभित्रै पनि गम्भीर चिन्ता छ । कैयौँमा निराशा पनि छ । तैपनि, यो पार्टीभित्र क्रान्तिकारी विचार भएका, देशमा समाजवाद ल्याउनुपर्छ भन्ने अठोट भएका सशक्त मान्छेको ठूलो संख्या आत्मविश्वासका साथ लागिपरेका छन् । यति हुँदाहुँदै पनि कसैमा गलत आकांक्षाहरू होलान्, ती पूरा हुँदैन र अहिलेको अवस्था अन्त्य हुनेछ । हामी कुनै हालतमा त्यो दिन आउन दिने छैनौँ ।

यति लामो सयम कम्युनिस्ट पार्टीमा सक्रिय जीवन बिताउनुभयो । ठूलो कम्युनिस्ट पार्टी बनाएर के के न होला भन्ने सोच्नुभएको थियो होला । तर, अहिले पूरै राजनीतिक रूपमा निस्क्रिय जस्तै हुनुपर्दा कस्तो लाग्छ ?
व्यक्तिगत रूपमा म लेखन र अध्ययनकै काममा लागेको छु । कहिलेकाहीँ कुनै पुस्तकालयमा गएर र आफ्नै घरमा रहेको किताब पढ्ने गर्छु । कसैले बोलाएमा सामाजिक काम वा पार्टीको कार्यक्रममा जाने गर्छु । आफूलाई कुनै न कुनै ढंगले व्यस्त राख्ने काम गरेको छु । त्यसले केही हदसम्म व्यस्तजस्तै बनाएको छ । तर, कुनै पनि काम वा जिम्मेवारी लामोसमयसम्म नपाउँदा व्यक्तिगतभन्दा पनि यो पार्टी, यो मुलुकको भविष्य के होला भन्ने चिन्ता हुँदो रहेछ । पार्टी बिग्रियो वा कमजोर भयो भने मुलुक कसरी अगाडि बढ्ला ? यति ठूलो पार्टी धेरै सम्भावना भएको वेला पनि गर्न सकिएन भने देशको भविष्य के होला भन्ने चिन्ता लाग्छ ।

पार्टी वैचारिक रूपमा अन्योलजस्तो देखिएको छ । जबज कि जनताको जनवाद भन्नेमा प्रष्ट देखिँदैन । नेतालाई जे मन लाग्यो त्यही बोलिरहेको सुनिन्छ । यस्तो अन्योलता कहिलेसम्म ? यस्तो अवस्थामा राजनीतिक दस्तावेज कसरी आउँला ?

मैले अहिलेसम्म मार्क्सवादको अध्ययन गरेअनुसार विश्व कम्युनिस्ट आन्दोलनमा मार्क्सवादको प्रयोग सफलता असफलता हेर्दा माक्र्सवाद भनेको एंगेल्सले लेखेजस्तै र मदन भण्डारीले भनेजस्तै ‘सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त’ यो ज्यादै महत्वपूर्ण कुरा हो । मार्क्सवादी सिद्धान्त जीवनका लागि हो त्यो भनेको जनताका लागि हो । जनताको समृद्धि, जनताको सुख, उनीहरूका बीचमा रहेको अन्याय अत्याचारको अन्त्य होस् भन्ने उद्देश्यले सिद्धान्त आएको हो । त्यसैले नेपालको अहिलेको समाजमा जनताको सुख, समृद्धि, विभेद, उत्पीडन र उनीहरूका समस्या कुन विधि, प्रक्रिया र नीतिका आधारमा अत्य हुन्छ त्यही नै माक्र्सवाद हो ।

मार्क्सवादको कुनै अर्कै फर्मुला हुँदैन । त्यसैले, आजको नेपाली समाजका जे भन्दाखेरी जनताको मुक्ति र समृद्धि हुन्छ, जनता खुसी हुन्छन् र जनताको आवश्यकता पूरा पनि माक्र्सवाद हो । जहाँसम्म अहिलेको प्रतिवेदनको कुरा छ पार्टी एकता गर्दा जनताको जनवाद राख्ने भनिएको छ । त्यसमा बहुदलीय प्रतिस्पर्धा संविधानको सर्वोच्चता, आवधिक निर्वाचनदेखि जबजमा भएका १४ वटा विशेषता उल्लेख छ । बहुदलीय जनवादमा उल्लेख भएका कुरा नै जनताको जनवादमा पनि उल्लेख छ । यसलाई आउने महाधिवेशनसम्म लैजाने त्यसपछि महाधिवेशनमा आएका सुझावका आधारमा टुंग्याउने भनिएको छ । त्यसैले प्रतिवेदन त्यहीअनुसार आउला भन्ने लाग्छ ।

जनताले कुनै नेतालाई होइन, कम्युनिस्ट पार्टीलाई विश्वास गरेर भोट हालेका हुन् । जनतामा कम्युनिस्ट पार्टीको बहुमतको सरकार हेर्ने चाहना थियो । विगतका शासकबाट जनता निराश थिए । जनतामा कम्युनिस्ट पार्टीको सरकारले केही गर्ला भन्ने विश्वास थियो

पार्टीको आन्तरिक संरचना लथालिंग देखिन्छ, पार्टीका नेता कार्यकर्ता जिम्मेवारविहीन देखिन्छन् । यस्तो अवस्थामा महाधिवेशन होला र ? पार्टीमा नेता कार्यकर्ताले जिम्मेवारी पाई, चुस्त दुरुस्त कम्युनिस्ट पार्टी बनी महाधिवेशन होला भन्ने लागेको छ ?
पार्टीभित्रको अन्योल र अस्तव्यस्तता केही समयको कुरा हो सधैँभरी यसरी पार्टी चल्दैन भन्ने मलाइ विश्वास छ । यो मैले सुझबुझका साथ भनेको हुँ । अहिले पार्टीभित्र जुन प्रकारको तमासा छ त्यो हेरेर हामी बस्दैनौँ । निश्चित बाध्यात्मक कारणले गर्दा बोलेका छैनौँ । यसको मतलव सबै तमासा हेरे चुपचाप बसेका छैनौँ । पार्टी पंक्ति सधैँ रमिता हेरेर बस्दैन । कम्युनिस्ट आन्दोलन हजारौँको बलिदान दुःख कष्ट र त्यागले यहाँसम्म आएको हो ।

त्यसैले कसैले कम्युनिस्ट पार्टी विघटन नै गर्न खोजेको हो भने पनि त्यो सम्भव छैन । अहिले देखिएको अव्यवस्थालाई ठीक ट्रयाकमा ल्याउनुपर्छ, सकिन्छ पनि त्यसका लागि आवश्यक परे नयाँ कदम उठाएर जानुपर्छ । कसैको मनमा यस्तै गरी नेपालको कम्युनिस्ट आन्दोलनलाई विघटन गर्ने कहीँ कतै सोच छ भने त्यो आकांक्षा पूरा हुँदैन । हामी हुन दिँदैनौँ ।

नयाँ कदम भनेको के हो ?
यो बीचमा नेता कार्यकर्ताका केही बानीबेहोरा र कार्यशैली बिग्रिएको छ । तैपनि, यो आन्दोलनलाई व्यवस्थित रूपमा अगाडि लैजानुपर्छ भन्नेहरूको विशाल पंक्ति अहिले पनि पार्टीमा छ । यो अवस्थाबाट पार्टीलाइ अघि बढाएर कम्युनिस्ट पार्टीलाई चुस्त दुरूस्त रूपमा अगाडि बढाउनुपर्छ भन्नेहरूको ठूलो संख्या पार्टीमा छ । त्यो पंक्ति आवश्यकताका आधारमा संगठित र क्रियाशील हुनेछ । कसरी भन्ने समयले देखाउँछ ।

अहिले कम्युनिस्ट पार्टीको नेतृत्वमा दुईतिहाइको सरकार छ । जनताले धेरै आकांक्षा गरेका थिए, तर जनता निराश छन् । सरकारमा गएका र पार्टीकै केही नेता कार्यकर्तामा पुजीँवादी शैलीको विलासिता देखिएको छ । यसले जनतामा वितृष्णा र आक्रोश छ यसलाई के भन्नुहुन्छ ?
व्यवस्था नयाँ आयो, संविधान आयो । निर्वाचनपछि तलदेखि माथिसम्म कम्युनिस्ट पार्टीको सरकार आयो । जनताले कुनै नेतालाई होइन, कम्युनिस्ट पार्टीलाई विश्वास गरेर भोट हालेका हुन् । जनतामा कम्युनिस्ट पार्टीको बहुमतको सरकार हेर्ने चाहना थियो । विगतका शासकबाट जनता निराश थिए । जनतामा कम्युनिस्ट पार्टीको सरकारले केही गर्ला भन्ने विश्वास थियो । जनता, समाज, सिंगो कार्यकर्ता पंक्ति अग्रगामी परिवर्तन चाहान्छन् । उनीहरू कम्युनिस्ट पार्टीको नेतृत्व सादा जीवन उच्च विचार अंगालोस्, नेतृत्व कम्युनिस्ट आचरणमा चलोस् भन्ने भावना राख्छन् त्यो जायज हो ।

कम्युनिस्ट पार्टीका नेता सत्तामा गएका कारण विलासी नबनून् भन्ने उनीहरूको चाहना छ । वास्तवमा सत्ता भनेको लक्ष्य होइन माध्यम हो । तर, नयाँ परिपाटीमा गएपछि हिजोका राजामहाराजाहरूले पदमा पुगेपछि अपनाउने जुन परिपाटी थियो त्यो यो नेतृत्वले नगरोस् भन्ने जनताको चाहना हो । तर, अहिले देखिएका केही व्यवहारमा तलदेखि माथिसम्म सुधार गर्नुपर्नेछ त्यसो गर्न सकिएन भने सत्ताकै कारणले कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता विलासी हुने, पैसाको लोभमा भ्रष्ट्राचारमा डुब्ने र कम्युनिस्ट पार्टी नै बर्बाद हुने अवस्था आउन सक्छ ।

‘सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त’ यो ज्यादै महत्वपूर्ण कुरा हो । मार्क्सवादी सिद्धान्त जीवनका लागि हो त्यो भनेको जनताका लागि हो । जनताको समृद्धि, जनताको सुख, उनीहरूका बीचमा रहेको अन्याय अत्याचारको अन्त्य होस् भन्ने उद्देश्यले सिद्धान्त आएको हो

यसलाई सुधार गर्न के गर्नुपर्ला ?
यतिवेला हाम्राअघि धेरै सम्भावनासँगै चुनौती पनि छन् । चुनौती के हो भने ? सत्ताको लोभमा फसेर भोगविलास र ऐसमा जीवन बिताउने प्रवृत्ति नेता कार्यकर्तामा बढ्यो भने त्यो कम्युनिस्ट पार्टीका लागि ठूलो दुर्घटना हुन्छ । संसारको कुनै पनि दुश्मनले ढाल्न नसकेको कम्युनिस्ट पार्टी आफैँभित्रको विकृति विसंगतिले ढल्छ, त्यसैले हामी सचेत हुनुपर्छ । अहिलेको जीवनशैलीमा परिवर्तन हुनपर्छ ।

विश्वको इतिहास हेर्ने हो भने, भियतनाममा होचिमिन्ह राष्ट्रपति भएका थिए उनको हातमा सत्ता थियो शक्तिशाली थिए, तर होचिमिन्हले आफ्नो जीवन कसरी बिताउनु भयो ? चीनमा माओको र देन–सिङ–प्याओको जीवनशैली, लेनिन र उत्तर कोरियामा किम–उल–सुङको जीवनशैली कस्तो थियो ? सत्ताप्राप्तिपछि पनि उनीहरूमा कहिल्यै विलासी वा अहमता देखिएन । नेपालमा नै मदन भण्डारी, पुष्पलाल, मनमाेहन अधिकारी, बिपी काेइराला, कृष्णप्रसाद भट्टराईको जीवनशैली हेर्नुपर्छ । त्यसैले सत्तामा पुगेर हामीले ऐसआराम गर्ने होइन थोरै खर्चबाट जीवन चलाउँदै जनताका पक्षमा काम गर्नुपर्छ ।

नेपालका कम्युनिस्ट नेताहरूमा त त्यस्तो देखिँदैन त ?
जनताले मन्त्रीहरू चप्पल लगाएर वा पैदलै हिँडून् भनेका छैनन् । जनता कुरा बुझ्छन् । आवश्यकताअनुसार काम गरेर जनताको विश्वास जित्नुपर्छ । त्यसो भएन भने जनताका नजरमा स्थापित हुन सकिँदैन । कम्युनिस्ट पार्टीका नेताहरू विलासी भएर पतन भएका उदाहरण धेरै छन् । तर, कम्युनिस्ट पार्टीका नेताले पदमा पुगेर पनि सादा जीवन बिताएर जनताका पक्षमा काम गरेका पनि छन् । सत्तामा पुगेपछि राज्यले दिने सुविधाले चल्नुपर्छ । अतिरिक्त सुविधाको अपेक्षा गर्नु हुँदैन । राज्यले दिएको सुविधालाई धेरै ठूलो ठान्नुपर्छ । देशको आर्थिक अवस्थाअनुसार चल्दा जनताले विरोध गर्दैनन् ।

गरिब गरिब भइरहने धनी झन् धनी हुने र कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता सत्तामा पुगेर भोगविलासमा लिप्त हुन थाले भने जनतामा कम्युनिस्ट पार्टीप्रति वितृष्णा जाग्छ । त्यसैले जनताले गरेका आलोचनालाई सकारात्मक रूपमा लिँदै हामीले कम्युनिस्ट आचरणमा आफ्नो जीवनशैली चलाउनुपर्छ । त्यसलै यसलाई व्यवस्थित गर्न पार्टीबाट निर्वाचित भएका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूदेखि वडासदस्यसम्मका व्यक्तिले कति सुविधा लिने भनेर पार्टीमा मापदण्ड बनाउनुपर्छ । अहिले जे गरिरहेका छौँ त्यसको मूल्यांकन गरेर अघि बढ्नुपर्छ ।

प्रतिक्रिया