अत्यधिक रक्तश्रावले सुत्केरीको मुत्यु

मुगु । मुगु जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका–१ चिताई गाउँकी ३५ वर्षीया एक सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरी भई छोराको जन्म दिएपछि साल नझर्दा उनको मृत्यु भएको हो ।

मुगुम कार्मारोङ गाउँपालिका–१ की ३५ वर्षीया पासाङ फुटिक तामाङले १६ असारमा आफ्नै घरमा छोरा जन्माएकी थिइन् । छोराको जन्म भइसकेपछि साल नझरेको र अत्यधिक रक्तश्राव भएपछि १७ असारमा उनको घरमा नै मृत्यु भएको स्थानीयवासीले जनाएका छन् ।

घरमा नै सुत्केरी बेथा लागेपछि गाउँमा स्वास्थ्यकर्मी नहुँदा स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाले मुस्किलले सुत्केरी गराए पनि बच्चा जन्मे पनि साल ननिस्केपछि सुत्केरीको मृत्यु भएको छ । आमाको मृत्यु भए पछि जिवित अवस्थामा रहेको नवजात शिशुको बिचल्ली भएको छ । मृतक सुत्केरी तामाङका अन्य तीन सन्तान पनि साना रहेका छन् ।

यस गाउँका लागि डोल्फु गाउँको स्वास्थ्यचौकीको कार्य क्षेत्र भए पनि एक दिन लाग्ने र स्वास्थ्यकर्मी पनि नभएकाले तत्काल उपचार गराउन अन्यत्र लैजान नसकिएको स्थानीयवासीले बताएका छन् ।

चिताई गाउँदेखि जिल्ला अस्पताल पुग्न दुई दिन र पायक पर्ने पुलु स्वास्थ्यचौकी पुग्न पाँच घण्टा लाग्ने भएकाले पनि चिताई गाउँका स्थानीयवासी न्यूनतम स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएको चिताई गाउँका स्थानीयवासी एवं वडा–१ का वडाध्यक्ष सोनामयाङ्जु तामाङले बताए ।

गाउँका सबै जना यार्सा टिप्न पाटनमा गएका, गाउँमा वृद्धवृद्धा मात्रै रहेका र मौसम पनि खराब रहेका कारण पाँच घण्टा नजिक पर्ने स्वास्थ्य संस्थामा लैजान नसकिएको उनले बताए । मुगुमकामरोङ गाउँपालिकाकामा मुगु, किम्री, पुलु र माग्रीमा प्रसूति गृह छन् ।

प्रतिक्रिया