काठमाडौं । नेपालको स्थानीय पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ गरिएको भिडियो च्यालेन्ज प्रतियोगितामा ‘जर्नी टु सिंहला’ ले सर्वोत्कृष्ट बन्दै अवार्ड हात परेको छ ।
पाँच मिनेट लामो यो भिडियो जुबुलिंग फिल्मले निर्माण गरेको हो । भिडियोले शीर्ष पाँच भिडियोलाई पछि पार्दै उपाधि जित्न सफल भयो । राइज फाउन्डेसनले आयोजना गरेको ‘मेरो गाउँ, मेरो ठाउँ’ शीर्षकमा वि विल प्रतियोगितामा देशभरबाट एक सय ३२ वटा भिडियो सहभागी भएको आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको अन्तिम दिन निकै तामझामका साथ गरिएको कार्यक्रममा सर्वोत्कृष्ट भिडियोको घोषणा गरिएको हो । कार्यक्रममा रक्षामन्त्री ईश्वर पोखरेल, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, पर्यटन बोर्डका सिइओ दीपकराज जोशी, लोकगायिका कोमल वली, अभिनेत्री करिष्मा मानन्धर लगायतको उपस्थिति रहेको थियो ।
प्रतिस्पर्धामा प्रथम हुँदै ‘जर्नी टु सिंहला’ ले एक लाख नगद पुरस्कार पाउन सफल भयो । साथै फिल्म मेकिङसम्बन्धीको कोर्स सिक्ने अवसर समेत पाएको छ । त्यसैगरी, प्रतियोगितामा जनकपुर क्षेत्रलाई आधार बनाएर कुमार भाष्करले बनाएको ‘छठ पूजा’ ले पब्लिक च्वाइस अवार्ड हात पार्न सफल भयो । उक्त भिडियोले एक लाख नगदसहित नेपाल फिल्म एकेडेमीबाट दुई लाख बराबरको फिल्म स्टडिज कोर्सको छात्रवृत्ति पाएको छ ।
यसैगरी, ‘मानुङ कोट’ भिडियो बनाएका आर्यन कुँवरले प्रतियोगितामा फ्युचर स्टारको उपाधि जिते । बेस्ट स्क्रिप्ट राइटरको उपाधि भीमलाल श्रेष्ठले निर्माण गरेको ‘मकै विवाह’ ले पायो । भिडियोमा सहभागी महिलाका लागि पनि छुटै विधाअन्र्तगत प्रतिस्पर्धा गराइएको थियो । वुमन भिडियो मेकर अफ द इयरको उपाधि देवकी विष्टले जितिन् । उनले ‘ट्युन अफ झाँक्री’ शीर्षकमा भिडियो बनाएकी थिइन् ।
यसैगरी, मोस्ट पोटेन्सियल डेस्टिनेसनको उपाधि ‘सन्दकपुर’ लाई मिल्यो । यो भिडियो सन्दकपुर गाउँपालिकाले निर्माण गरेको थियो । बेस्ट टेक्निकल सिनेम्याटोग्राफीको उपाधि दिनेश श्रेष्ठले बनाएको ‘रेड चारोट’ ले पायो । इलामको धार्मिकस्थल ‘सेतीदेवी’ बारे भिडियो बनाएका विजय राईले मोस्ट इन्र्जेटिक भिडियोमेकर अवार्ड पाए । यी सबै विधाका विजेतालई नगद २५ हजार रुपैयाँ पुरस्कार स्वरूप दिइएको थियो ।
प्रतियोगितामा सामेल हुनका लागि देशभरका युवालाई आह्वान गरिएको थियो । खुला प्रतिस्पर्धाअन्तर्गत जोकोहीले आ–आफ्ना क्षेत्रका पर्यटकीय स्थल, कलासंस्कृति, खानपान आदि उजागर गर्ने किसिमको भिडियो निर्माण गरेर सामेल हुन सक्थे । प्रतियोगिता गएको २०१९ जनवरी १ देखि सुरु भएर मे ३१ सम्म चलेको थियो । प्रतियोगिताका लागि विभिन्न ठाउँबाट युवाले स्वतस्र्फूत भिडियो निर्माण गरेर पठाएका थिए ।
प्राप्त भिडियोलाई विभिन्न ८ विधाअन्तर्गत प्रतिस्पर्धामा राखिएको थियो । प्रतिस्पर्धामा अभिनेत्री करिष्मा मानन्धर, कलाकार निर्मल शर्मा, साउन्ड इन्जिनियर प्रदिप उपाध्याय, फोटोग्राफर जगदिश तिवारी, निर्देशक सम्झना रौनियर उप्रेती निर्णायकका रूपमा रहेका थिए । उनीहरूले विभिन्न विधामा सर्वोत्कृष्ट भिडियो छनोट गरेका थिए ।
वि विल राइज फाउन्डेसनले देशभरको पर्यटकीय स्थललाई चिनाउन लक्ष्यका साथ प्रतियोगिता गरेको हो । आन्तरिक पर्यटन प्रवद्र्धधन गर्नका लागि नयाँ अवधारणअन्तर्गत भिडियो च्यालेन्ज गराएको आयोजक निर्मल श्रेष्ठले जिकिर गरे । उनले भने, ‘हामीले अपेक्षा गरेअनुरूप देशभरबाट निकै उत्कृष्ट भिडियोहरू सहभागी भए ।
यसले ओझेलमा रहेका पर्यटकीय स्थल, कला, संस्कृति, खानपानबारे जानकारी दिन्छ ।’ स्थानीय पर्यटन प्रवद्र्वधनका लागि भिडियो च्यालेन्ज एक रचनात्मक अभियान भएकाले यसलाई आगमी वर्ष पनि निरन्तरता दिने उनले बताए ।
प्रतिक्रिया