असारे गीत गाउँदै हिलाम्य खेतमा पसेर धान रोपिने असार महीना यसपालि महोत्तरीका किसानका लागि उत्साहपूर्ण देखिँदैन । समयमा नै पानी नपर्दा असार तेस्रो साता बित्नै लाग्दासम्म धान रोपाइँ गर्न नपाएपछि यहाँका किसानका लागि असार निरस बनेको हो ।
यसअघि पटकपटक लगाइएको धानको बीउ प्रचण्ड घामले ब्याडमै डढ्दा रोपाइँ गर्न नपाइएकोमा किसानको गुनासो छ । ‘असार १० अघि पानी पर्न सकेन, बीउ ब्याडमै डढेर गयो, धान नै रोप्न नपाएपछि पर्वको के उल्लास हुनु ?’ जिल्लाको भंगहा नगरपालिका–४ रामनगरका युवा किसान ३५ वर्षीय चन्देश्वर राय दनुवारले विरक्तिँदै भने । जिल्लामा यस वर्ष असार १० अघिको चर्को घामको रापले धानको बीउ मात्र नभएर उखु बाली, फलफूलका बिरुवा र लहरे तरकारी (लौका, फर्सी, करेला, चिचिन्डो, बोडी, झिमनी र घिरौँला)लगायत बिरुवा सुकिसकेको किसान बताउँछन् ।
असार १० यता परेको पानीले धानबाहेकका अन्य बालीको रोगन फर्काए पनि (पहँेलिएका बोट हरियो भएका) धान भने बीउकै अभावमा रोपाइँ गर्न नसकिएको दाबी उनीहरूको छ । ‘अखाड १० एम्हर दु–चार दिन बारिस भैल खेतसब पाइन सब भरल अई, मुदा बिछन नई भेला स मौगत भोइग रहल छि’ असार १० यता दुई÷चार दिन परेको पानीले खेतका गह्रा टन्न भरिएका छन्, तर के गर्नु ? बीउ नै नभएपछि मन रनभुल्ल परिएको छ), बर्दिवास–९ पशुपतिनगरका ८० वर्षीय वृद्ध किसान नथुनी महतोले भने । उनी खेत बाँझै हुने भयो भन्ने चिन्तामा छन् ।
यतिखेर घर गुजाराको मुख्यबाली धान रोप्न नपाएपछि यहाँका किसान जहानपरिवारको प्रतिपाल यस वर्ष कसरी गर्ने भन्ने चिन्तामा छन् । मुख्यबाली नै समयमा लगाउन नपाएपछि अनिकाल पो लाग्ने हो कि भन्ने चिन्ताले छोपेको भंगाहा–४ कै किसान दीपमायाँ श्रेष्ठ बताउँछन् । महोत्तरीमा जेठ दोस्रो सातातिर पानी परे पनि हिले ब्याड राख्ने गरी पानी नपर्दा यहाँका किसानले धुलेब्याड राखेका थिए । तर त्यसयता लगातार चर्को घाम बढ्दै जाँदा बीउ ब्याडमै खङरङ्ग सुकेकाले असार पन्ध्र धान दिवसका अवसरमा पनि यहाँका किसानले बीउ अभावका कारण धान रोपाइँ हुन नसकेको हो ।
जेठको तेस्रो साताभित्र बीउ राखिसक्ने र असार तेस्रो साताभित्र धानको मूल (शाही) रोप (धानको मूल रोप र खरुअन (कलम) रोप गर्ने चलन छ) सक्ने किसानको तालिका यसपालि पानीको अभावले खज्मजिएपछि आम किसानमा अन्नको संकट हुने डर बढेको छ । असार तेस्रो साताभित्र शाहीरोप सक्ने र त्यो रोपेको गाँजिएपछि उखेलेर साउन तेस्रो साताभित्र खरुअन (कलम) को रोपाइँ सक्ने धान खेतीको तालिका हुने गरेको यहाँका किसान बताउँछन् । तर, धेरैजसो आकाशे पानीको भरमा गरिने यहाँको धान खेती समयमा पानी नपरेपछि आपूmहरू रनभुल्लमा परेको औरही नगरपालिकाको भोइल बस्तीका किसान मोहन महतो बताउछन् ।
महोत्तरी जिल्लामा कुल खेतीयोग्य जग्गामध्ये करिब ५२ हजार हेक्टरमा धान खेती हुँदै आएको छ । अधिकांश जग्गा आकाशे पानीको भरमा गर्नुपर्दा कहिल्यै अपेक्षित धान खेती हुन नसकेको कृषि सेवा प्रदायक सरकारी कार्यालयकै कृषि विज्ञ बताउँछन् । पानीको अनुकूलता÷प्रतिकूलतामा धान खेतीको क्षेत्रफल बर्सेनी घटबढ हुने गरेको छ । जिल्लामा कुल खेतीयोग्य जग्गामध्ये १० प्रतिशत मात्र सिञ्चित रहेकाले यहाँको धेरैजसो खेती आकाशे पानीमै भर पर्नुपर्ने स्थिति रहेको कृषि ज्ञान केन्द्र डिभिजन कार्यालय मलंगवा (महोत्तरी र सर्लाही कार्यक्षेत्र) सर्लाहीका अन्नबाली विज्ञ राम कैलाश साह बताउँछन् । जिल्लामा यसपालि अहिलेसम्म १०÷१२ प्रतिशत मात्र रोपाइँ हुन सकेको छ ।
जिल्लामा सिञ्चित मानिएका जग्गामा ल्याइने पानीका मुहान पनि यसपालि जेठको प्रचण्ड गर्मीमा सुकेकाले त्यस्ता जग्गामा पनि अपेक्षित रोपाइँ हुन सकेको छैन । कुलो नहरबाट ल्याइएका पानीका स्रोतका मुहान पछिल्लो वर्षापछि बल्ल रसाउन थालेका छन् । जिल्लामा रातु, बडहरी, ओक्सी, जंघा, मरहा, भब्सी, कुटमेश्वरी, बाँकेलगायतका नदी बगे पनि यी नदीको पानी खेतबारीमा सिँचाइ गर्न नभएर बर्खेभेलमा घरखेत बगाउने, कटान गर्ने पीडादायी मात्र रहँदै आएका किसानको दुःखेसो छ । ‘जिल्लामा प्रत्येकजसो बस्ती छेउमै नदी बग्छन,’ जिल्लाकै एकडारा गाउँपालिकाको बेला बस्तीका अगुवा किसान इलियास अन्सारीले भने, तर नदीको पानी खेतमा सिँचाइका लागि नभएर बर्खे भेलले घरखेत बगाउने त्रास दिने मात्र बनेको छ ।’
पानीकै अभावले कुनै खेती समयमा लगाउन नपाउँदा अपेक्षित उत्पादन कहिल्यै लिन नसकेको किसानको भनाइ छ । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहले कृषिलाई पहिलो प्राथमिकता दिएको बताउँदै आए पनि मुख्य कुरा सिँचाइ प्रबन्ध गर्न रुचि नदेखाएका किसान बताउँछन् ।
यसैबीच सुख्खा खडेरी, अल्पवृष्टि, अनावृष्टि र बाढीपहिरोको मुख्य कारण चुरेक्षेत्र र नदीमा हुने अनियन्त्रित उत्खनन भएको चुरेविज्ञ डा. विजयकुमार सिंह बताउनुहुन्छ । ‘चुरे क्षेत्रका पर्वत श्रेणी ठूल्ठूला मेशिन लगाएर ढालिँदा छन् , नदीहरूमा अनियन्त्रित दोहन रोकिने कुनै छाँट देखिँदैन, वन क्षेत्र मासिँदा छन्,’ विगतमा राष्ट्रपति तराई मधेश चुरे संरक्षण कार्यक्रममा सेवा दिइसक्नुभएका डा. सिंह भन्नुहुन्छ, ‘हामीले भोगिरहेका कृषि क्षेत्रका समस्या धेरैजसो मानव सिर्जित छन् । यिनको उचित व्यवस्थापन र संरक्षणमा अब आम चासो आवश्यक छ ।’
प्रतिक्रिया