प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमले मर्यादित भाषा प्रयोग नगरेका कारण त्यसको प्रभाव सामाजिक सञ्जालमा समेत परेको बताएका छन् । केही दिनअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा अवरोध उत्पन्न गरेपछि बोल्न नपाएका प्रधानमन्त्री ओलीले तत्काल पत्रकार सम्मेलनको आयोजना गर्दै मर्यादित भाषा प्रयोग गर्न सञ्चार माध्यमलाई आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘नेपाली भाषामा धेरै मर्यादित शब्द छन्, आँफूभन्दा ठूलालाई तपाईं, सानालाई तिमी भनेर सम्बोधन गरिन्छ तर मिडियाहरूले अंग्रेजी भाषाको नक्कल गर्दै सबैलाई तिमी भनेर सम्बोधन गरिदिँदा हाम्रो भाषाको गरिमा घटेको छ ।’ प्रधानमन्त्री ओलीको भनाइ धेरै हदसम्म मननयोग्य छ । मिडियाले मर्यादित भाषा प्रयोग गरेन भने त्यसको असर समाजमा पर्छ । तर, कसकसलाई तपाईं, कसकसलाई तिमी र कसकसलाई तँ भनेर सम्बोधन गर्ने ? भन्ने प्रश्नमा मिडियाका केही अप्ठ्यारा तथा बाध्यताहरू पनि छन् । यी यी ओहोदा र उमेरका व्यक्तिहरूलाई तपाईं भनेर सम्बोधन गर्ने, यी यी ओहोदा र उमेरकालाई तिमी भनेर सम्बोधन गर्ने, यी यी ओहोदा र उमेरकालाई त“ भनेर सम्बोधन गर्ने गरी सरकारले वर्गीकरण गरेको अवस्था छैन । सबैलाई तपाईं भनेर सम्बोधन गरिदि“दा के फरक पर्छ र ? भन्ने तर्क पनि आएका छन् । भ्रष्टाचार, बलात्कारलगायत जघन्य अपराधमा कोही संलग्न छ भन्ने कुरा मिडियालाई थाह छ, सर्वसाधारणलाई पनि थाहा छ तर अदालतले प्रमाणित गरिसकेको छैन । यस्तो व्यक्तिलाई तपाईं भनेर कसरी सम्बोधन गर्ने ? यस्ता अप्ठ्याराहरूका बारेमा बहस जरुरी छ ।
भाषा प्रयोगका प्रथम स्रोत मिडिया होइनन् । प्रायःजसो द्वितीय स्रोत हुन् । मिडियाले समाचार बनाउने विधि आफ्नै हुन्छन् । उदाहरणका लागि केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मै अमर्यादित शब्द प्रयोग गरेको भन्दै संसद्मा हंगामा भयो । उनले कस्तो अमर्यादित शब्द बोले त ? भन्ने कुरा जनतालाई जानकारी गराउनु मिडियाको कर्तव्य नै हो । प्रधानमन्त्री ओलीले प्रतिपक्षी सांसदहरूका प्रश्नलाई ‘निम्छरा’ को संज्ञा दिएका थिए । कसैलाई गाली गर्दा प्रयोग हुने शब्द प्रधानमन्त्रीको मुखबाट निस्केको प्रसंगलाई मिडियाले लुकाउन मिल्दैन । यदि यो समाचार मिडियामा नआएको भए, प्रतिपक्षले दबाब नदिएको भए प्रधानमन्त्री ओलीले प्रयोग गरेको अमर्यादित शब्द संसद्को रेकर्डमा रहिरहने थियो । यस्ता शब्द प्रयोग गर्ने व्यक्ति पनि प्रधानमन्त्री बनेका रहेछन् भनेर भावी पुस्ताले धिक्कार्ने थियो । त्यसो त इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिका चौधरीले पनि मिडियामै समाचार आएका कारण आँफूले बोलेको अमर्यादित शब्द फिर्ता लिएका हुन् ।
जुन व्यक्तिको बोली तथा भाषण मिडियामा हरदम समाचार बन्दछन्, ती व्यक्तिहरूले मर्यादित शब्द प्रयोग गर्ने हो भने भाषाको मर्यादा आफैँ बढ्छ । नेपालको सन्दर्भमा कार्यकारी प्रमुख भएको नाताले प्रधानमन्त्रीको हरेक बोली सञ्चार माध्यममा आउने गर्छ । तर, यतिवेला प्रधानमन्त्री ओलीले आफ्नो बोलीमा भाषाको मर्यादा राखेका छन् त ? भन्ने प्रश्न निकै पेचिलो बनेको छ । प्रधानमन्त्रीले जस्तो भाषा प्रयोग गरे पनि मर्यादित हुने तर अरूले प्रयोग गरेको भाषा अमर्यादित हुने हो भने छुट्टै कुरा हो । प्रधानमन्त्री भएकोले मलाई तपाईं भनेर सम्बोधन गर्नुपर्छ । तर, मैलेचाहिँ जनतालाई तिमी भनेर सम्बोधन गरे पनि हुन्छ भन्ने सोचाइ ओलीले राखेका हुन् भने अत्यन्त गलत हो । यो त सामन्ती राजतन्त्रकालीन सोच हो । तर, प्रधानमन्त्री ओलीको भाषा शैलीले देशमा लोकतन्त्र होइन कि जोकतन्त्र चलेको महसुस जनताले गर्न थालेका छन् । नपत्याए सडकमा गएर सर्भेक्षण गरे हुन्छ । ओली प्रधानमन्त्री स्वतः बनेका होइनन्, बनाइएका हुन् । तर, हाउभाउबाट, बोलीवचन सुन्दा लाग्छ, यो मुलुकमा प्रधानमन्त्री अरू बनेनन्, उनी मात्र बनेका हुन् । काम हुन सकेन भने बरू मानिसले सहन्छन् तर लोकतान्त्रिक विधिले चुनिएको मान्छेले आँफूलाई हेपेको जनताले सहँदैनन् । सभ्य भाषा प्रयोग गरे, जीवनशैली सरल भए, इमानदारीपूर्वक काम गरे, जनताको आकांक्षा आपूर्ति हुन नसक्दा पनि लोकप्रियता खस्किँदैन ।
प्रतिक्रिया