काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रलाई अब डिजिटलरूपमा अगाडि लैजाने बताएका छन् । स्वास्थ्यनीति सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।
उनले स्वास्थ्य क्षेत्रमा भएको चुनौतीलाई चिर्दै र क्रमिक रूपमा परिपूर्ति गर्दै स्वास्थ्यनीति कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘स्वास्थ्यमा भएको धेरै समस्या ई–हेल्थ ले समाधान गर्छ । बिरामीले कुन डाक्टरसँग परामर्श लिने, कुन अस्पतालमा जाने, कहाँ खाली छ, उपकरण कहाँ कहाँ छ, रोग अनुसारको अस्पताल (जस्तैः आँखाको आँखा, मुटुको गंगालाल, बच्चाको कान्ति बाल) जान सहज हुन्छ ।’
उनले नयाँ आवश्यकता र औचित्यलाई सम्बोधन गर्नेगरी स्वास्थ्य नीति जारी भएको समेत जानकारी दिए । मन्त्री यादवले ०४८ र ०७१ का स्वास्थ्यनीतिको जगमा टेकेर नयाँ स्वास्थ्यनीति आएको दाबी गरे । उनले नयाँ स्वास्थ्य नीतिलाई कार्यान्वयन गर्ने सन्दर्भमा विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी अन्य जनशक्ति, सेवा–सुविधा तथा स्रोत साधनको व्यापक अभाव रहे पनि त्यसलाई चिर्दै अगाडि बढ्ने बताए । हामीले यसका लागि स्वास्थ्यमा कम्तीमा १० प्रतिशत बजेट चाहिन्छ, भनिरहेका छौँ, लक्ष्यमा पुग्नै पर्छ ।’ उनले भने, ‘त्यसका लागि नयाँ नीति प्रयास हो ।’
मन्त्री यादवले राष्ट्रिय स्वास्थ्यनीति स्वस्थ तथा सुखी जीवनलक्षित सचेत नागरिक उत्पादनको सोच र साधन स्रोतको अधिकतम तथा प्रभावकारी परिचालन गरी स्वास्थ्यसम्बन्धी मौलिक हकलाई सुनिश्चित गर्ने ध्येयमा आधारित भएको बताए । नयाँ स्वास्थ्य नीतिले ‘स्वस्थ तथा सुखी जीवन लक्षित सजग र सचेत नागरिक’ लाई भावी सोचका रूपमा लिएको छ ।
साधन–स्रोतको अधिकतम एवं प्रभावकारी प्रयोग गरी सहकार्य र साझेदारीमार्फत नागरिकको स्वास्थ्यसम्बन्धी मौलिक अधिकार सुनिश्चित गर्नु नीतिको ध्येय रहेको छ । त्यसैगरी, संघीय संरचनामा सबै वर्गका नागरिकका लागि सबै सामाजिक न्याय र सुशासनमा आधारित स्वास्थ्य प्रणालीको विकास र विस्तार गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपभोग सुनिश्चित गर्ने लक्ष्य नयाँ नीतिले लिएको छ ।
सबै तहका स्वास्थ्य संस्थाबाट तोकिए बमोजिम निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित, स्वास्थ्य बीमामार्फत् विशेषज्ञ सेवाको सुलभ पहुँच, सबै नागरिकलाई आधारभूत आकस्मिक स्वास्थ्य सेवाको पहुँच, स्वास्थ्य प्रणालीलाई संघीय संरचनाअनुरूप संघ, प्रदेश र स्थानीय तहमा पुनर्संरचना, सुधार एवं विकास तथा विस्तार र स्वास्थ्यमा सर्वव्यापी पहुँचको अवधारणाअनुरूप प्रवद्र्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनस्र्थापनात्क सेवालाई एकीकृत रूपमा विकास तथा विस्तार गरिने नीति रहेको छ ।
नीतिमा स्वास्थ्य क्षेत्रमा सरकारी, निजी तथा गैरसरकारी क्षेत्रबीचको सहकार्य तथा साझेदारीलाई प्रवद्र्धन, व्यवस्थापन तथा नियमन, स्वास्थ्य शिक्षा, सेवा र अनुसन्धानका क्षेत्रमा निजी, आन्तरिक तथा बाह्य लगानीलाई प्रोत्साहन संरक्षण, आयुर्वेद, प्राकृतिक चिकित्सा, योग तथा होमियोप्याथिकलगायतका चिकित्सा प्रणालीलाई एकीकृत रूपमा विकास र विस्तार गरिने समेटिएको छ ।
प्रतिक्रिया