मैना विक दुई वर्ष पहिला हप्तैजसो स्वास्थ्य चौकी जान्थिन् । बाजुराको खप्तड देडेदह गाउँपालिका–१ काँडामा बस्ने उनका चार सन्तान छन् । कहिले ज्वरो, कहिले पखाला, कहिले रुघाले एउटा न एउटा बच्चा बिरामी भइरहने भएकाले उनी बच्चा लिएर हप्तैपिच्छे स्वास्थ्य चौकी जाँदा हैरान थिइन् ।
अहिले ६ महिना जति भो । मैनाले एकपटक पनि बच्चाहरूलाई स्वास्थ्य चौकी लान परेको छैन् । उनको बच्चाहरू बिरामी नहुनुको एउटै कारण हो, सरसफाइ अभियान । पहिला गाउँमा जताततै फोहोर हुन्थ्यो, अहिले गाउँ धेरै सफा भएको मैनाले बताइन् । उनले भनिन् ‘गाउँ घर सफा भएपछि त बच्चा पनि बिरामी नपर्दा रहेछन् ।’ घर र गाउँ सफा हुँदा आफैँलाई फाइदा पुग्ने कुरा उनले बल्ल थाहा पाएकी छिन् । त्यसैले उनले आजभोलि सरसफाइमा बढी नै ध्यान दिन्छिन् ।
मैनालाई मात्र होइन, गाउँका धेरैलाई अहिले सरसफाइको महत्व थाहा भएको छ । ती मध्ये अर्का हुन, बुढिगंगा नगरपालिका–१० की जौला सेराला । उनका बच्चा पनि पहिला बिरामी परिरहन्थे । एक वर्ष यता भने उनी बच्चा बोकेर उपचारका लागि कतै गएकी छैनन् । गाउँमा उनीहरूका मात्रै होइन अरू पनि बिरामी हुने क्रम घटेको छ ।
पहिला गाउँ पूरै दुर्गन्धित थियो । पछि महिलाहरू सबै मिलेर गाउँ सरसफाइ अभियान सञ्चालन गरेपछि बिरामीको संख्यामा निकै कमी आएको उनले बताइन् । सेरालाले भनिन्, ‘मिलेर गरे जे नि हुने रहेछ ।’ महिलाहरूले गाउँमा सरसफाइ अभियान चलाएपछि यस्तो परिवर्तन आएको हो । यस अभियानमा शौचालय निर्माणसमेत छ । यसै कारण आउँमासी, रुखाखोकी जस्ता रोगका बिरामी गत वर्षभन्दा यो वर्ष ४० प्रतिशतले कम भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
आर्थिक वर्ष ०७३-७४ मा जिल्लामा १३ हजार दुई सय ६३ बिरामी भएका थिए । त्यसयता बिरामी घट्दै गएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका अधिकृत रुगम थापाले बताए । ०७४÷०७५ मा १० हजार सात सय ६४ र ०७५÷७६ को वैशाखसम्म सात हजार सात सय ९७ बिरामी भएका छन् ।
नेपालका लागि झाडापखाला चुनौतीको रूपमा रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । उनले भने, ‘गर्मी मौसमको सुरुआतसँगै वर्षातको समयमा झिँगाहरू धेरै हुने हुँदा झाडापखालाको सम्भावना बढी हुन्छ । गर्मीमा फोहोरको कारण सरुवा रोग धेरै फैलन्छ ।’ डाक्टर पुनका अनुसार आफ्नो शरीर र वातावरणीय सरसफाइमा पर्याप्त ध्यान नपुग्दा धेरै रोग लाग्ने र वर्षायाममा बाढीले जीवजन्तुहरू मर्ने र पानी प्रदूषित भई वातावरणसमेत फोहोर हुन्छ । त्यसले झाडापखालाको महामारीसमेत फैलिन्छ ।
यसरी, महामारी नफैलियोस् भनेर जिल्लाका धेरै महिलाहरू मिलेर नमुना गाउँ बनाउन लागेका छन् । यो अभियान बुढीगंगा नगरपालिका–५ नवाँघरमा निकै प्रभावकारी बनेको छ । घर, भान्सा र शौचालय सधै सफा राख्ने काममा उनीहरू लागेका छन् ।
आफ्नो दैनिक कामबाट थोरै समय निकालेर महिलाहरूले चलाएको अभियान प्रभावकारी भएको बुढीगंगा नगरपालिकाका प्रमुख दीपक विक्रम शाहले बताए । उनले भने, ‘महिलाहरूले गर्ने काम परिपक्व र परिवर्तनकारी हुन्छ ।’ घर मात्र होइन उनीहरू अहिले खुल्ला दिसामुक्त बनाउने अभियानमा छन् । नवाँघर गाउँलाई जिल्लाकै नमुना गाउँ बनाउन लागेको स्वयंसेविका लोक्सरी थापाले बताइन् । गाउँ पूरै सफा भए सुन्दर मात्र देखिँदैन, कुनै महामारी रोग समेत नफैलिनेमा ढुक्क छिन् थापा । गाउँमा ७१ परिवार छन् । ती सबै घरका महिलाहरू दैनिकरूपमा घर आँगन सफा गर्छन् र साप्ताहिक रूपमा चौतारा, धारा, बाटो पनि सरसफाइ गर्छन् ।
उनीहरू आफू मात्र सरसफाइ गर्दैनन्, फुर्सद निकालेर गाउँ सफा भए नभएको समेत हेर्न जान्छन् । बिहान खेतबारीको काम सकेर दिउँसो अनुगमनमा समेत हिँड्ने गरेको महिला समूहकी सचिव सरिता थापाले बताइन् । उनले, भनिन्, ‘हामीले टोलरटोलमा गएर सरसफाइ गर्ने तरिका र यसको फाइदा पनि भन्छौँ ।’ उनीहरूले सामुदायिक संस्थामार्फत सरसफाई कोषसमेत स्थापना गरेका छन् । यसको उद्देश्य आपत् विपत् र सरसफाइमा सहयोग पुगोस् भन्ने हो ।
गाउँमा सरसफाइ अभियान विगतमा नभएको भने होइन । पहिला यो अभियान पुरुषको जिम्मामा थियो । महिलाहरू यस्ता काममा अग्रसर हुँदैन थिए । कारण घर बाहिरको काम पुरुषको जिम्मा थियो तर, उनीहरूले राम्रो काम गर्न नसकेपछि यो जिम्मा महिलाले लिएका हुन् । महिलाको जिम्मामा यो अभियान आएपछि सफल भएको हो । महिलाले सफाइको जिम्मा लिएपछि गाउँको रुप फेरिएको छ ।
गाउँको विकासमा महिलाको मुख्य भूमिका रहने पूर्ण सरसफाइ अभियानलाई अगाडि बढाइरहेको जिल्ला समन्वय समितिकी उपप्रमुख सुनिता मिजारले बताइन् । यस अभियानपछि बाटोमा दिसा नहुने, घरको भाँडा माझ्ने ठाउँ सफा हुने र माझेको भाँडा सुकाउने ठाउँ बनेका छन् । अभियानले गाउँ सफा त भएकै छ, महिलामा नेतृत्व क्षमता समेत बढेको छ । बुढीगंगा –३ ताप्राकी रिठु सार्की यसको उदाहरण हुन् ।
रिठुका श्रीमान नौले सार्कीको ८ वर्ष पहिले भारतको दिल्लीमा नोकरी गर्न गएको समयमा मृत्यु भयो । उनको आर्थिक अवस्था निकै कमजोर छ । कृषिबाट उनलाई तीन महिना पनि खान पुग्दैन । बाँकी ९ महिनाको लागि मजदुरी गर्नुपर्ने बाध्यता छ । उनको बाध्यता एकातिर छ अर्कोतिर उनी समाधान निकाल्दै अभियानमा हिँड्छििन् । उनले भनिन् ‘खान त कसलाई पुग्छ र ? तर, सबैको भलो हुन्छ भने थोरै सुतेर पनि काम गर्नुप¥यो ।’ पहिला उनी जानेको कुरा बोल्नसमेत डराउँथिन् । आजभोलि आफूले जानेको कुरा अरूलाई समेत सिकाउने भएकी छन् ।
गाउँमा जथाभावी दिसापिसाब गरेर गाउँ नै दुर्गन्धित बन्नुका साथै विभिन्न रोगको शिकार बन्न पुगेपछि महिलाहरू गाउँमा शौचालय निर्माण अभियानमा लागेको महिला अधिकार मञ्च बाजुराकी अध्यक्ष रुखमणी शाहले बताइन् । उनले भनिन् ‘पहिला महिनामा दश बाह्रजना बिरामी पर्थे, अहिले भने महिनामा एक÷दुई जनाभन्दा बढी हुँदैनन् ।’
महिलाले एकातिर सरसफाइ अभियान चलाएका छन् भने अर्कोतिर परम्परा पनि जोगाएका छन् । सुदूरपश्चिमका पहाडी जिल्लामा महिलाहरूले खेल्दै आएको देउडा गीत गाउने चलन कम हुँदै गएको छ । यसैलाई ध्यानमा राखी महिलाहरूले यसको जगेर्नामा पनि ध्यान दिन थालेका छन् ।
मेला र चाडपर्वमा महिलाहरूले खेल्ने गरेको देउडा लोप नहोस् भनेर उनीहरूले सरसफाइसँग जोडेर देउडा गाउन थालेका छन् । शौचालय निर्माण र गाउँ टोल सरसफाइ गर्नमा लोक देउडा गीतमार्फत महिलाहरूले सन्देश दिँदै आएपछि देउडा गीतसँगै सरसफाइ अभियान सञ्चालन भएको छ । ‘घर÷घरमा बनाऔँ चर्पी, सफा राखौँ धर्ती’ भन्ने नाराका साथ महिलाहरू देउडा गीत मार्फत विभिन्न कार्यक्रममा चेतना दिँदै आएका छन् । यसले एकातिर मनोरञ्जन प्रदान गरेको छ भने अर्कोतर्फ चेतना फैलाउन मद्दत पुगेको छ ।
महिलाहरू वेला÷वेला गाउँमा देउडा गीतको कार्यक्रम राख्छन् । यस्ता कार्यक्रमले सरसफाइको काम प्रभावकारी हुने गरेको छ । बुढाबुढीले समेत गीतमार्फत भन्दा बुझ्ने गरेका छन् । अहिले सरसफाइ अभियान सञ्चालनपछि पुरानो देउडा गीतको झल्को आएको उमेरले ६० नाघेकी मनाकोटीकी लक्ष्मी रोकायाले बताइन् । उनले भनिन् ‘केही वर्ष यता देउडा गीत गाउँमा सुन्नसमेत छाडिएको थियो, अहिले सुन्न पाइएको छ ।’ सरसफाइ अभियानले देउडासमेत जोगाएकोमा पुराना पुस्ता मख्ख छन् । नयाँ पुस्ता भने सफाइसँगै देउडामा रम्न पाएकोमा दंग । (महिला खबरबाट)
प्रतिक्रिया