भनिन्छ असार महिना मानो खाएर मुरी उब्जाउने यस महिना कृषि कार्यका लागि अति विशिस्ट छ । यसरी असार महिनाको सामाजिक र आर्थिक मात्र नभईकन साहित्यिक महत्व पनि उत्तिकै रहेको छ । असारे महिनामा पानी पर्यो रुझाउने, असारे मासमा धान रोपेझैँ खेतमा लगायतका विभित्र रोमाञ्चक र जनमानसमा प्रचलित गीतहरू पुस्तौँदेखि असारको सेरोफेरोमा लेखिएका र गाइएका छन् तथापी पहिले पहिले जस्तो रोपाईंका गीतहरू खेतमा लाम लागेर धान रोप्दै सामूहिक रूपमा गीत गाँउदै गरिने धेरै कम मात्र पाइन्छ । यस्ता गीतहरू धान रोप्दै गाइने भएकाले सरल र सुस्तरी गाइन्छ, जस्ले गर्दा काम गर्ने खेतालाहरूले थकान बिर्सेर धेरै बेरसम्म रमाइलो गर्दै काम गर्न सक्दछन् ।
यस्ता रोपाईंहरूको मध्यमा पर्ने असारे पन्ध्र एउटा व्यस्तताबीच थकाइ मारिने चाड हो, दही चिउरा, आँप लगायतका परिकारहरूले यस दिनलाई अझ विशेष बनाउने भएकालेनै होला असारे पन्ध्रलाई दहीचिउरा खाने दिन पनि भनिन्छ । घरमा दुहुनो गाई या भैँसीको दुध आफैँले जोरन हाली जमाएर बनाएको दही अनि ढिकी या ओखलमा कुटेको धानको चिउरालाई सरोबरी बोता या दुनाटपरीमा राखी दहीको तरल पदार्थ टपरीबाट नझरोस् भन्दै सन्तुलन मिलाएर खाएको दही चिउराले संसार बिर्साउँदछ । हरेक वर्ष जब असार महिना आउँछ । अनि हाम्रो देशका विभिन्न भागहरूमा रोपाइँ सुरु हुन्छ ।
यसवेला रातभरी घनघोर पानी पेरपछि सुरु हुने रोपाइँको चहलपहल ज्यादै महत्वपूर्ण हुन्छ । यसरी छेउकुनाका झार–बुट्यान खुर्किएर र बाँझो खनेर धान रोप्न ठिक्क पारिएका खेतका गह्राहरू । पर्म लाउने–तिर्ने मेसोमा त्यसदिन हाम्रो घरमा भेला भएका लाठे र रोपाहारहरू । यता, नारिएका दुई चार हल गोरूका पछि भिडेका जोत्ने लाठेहरूको होर्रा फर्काउँदाको हप्कीदप्की, उता रोप्ने ठाउँ तयार नहुँदै दिनभरलाई पुग्ने बीउ उखेलीसक्ने हतारोमा रहेका ब्याडेहरूको खैलाबैला । आठ बज्नुअगावै खेतालालाई चिया–खाजाको व्यवस्थापनमा भान्साकोठाभित्र चिसा दाउरा झोसिरहेकी आमा, आना हल गोरू पछाडि झुन्डिएको हलोको अनौसँगै त्यसदिनको सारा ’फिल्ड वर्कको कमान्ड’ आफैँ धानिरहेका बा । को नै फुर्सदमा हुन्थ्यो र उतिवेला ? हो, बाँकी सबैलाई धमाधमको प्रतीक त्यो असारको पन्ध्र थियो । कृषि कर्मको लागि यसमापनि छुट्टै हली, बाउसे र रोपाहार हुन्थे त्यसदिन । लाठेहरूको सिको गरी–गरी हामी खेतको अर्को छेउमा रोपाइँ सुरु गथ्र्यौं । धमिलै पानीमा सही, भेल पसेर बौलाएको बाटोअघिको कुलोमा डुबुल्की मार्दाको त्यसदिनको उन्मुक्ति अर्कै अनुभव हुन्थ्यो ।
हाम्रो देश भौगोलिक भुवनोटका कारण आकाशे पानीमा धानको रोपाइँ गर्नुपर्ने हुन्छ । हाम्रो देशमा साधारणतया जुन १० तारिखवाट वर्षा सुरु हुने भनिएको छ । यसमा जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ । सो समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्छ । सामान्यतया सरदर वर्षा भत्राले स्थान विशेषको लामो समयको (करिब ३० वर्ष) औसत वर्षालाई बुझिन्छ । सरदर वर्षाको ९० प्रतिशतदेखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सोभन्दा कम र बढी वर्षा भएमा क्रमशः न्यून वा अधिक वर्षा भएको मनिन्छ ।
मनसुन हुनुभन्दा पहिला नेपालमा वायु पश्चिमबाट पूर्वतिर बहन्छ । मनसुन सुरु भए पनि पानी नपरेको जिज्ञासा विभागमा धेरै आइरहेकाले मनसुनी वायु क्रमिकरूपमा पश्चिमतर्फ सर्दै विस्तारै गति लिने क्रममा रहेकाले अब वर्षा हुने हुँदा चिन्ता नगर्न किसानलाई मौसमविद्ले आग्रह गरेका छन् । मनसुनी वायु क्रमिकरूपमा पश्चिमतर्फ सर्दै विस्तारै गति लिने क्रममा रहेको छ । यो वर्ष भारतमा सामान्यभन्दा अघि मनसुन सुरु भएको थियो भने नेपालमा पनि छिटो मनसुन सुरु हुने अनुमान गरिएको थियो ।
तर, त्यसको ठीक उल्टो केही दिन ढिला गरी मनसुन प्रवेश गरेको छ । मनसुन ढिलो प्रवेश गरी सक्रिय बत्र नसकेको भए पनि वायुमण्डलको वातावरण धेरै राम्रो रहेकाले आगामी दिनमा वर्षा हुने सम्बन्धित क्षेत्रका मौसमविद्ले बताए । मौसम विद्का अनुसार एक साताअघि बंगालको खाडीमा न्यूनचापीय क्षेत्र कडा भएकाले बढी पानी पर्यो । जसका कारण नेपालमा मनसुन शक्ति कमजोर पायो । अब केहीदिन भित्रमा मौसम सक्रिय हुने सम्बन्धित क्षेत्रको दाबी रहेका छ ।
अन्त्यमा भन्नुपर्दा हाम्रो देश कृषि प्रधान हो । यहाँका दुई तिहाईभन्दा बढी जनसंख्या कृषि पेशामा आश्रित रहेका छन् । यहाँ कृषकहरूको भनाइ रहेको छ असारे झरीले धानको रोपाईं राम्रो होस, त्यो झरीको पानीले हाम्रो दुःख कस्ट पनि बगाओस् अनि धानको बीउसँगै एकअर्कासँग माया प्रेम र सद्भावको पनि बिजारोपण गर्न सकौँ, माया बढिरहोस् । घरका छानाहरू पानीका थोपाले बजिरहँदा आशाको सन्देश अनि मायाको प्रवाह होस्, चुहिने छानाहरू टालिँदै जाऊन् अनि तुहिने सपनाहरू जागृत हुँदै जाउन् ।
जे होस् असारलाई बुझ्न हामीले शब्दको शल्यक्रिया गरिरहन जरुरी छैन्, दहीचिउरा खाने, धान रोप्ने समय असारको १५ लागेपछि बादलहरू पूर्णरूपले परिपक्क भएर पानीका धाराहरू वर्षाउँदछन्, माटोहरू पानीमा रुझेर हिलोको स्वरूमा कमलो हुदँछन् अनि तिनै कमलो माटोमा हामीले छुपुछुपु धानका बिरुवाहरू रोप्दछौँ । हिलोसँग खेल्दै, पानीसँग पौँठेजोरी खोज्दै खेतका आलीमा चप्पल खोलेर खेत भित्र छुपुछुपु धान रोप्न छिरेका खेतालाहरूको खाजा पनि खेतमै ल्याइदिइने चलन छ ।
तराईतिर यसरी खेतमा खेतालालाई लगिदिएको खाजालाई जलखाइ भनिन्छ, समामन्यतया जलखाईमा गहुँको पिठोको मोटो रोटी र नुन तेल खोर्सानी अचार आदि लगिदिने चलन छ । तराईतिर खेतका मालिक आफैँ धान रोपाँईमा खेत आईपुगे भने सबैजना खेतालाले जग्गाधनीलाई हिलो छ्यापेर भगाउने चलन छ । यसैकारणले पनि होला असारको १५ लाई राष्ट्रिय धान दिवसका रूपमा नेपाल सरकारले मनाउन थालिएको हो । सकेसम्म आज एकफेर धानको बिरुवा अनि हिलोसँग पौँठेजोरी खेलेर हेराैँ, नेपाली परिवेशको जीवनशैली प्रकृति र माटोसँग अत्यन्त निकट छ ।
प्रतिक्रिया