काठमाडौँ । वैदेशिक रोजगारीमा लगाइदिने प्रलोभन देखाएर ठगी गर्ने एक महिला जेल चलान भएकी छन् । वैदेशिक रोजगारी सम्बन्धी ठगी मुद्दामा सर्वोच्च अदालतको २०७५ साल असार २६ को फैसलाले एक वर्ष ६ महीना कैद र रु एक लाख ५० हजार जरिवाना हुने ठहर भई फरार हुँदै आएकी पाल्पाको खानीगाउँ निवासी टीकाकुमारी थापा आज जेल चलान भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले जनाएको छ ।
उनलाई काठमाडौँको महाराजगञ्जबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले आजै जेल चलान गरिएको हो । कैद भुक्तानका लागि उनलाई आजै केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको सिआइवीका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।
उनले २०६९ सालमा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने ईजाजतपत्र बिना नै वैदेशिक रोजगारका लागि साइप्रस पठाईदिने भन्दै रकम ठगी गरेकी थिइन् । अदालतले थापालाई दोषी ठहर गर्दै उक्त सजायसहित जाहेरवालालाई बिगो र हर्जनासमेत गरी कूल रकम रु १४ लाख २५ हजार तिर्नुपर्ने फैसला गरेको थियो ।
प्रतिक्रिया