इपिएस परीक्षामा १२ हजार ९ जना उत्तीर्ण

काठमाडौं । कोरियन भाषाको रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षामा १२ हजार ९ जना उत्तीर्ण भएका छन् । गत जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले बिहीबार राति सार्वजजनिक गरेको हो । यो वर्ष उत्पादनमुलक क्षेत्रमा नौ हजार एक सय ३३ र कृषि तथा पशुपालनको क्षेत्रमा दुई हजार आठ सय ७६ जना पास भएको इपीएस शाखाले जानकारी दिएको हो ।

यो वर्ष कोरियाले कोटाभन्दा दुई हजार बढी परीक्षार्थीलाई उत्तीर्ण गराएको छ । उत्तीर्ण भएकाहरूलाई सिप परीक्षणमार्फत छनौट गरिने शाखाले जनाएको छ । कोरियाले यो वर्ष उत्पादनमुलक क्षेत्रतर्फ सात हजार ५० र कृषि तथा पशुलापन क्षेत्रतर्फ तीन हजार गरी १० हजार ५० जनाको लागि कोटा खुलाएको थियो ।

यस वर्षको भाषा परीक्षाका लागि आवेदन दिएका ९२ हजार तीन सय ७६ परीक्षार्थीमध्ये ८४ हजार दुई सय १५ जना मात्रै परीक्षामा सहभागी भएका थिए । परीक्षाका लागि ७७ हजार तीन सय ९३ पुरुष र १४ हजार नौ सय ८३ जना महिला परीक्षार्थीले आवेदन दिएका थिए । उत्पादनमुलक क्षेत्रका लागि ६३ हजार चार सय ८७ जना र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार आठ सय ८९ जना परीक्षार्थीले आवेदन दिएका थिए ।

पछिल्लो केही वर्षयता नेपाली युवाको आकर्षक गन्तव्य बनेको कोरियाली रोजगारको लागि खुलाएको भाषा परीक्षामा आवेदन दिने युवाको संख्या वर्षेनी बढ्दै गएको छ ।

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपिएस)अन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । एक दशकका अवधिमा विभिन्न चरणमा सञ्चालित भाषा परीक्षामा चार लाख ८३ हजार ४९ जनाले सहभागिता जनाएको शाखाले जनाएको छ । हालसम्म कोरियामा ५८ हजार सात सय नौ जना नेपालीले रोजगारीको अवसर प्राप्त गरेका इपिएस शाखाले जनाएको छ ।

प्रतिक्रिया