काठमाडौं । प्रत्येक काममा सफलता प्राप्त गर्नका लागि लगनशीलता र निरन्तरता अनिवार्य हुन्छ । रुचिको विषयमा परिपक्वता ल्याउने भनेकै अनवरत् संघर्षले हो । यसैको एउटा उदाहरण हुन् नृत्यांगना सुनिता बस्नेत । लामो समयदेखि नृत्य निर्देशनको क्षेत्रमा लागेकी सुनिता यस क्षेत्रमा परिचित छन् । उनी भन्छिन्, ‘आफ्नो रुचिको विषय भएर होला समय बितेको पत्तै भएन ।’
आधा दर्जन चलचित्रमा काम गरिसकेकी सुनिता नृत्य प्रशिक्षक पनि हुन् । उनले हजारभन्दा बढीलाई नृत्यको क्षेत्रमा लागेर आत्मनिर्भर हुन सक्ने बनाएको जिकिर गरिन् । उनले प्रशिक्षण दिएका प्रशिक्षार्थी अहिले चलचित्र र म्युजिक भिडियोमा सक्रिय रूपमा लागिरहेका छन् ।
संघ, संस्थाको वार्षिकोत्सव होस् वा सांस्कृतिक कार्यक्रमदेखि म्युजिक भिडियो, टेलिचलचित्र र ठूलो पर्दाको चलचित्रसम्ममा दिनानुदिन सुनिताको माग बढिरहेको छ । तर, विडम्बना पर्दा पछाडि काम गर्ने नृत्य निर्देशक सुनिताको व्यथा भने बेग्लै छ । आपूmभित्र गुम्सिएको पीडा पोख्दै उनी भन्छिन्, ‘चलचित्रमा नृत्य निर्देशकको भूमिका अति महत्वपूर्ण हुन्छ, यो सबैले बुझेका छन् । तर, काम सक्किएपछि अपवादबाहेक सबैले बिर्सन्छन् ।’
काठमाडौं, कुलेश्वरमा ०४३ सालमा जन्मिएकी सुनिता मध्यम वर्गीय परिवारमा हुर्किएकी हुन् । पढाइमा भन्दा पनि नृत्यमा रुचि भएकी सुनिताले कुमुदिनी हाइस्कुलबाट एसएलसी पास गरिन् भने महेन्द्ररत्न क्याम्पस ताहाचलबाट स्नातकोत्तर गरिन् ।
समयनुसार नृत्यमा विविधता आए पनि उनलाई मोर्डन र साल्सा नृत्य मनपर्छ । चलचित्र र म्युजिक भिडियोमा भने गीतको माग मुताविकको फ्रेममा दृश्य कैद गर्न उनी सिपालु छन् ।
नृत्य निर्देशनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल सुनिताले निरन्तर यसैमा सक्रिय रूपले लागिरहने सोच बनाएकी छन् । ‘आफ्नो कडा मिहिनेत र श्रीमान श्याम खत्रीको सहयोगले आजको स्थितिमा आइपुग्न सफल भएकी हुँ, ‘उनले भनिन् ।
प्रतिक्रिया