कार्की विश्व शान्ति ह्विलचियर पदयात्रामा

दार्चुला । विश्व शान्ति ह्विलचियर पदयात्री दार्चुलामा पुगेका छन् । विश्व शान्तिको कामनाको साथ नेपालको पहिचान र नेपालीको गरिमालाई उच्च राख्न भन्दै विश्व शान्ति ह्विलचियर पदयात्री तेजबहादुर कार्की दार्चुला पुगेका छन् ।

विश्वभरि घुम्ने सपना बोकेका ओखलढुंगा मलुङ गाउँपालिका–४ का विश्व शान्ति ह्विलचियर पदयात्री कार्की देशका ६३ जिल्लाको भ्रमण गरी ६४औँ जिल्लाको रूपमा दार्चुला आइपुगेका हुन् ।

०६१ जेठ ४ मा काठमाडौंमा पत्रकार सम्मेलन गरी सुरुआत गरेको कार्कीको विश्व शान्ति ह्विलचियर पदयात्रा हालसम्म ६४ जिल्लामा सम्पन्न भएको उनको भनाइ छ । नेपालका ६४ जिल्लासँगै विश्वका ३४ राष्ट्रको समेत भ्रमण सकेर अहिले ७७ ओटै जिल्लाको भ्रमण पूरा गर्ने सिलसिलामा दार्चुला आइपुगेका हुन् । ‘बुद्ध जन्मस्थल शान्तिको देश भनेर चिनिने हाम्रो देश नेपाललाई विश्वसामु चिनाउने उद्देश्यका साथ विश्व यात्रा गर्न लागेको हुँ’, कार्कीले भने । ह्विलचियर पदयात्री कार्की सहयोगी प्रदीप तामाङको साथमा अहिले ७७ ओटै जिल्लाको भ्रमण गरिरहेका छन् ।

कार्की ०५७ साल ३० माघको त्रिशुलीमा भएको बस दुर्घटनामा ज्यान जोगाउन सफल बसचालकसमेत हुन् । उनले ०५७ सालको धादिङको त्रिशुली नदीमा बस खस्दा यात्रुहरूलाई बचाउन खोज्दा कार्कीले आफ्नो ज्यान त जोगाए तर दुबै खुट्टा गुमाए ।

अप्ठेरो एवं साघुँरो सडकका कारण २०५७ सालमा भएको बस दुर्घटनामा ३२ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए । उक्त दुर्घटनामा परेको बसका चालक कार्की बच्न त सफल भए तर आफ्ना दुबै खुट्टा भने गुमाउन पुगे । बसमा सवार सबै यात्रुलाई बचाउन खोजे पनि उनले ३२ जनालाई बचाउन सकेनन् ।

त्रीशुली नदीमा खसेको बस चालक कार्कीले सडक नै अप्ठेरो र निकै जोखिमपूर्ण भएकाले त्यो क्षेत्रमा अहिले समेत थुप्रै दुर्घटना हुने गरेका बताएका छन् । आफूले ज्यान जोगाए पनि अपांगता जीवन बिताउनु परेकाले उक्त सडकको सुधारका लागि सन्देश दिनसमेत आफ्नो ह्विलचियर पदयात्रा थालेको बताएका छन् ।

प्रतिक्रिया