काठमाडौं । सरकारले स्वास्थ्य नीति–२०७६ पारित गरेको छ । छाता स्वास्थ्य नीतिको रूपमा हेरिएको राष्ट्रिय स्वास्थ्य नीति–२०७६ गत १० जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले पास गरेको थियो । यद्यपी निर्णय भने ठिक एक महिनापछि सार्वजनिक भएको हो । ‘यो नीति संघीय संरचनाअनुसार बनाइएको छ ।
यसमा २५ वटा स्वास्थ्यका नीतिहरू समेटिएका छन्,’ स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले भनिन्, ‘राष्ट्रिय स्वास्थ्य नीति २०७६ पारित भएको छ, बुधबार मन्त्रालयमा पत्र आयो । तर नीति पास भएको मिति भने जेठ १० गते छ ।’ उनले थपिन्, ‘अब संघीय सरकारले यही नीति टेकेर आफ्नो नीति बनाउन पनि सक्छन् ।’ नयाँ स्वास्थ्य नीतिको प्रस्ताव स्वास्थ्य मन्त्रालयले गत चैत १ मा मन्त्रिपरिषद्मा पठाएको थियो । चैत चार गतेका दिन मन्त्रिपरिषद्ले आफू अन्र्तगतको सामाजिक समितिमा छलफलका लागि पठाएको थियो ।
१७ चैतमा सो नीतिको मस्यौदामा व्यापक छलफल भएपछि निर्णयका लागि पुन मन्त्रिपरिषद्मा पठाएको थियो । संघीयता लागू भएपछि स्वास्थ्यको संघीय संरचनाअनुसार स्वास्थ्य नीति बनाइएको छ । स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. विकास देवकोटाले यो नीतिले स्वास्थ्य सेवा सुविधाको विकास र विस्तारमा मद्दत पुग्ने बताए । उनले भने, ‘संघीयता अनुरूप नीति बनाएको छ । आधारभूत स्वास्थ्य सेवा र स्वास्थ्य बिमाको सुनिश्चित गरिएको छ ।’ त्यस्तै सचिव डा. चौधरीले धेरै प्रयासपछि मात्रै नीति आएको बताइन् । उनले भनिन्, ‘धेरै लामो प्रयास पछि यो नीति आएको छ । अब स्वास्थ्यमा नीतिगत रूपमा कुनै अलमल हुने छैन भन्ने विश्वास छ ।’
उक्त नीतिमा आयुर्वेदको विकास गरी स्वास्थ्य पर्यटन भित्र्याउने, स्वास्थ्यमा लगानी बढाउने, देशभित्र र बाहिरका सबै नेपालीलाई समेट्ने लगायतका २५ नीति रहेको छ ।
प्रतिक्रिया