नेदरल्यान्ड्स क्वार्टरफाइनलमा

एजेन्सी, फ्रान्स । नेदरल्यान्ड्स फिफा महिला विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ । फ्रान्सको रिनमा भएको प्रिक्वार्टरफाइनलमा लिकी मार्टिन्सले दुई गोल गरेपछि नेदरल्यान्ड्सले जापानलाई २–१ ले हरायो । खेलको १७औँ मिनेटमा मार्टिन्सले गोल गर्दै नेदरल्यान्डलाई अग्रता दिलाएकी थिइन् । ४३औँ मिनेटमा युयी हासेगावाले गोल गर्दै जापानलाई खेलमा फर्काइन् ।

पहिलो हाफ एक–एकको बराबरीमा रोकिए पनि दोस्रो हाफको अन्तिम समयमा डच टोलीले पेनाल्टी पायो । पेनाल्टीलाई पनि मार्टिन्सले नै गोलमा परिणत गरेपछि नेदरल्यान्ड्स अन्तिम आठमा पुग्न सफल भयो । क्वार्टरफाइनलमा नेदरल्यान्ड्सले इटालीको सामना गर्नेछ । इटालीले चीनलाई २–० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो ।

जापानका प्रशिक्षक आसाको ताकाकुराले खेलको अन्तिम मिनेटमा दिइएको पेनाल्टकिा कारण आफ्नो टोली फ्रान्समा जारी महिला विश्वकप फुटबलबाट बाहिनु पीडादायी भएपनि यसले टोलीलाई धेरै पाठ सिकाएको बताएका छन् । २०११ को विश्वकप विजेता जापान मंगलबार नेदरल्यान्डस्सँग २–१ ले निराश हुँदै प्रतियोगितबाट बाहिरिएको थियो ।नेदरल्यान्डस्की लेइकी मार्टिन्सले ९० औ मिनेटमा पेनाल्टीको सदुपयोग गरेकी थिइन् । भिभाने मेइडिमाको प्रहार जापानकी कप्तान साकी कुमागईको हातमा लागेपछि नेदरल्यान्डस्ले पेनाल्टीको अवसर पाएको थियो ।

यसअघि मार्टिन्सकै गोलमा नेदरल्यान्डस्ले गोल गरेपनि युए हासागेभाले जापानलाई खेलमा फर्काएकी थिइन् । ‘यो खेलको नतिजा हाम्रो पक्षमा आउनु पर्ने थियो ।हामीले गोलका धेरै भन्दा धेरै अवसर र्सिजना गरेपनि त्यसलाई सदुपयोग गर्न सकेनौँ,’ताकाकुराले भने, ‘त्यसको नतिजा हामी प्रतियोगिताबाटै बहिरियौँ । भिडियो साहायक रेफ्री(भिएआर)को प्रयोगमा कुनै पछुतो छैन । कहिले काहीँ भिएअरबाट पीडादायी निर्णय आउँछ ।त्यो कहिले हाम्रो टोली त कहिले अन्य टोलीको पक्षमा । आज नतिजा नेदरल्यान्डस्को पक्षमा गयो । हामीले हार स्वीकार गर्दै आगामी दिनका बारेमा सोच्नुपर्छ ।’

चीन बाहिरियो
इटालीसँग पराजित भएपछि चीन फिफा महिला विश्वकपको प्रि क्वाटरफाइनल चरणबाट बाहिरिएको छ । चीनले इटलीसँग २–० गोलको पराजय ब्यहोरेको हो । क्वार्टरफाइनलमा इटालीले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । खेलको १५औँ मिनेटमा भ्यालेन्टिना जियासिन्टीले गोल गरी इटलीलाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा एक गोल गरेको इटलीले दोस्रो हाफको सुरुमै अर्को गोल गरेको हो । आउरोरा गाल्लीले आलिया गुआग्नीको पासमा गोल गरेकी हुन् । त्यसपछि गोल हुन सकेन र इटाली अन्तिम आठमा पुग्यो ।

प्रतिक्रिया