बागलुङ । केही दिनदेखि सामाजिक सञ्जालमा गायक प्रकाश सपुतमाथि ‘गलबन्दी च्यातियो’ गीतका बारेमा गरिएको अपमानजनक र तुच्छ अभिव्यक्तिले जातीय छुवाछुतलाई प्रोत्साहन गरेको भन्दै आपत्ति जनाइएको छ ।
गीतको लय जुधेको विषयलाई लिएर गायक सपूतमाथि सामाजिक सञ्जालमा दिनेलाई कारबाहीको माग गर्दै विश्वकर्मा समाज बागलुङले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सिंगो दलित समुदायप्रति अपमान गरिएको जनाएको छ । विज्ञप्तिमा गायकको गायकीलाई जातीय छुवाछुतसँग जोडेर दलित समुदायप्रति गरिएको अपमान गर्ने गरी टिप्पणी गर्ने सुवास मंगोललगायत व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन समाजले माग गरेको हो ।
विज्ञप्तिमा ‘नेपालको संविधान ०७२ र जातीय विभेद तथा छुवाछूत कसुर सजाय ऐन, ०६८ अनुसार कारबाही गर्न नेपाल सरकारसमक्ष माग गर्दछौँ,’ उल्लेख छ । जातीय तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी सामाजिक सञ्जालमा विचार, टिप्पणी नराख्न पनि समाजले सबैसँग आग्रह समेत गरेको छ । ‘कहीँ कतैबाट सामाजिक सद्भाव भड्किने खालका गतिविधि हामीलाई मान्य छैन,’ समाजका संयोजक ताराबहादुर विश्वकर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
गायक तथा सर्जक सपूतको मौलिक लोकदोहोरी गीत ‘गलबन्दी’ को लय गायक शम्भु राईको देउसीभैलो गीतको लयसँग मिलेको भन्दै केही साताअघि विवाद बाहिरिएको थियो । गायक तथा संगीतकार राईले सपूतलाई लय चोरीको आरोप लगाउँदै आएका छन् । सोही विषयलाई लिएर सपूत र राईको पक्ष–विपक्षमा सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ । जातीय विभेद झल्कने गरी सपूतमाथि गरिएको दुव्र्यवहारको विषय ससंद्मा समेत पुगेको थियो ।
दलित समुदायका केही सासंदले उक्त घटनाप्रति आपत्ति जनाउँदै कानुनी कारबाहीको माग गरेका थिए । बागलुङको धम्जामा जन्मिएका गायक सपूत र शान्तिश्री परियारले गाएको लोकदोहोरी गीत ‘गलबन्दी’ अहिले सर्वाधिक चर्चामा छ ।
टुंगियो ‘गलबन्दी’ विवाद
केही समयदेखि गायक शम्भु राई र प्रकाश सपूतबीच जारी विवाद टुंगिएको छ । लोकगीत ‘गलबन्दी च्यातियो’ गीतलाई लिएर सामाजिक सञ्जालमा आइरहेका समुदायगत विभेदमाथि सांसदमा समेत बहस भएको थियो । गायक राईले ०४८ सालमा आफूले गाएको ‘देउसी भैलो’ गीतको लय ‘गलबन्दी’ सँग मिलेको भन्दै नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा मुद्दा दर्ता गरेका थिए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले दुवै गायकलाई सहमतिमा आउनका लागि तीन दिनको समय दिएको थियो । यहीबीचमा गायकद्वय राई र सपूतबीच सहमति भएको हो । सहमतिअनुसार गीतमा ‘क्रिएसन शम्भु राई’ र ‘रि–क्रिएसन’ प्रकाश सपूत राखिने भएको छ ।
प्रतिक्रिया