दार्चुला । शिक्षक सेवा आयोगले प्राथमिक तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्न थालेको छ । सुरुमा मावि तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्न थालेको शिक्षक सेवा आयोगले अहिले प्राथमिक तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्न लागिएको हो ।
गत वर्षको १३ असोजबाट लिइएको प्राथमिक तहको लिखित परीक्षा करिब आठ महिनापछि लिखित परीक्षाको नतिजा सार्वजनिक गर्न थालिएको हो । सुरुमा शिक्षक सेवा आयोगले दार्चुलासहित तीन जिल्लाको नतिजा सार्वजनिक गरेको छ । शिक्षक सेवा आयोगले दार्चुला, ताप्लेजुङ र पाँचथर जिल्लाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
शिक्षक सेवा आयोगले सार्वजनिक गरेको नतिजाअनुसार प्राथमिक तहको लिखित परीक्षामा दार्चुलाबाट १ सय २४ जना उत्तीर्ण भएका छन् । शिक्षक सेवा आयोगले यो वर्ष जिल्लागत रूपमा परीक्षा गरेकाले सोहीअनुसार जिल्लागत रूपमै नतिजा सार्वजनिक गरेको हो । दार्चुला जिल्लामा खुला ४६ जना, महिला १२, आदिवासी जनजातिअन्तर्गत १० जना, मधेसी आठ जना, दलित तीन जना, अपांगता दुई जना र पिछडिएको क्षेत्रमा दुई जनागरी जम्मा ८३ जनाको पदका लागि शिक्षक सेवा आयोगले विज्ञापन खुला गरेको थियो ।
खुला तथा आरक्षण कोटा गरी दार्चुला जिल्लामा जम्मा ८३ पदका लागि विज्ञापन गरेको भए पनि १ सय २४ जना उत्तीर्ण भएका छन् । यस्तै एक जनाको परीक्षासमेत रद्द गरिएको छ । परीक्षार्थीलाई दिइएको निर्देशन विपरीत परीक्षकलाई प्रभावित पार्ने गरी उत्तरपुस्तिका लेखेको भन्दै शिक्षक सेवा आयोगका अनुसार दार्चुलाका ७४१०२०९९ रोल नम्बर भएका परीक्षार्थीको परीक्षा रद्द गरिएको हो । दार्चुलाबाट उत्तीर्ण भएका १ सय २४ जनाबीच अन्तर्वार्ताको माध्यमबाट प्रतिष्पर्धा भई जम्मा ८३ जनाले मात्रै भविष्य निर्धारण अर्थात् शिक्षण पेसाको यात्रा तय गर्नेछन् ।
उत्तीर्ण भएकाहरूको अन्तर्वार्ता शिक्षा विकास तथा समन्वय इकाइ डडेल्धुरामा ३० असारदेखि ३१ गतेसम्म गरिनेछ । क्रम संख्याअनुसार तीन चरणमा अन्तर्वार्ता लिइने लोक सेवा आयोगले जनाएको छ । यस्तै लिखित परीक्षाको नतिजा चित्त नबुझी पुनर्याेग गराउन चाहानेहरूले १६ असारभित्र आयोगको कार्यालयमा २ सय ५० को भौचर भरी प्रवेश पत्रसहित सम्पर्क गर्नसमेत आयोगले सूचित गरेको छ । यसअघि शिक्षक सेवा आयोगले मावि तह र निमावि तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको थियो । गत वर्षको असोज ११ मा मावि र १२ गते निमावि तहको तथा १३ गते प्राथमिक तहको परीक्षा लिइएको थियो । दार्चुला जिल्लाबाट ८३ पदका लागि १८ सय ३७ जनाले परीक्षा दिएका थिए ।
यस्तै पाँचथरमा १ सय ८४ पदका लागि २ सय ५६ जना उत्तीर्ण भएका छन् भने ताप्लेजुङमा १ सय ९९ सय पदका लागि २ सय ८४ जना उत्तीर्ण भएका छन् । उम्मेदवारले आफ्ना नतिजा थापा पाउन टिएससी खाली छोडेर आफ्नो रोल नम्बर थिचेर ३१००७ मा पठाउन सकिने जनाएको छ ।
प्रतिक्रिया