काठमाडौं । हिजोआज सेतो दुबी मानिसमा बाक्लै देखिन थालेको छ । यथेष्ट जानकारीका अभावमा कतिपय परिवारमा यो कलहको कारण पनि बन्ने गरेको पाइएको छ ।
आफ्नै परिवारकै सदस्यले पनि नराम्रो दृष्टिकोणले हेर्ने गरेका कारण आफूहरूलाई हिनताबोध हुने गरेको दुबी पीडितहरूले बताएका छन् । मंंगलबार २५ जुन, अर्थात् विश्व दुबी सचेतना दिवसका अवसरमा बानेश्वरस्थित क्युटिस केयरले गरेको जनचेतनामूलक अन्तक्रिया कार्यक्रममा पीडितहरूले यस्तो बताएका हुन् । कार्यक्रममा सेतो दुबी भएका व्यक्तिहरूले आफ्ना आफ्ना अनुभवहरू साटेका थिए ।
२० वर्ष अघि सेतो दुबी भएका कलाकार पुरन जोशीले दुबीको उपचारका लागि आफू धेरै ठाउँ भौँतारिएको भन्दै यसले मानसिक पीडा दिने बताए । उनले तीन वर्षदेखि लगातार औषधि गरेर अहिले पूर्ण रूपमा निको भएको अनुभव सुनाए । यस्तै राजेन्द्र बस्नेतले दुबीले शारीरिक पीडा दिने नभए पनि समाजमा घुलमिल हुन अप्ठेरो पर्ने बताए । रोग नभए पनि अरूभन्दा भिन्न देखिने हुनाले पनि हिनताबोध हुने उनको भनाइ छ ।
उनी पनि हाल उपचारमा छन् । कार्यक्रममा सहभागीले सेतो दुबी सर्छ भनेर परिवार र समाजले छिःछि गर्ने गरेको गुनासो गरेका थिए । दुबी प्रायः शरीरका धेरै चलिरहने अंगहरू, आँखा, ओठ, कम्मर, कुइनो, घुँडामा बढी देखा पर्छ । छालारोग विशेषज्ञ डा. धर्मेन्द्र कर्णले दुबी सरुवा रोग नभएको जानकारी दिँदै उचित उपचार गरेको खण्डमा निको हुने बताए ।
त्यस्तै डा. कर्णले दुबीकै कारण पतिपत्नी सम्बन्ध विच्छेद गरेका बिरामीले आफूसँग आएर उपचार गराएको बताए । उनले भने,‘दुई जना बिरामीको दुबीकै कारण सम्बन्ध विच्छेद भएछ, उहाँहरूले मलाई भनेअनुसार विवाह भएको १० वर्षसम्म सँगै भए पनि पतिपत्नी भएर नबसेको र पछि डिभोर्स नै भएको बताएका थिए ।’
उनले थपे, ‘हाम्रो नेपाली समाजमा पापका कारण भएको सरुवा रोगका रूपमा लिने भ्रम छ । अझै त्यस्तो समस्या भएका व्यक्तिलाई विभिन्न नामले बोलाएर हिनताबोध समेत गराइन्छ, यसो गरिनु गलत हो । दुबी कुनै पाप नभएर पूर्ण रूपमा उपचार हुने छालाको एक समस्या हो ।’
शरीरका कुनै पनि भागमा सेतो दाग भएमा वा आफ्नो सौन्दर्य बिग्रिएका कारण कसैले केही भन्छ कि नराम्रो दृष्टिकोणबाट पो हेरिरहेको छ कि भन्ने लाग्छ भने अब दुबी आएकै कारण हिनताबोध भने लिनु पर्दैन । डा. कर्णले ३० वर्षअघि यसको कुनै उपचार नभए पनि अहिले नेपालमा सहजरूपमा उपचार सम्भव भएको बताए ।
नेपालमा दुबी पीडितको यकिन तथ्यांक नभए पनि चिकित्सकका अनुसार कुल जनसंख्याको दुई प्रतिशतमा सेतो दुबी भएको आंकलन गरिएको छ । ‘धेरै नेपाली सेतो दुबीबाट प्रभावित छन्,’ डा. कर्णले भने, ‘सेतो दुबी रोग होइन, यसले स्वास्थ्यमा कुनै नोक्सान पु¥याउँदैन, यसको एउटै मात्र बेफाइदा हेर्दा नराम्रो देखिनु हो ।’ ‘सेतो दुबी आफ्नै प्रतिरोधात्मक शक्ति बढी भएका कारणले आउने समस्या हो । यसले शरीरलाई हानि गर्दैन यसको उपचार जरुरी छैन, डा. कर्णले भने ।’ उनका अनुसार छालालाई रङ प्रदान गर्ने मेलानोसाइट भन्ने कोष कम हुन्छ तब सेतो दुबी देखा पर्छ । यो कोषले जति रङ फाल्यो मानिस त्यति कालो हुन्छ । त्यो रङ कम भयो भने गोरो हुने हो ।
डा. कर्णले पछिल्लो समय सेतो दुबी नेपालमा पनि बढ्दै गएको बताए । त्यस्तै उनले दुबीलाई जति सानो उमेरमा उपचार ग¥यो त्यति छिटो निको हुने जानकारी दिए ।
नेपालमै सबै उपचार उपलब्ध
नेपालमा सेतो दुबीका सबैखाले उपचार उपलब्ध छन् । सामान्यतः यसको उपचार औषधिको माध्यमबाट गरिन्छ भने फोटोथेरापीबाट पनि दुबी हटाउन सकिन्छ । डा. कर्णले भने,‘औषधि तथा फोटोथेरापीले पनि उपचार सम्भव नभएको खण्डमा सर्जरीमार्फत उपचार गरिन्छ तर फोटोथेरापी साधारण उपचार भन्दा धेरै महंगो छ ।’
के गर्न हुन्छ, के हुँदैन ?
सेतो दुबी हुने व्यक्तिले चोटपटक लाग्ने काम गर्नुहुँदैन भने टाइट कपडा तथा जुत्ता पनि लगाउनुहुँदैन । चिकित्सकका अनुसार सेतो दुबी भएका मानिसले घाममा बस्नु फाइदाजनक मानिन्छ । तर, ११ देखि २ बजेको घामले छालालाई असर गर्ने हुँदा केही सजगता अपनाउनुपर्ने हुन्छ ।
प्रतिक्रिया