अर्जेन्टिना क्वार्टरफाइनलमा

एजेन्सी, ब्राजिल । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’बाट अर्जेन्टिना उपविजेता बन्दा कोलम्बिया विजेताको रूपमा क्वार्टरफाइनलमा प्रवेश गरेको हो । आइतबार राती भएको खेलमा अर्जेन्टिनाले आमन्त्रित राष्ट्र कतारमाथि २–० को जित निकालेको थियो ।

पहिलो खेलमा कोलम्बियासँग पराजित भएको अर्जेन्टिना दोस्रो खेलमा पाराग्वेलाई बराबरीमा रोकेको थियो । कतारविरुद्ध अर्जेन्टिनका लौटारो जाभियर मार्टिनेजले चौथो मिनेटमै गोल गर्दै सुरुआती अग्रता दिलाए । कतारका डिफेन्डरले आफ्नै पेनाल्टी क्षेत्रबाट क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै मार्टिनेजले गोल गर्न सफल भए । पहिलो हाफमा १ गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा पनि एक गोल थपेको थियो ।

८२औं मिनेटमा सर्जियो अग्युरोले पाउलो डिबालाको पासलाई सदुपयोग गर्दै टिमका लागि दोस्रो गोल गरेर जित निश्चित गरे । समूहको अर्को खेलमा कोलोम्बियाले पाराग्वेलाई १–० ले हरायो । कोलोम्बियाको जितमा गुस्ताभो क्वेलारले एक मात्र गोल गरे । जितसँगै कोलम्बिया पनि क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

लगातार तेस्रो जित दर्ता गरेको कोलोम्बिया अंक तालिकाको शीर्ष स्थानमा रह्यो । प्रतियोगितमा सहभागी १२ टोलीलाई ३ समूहमा विभाजन गर्दै गरिएको छ । जहाँ प्रत्येक समूहका विजेता र उपविजेता टोलीसहित दुई उत्कृष्ट तेस्रो स्थानको टोली पनि क्वार्टरफाइनल प्रवेश गर्नेछन् एसियाली राष्ट्र, कतार र जापानलाई भने प्रतियोगितमा अतिथि टोलीका रूपमा सहभागी गराइएको थियो । अर्जेन्टिनाले क्वार्टरफाइनलमा भेनेजुएलाको सामना गर्नेछ ।

खेलको चौथो मिनेटमै मार्टिनेजले बललाई जाली चुमाएसँगै अर्जेन्टिनाले खेलमा अग्रता लिएको थियो । ८२औं मिनेटमा अग्विरोले गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरेका थिए । ‘सुरुआतमै अग्रता लिएसँगै खेलमा अग्रता लिएसँगै हामी खेलमा हाबी बन्यौ,’ मार्टिनेजले भने, हामीलाई अघिल्लो चरण प्रवेशका लागि जितको विकल्प थिएन र सुखद नतिजाका साथ अन्तिम ८ मा स्थान बनाउन सफल भयौं ।’

प्रतिक्रिया