एकलव्यको ‘पूर्वै चल्नेया रेल’

काठमाडौं । अनमोल शर्माले निर्देशन गरेको चलचित्र ‘एकलव्य’ ले प्रदर्शनी मिति नजिकिँदै गर्दा एउटा गीत सार्वजनिक गरेको छ ।

आगामी १० साउनबाट देशव्यापी प्रदर्शनमा आउने लागेको उक्त चलचित्रको लोक लयमा आधारित ‘पूर्वै चल्नेया रेल’ गीतको भिडियो सोमबार रिलिज गरिएको हो । गायक दम्पत्ति रामचन्द्र काफ्ले र जुनु रिजालको स्वरमा रहेको उक्त गीतमा चलचित्रका अभिनेता सोनाम थापा मगर, अभिनेत्री ओसिन भट्टराई र मोडल सन्ध्या भट्टराईको नृत्य रहेको छ ।

यी दुईको नृत्य आकर्षक बनेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको यो गीतको नृत्य पनि लोक शैलीमै निर्माण गरिएको छ । जसमा एक सयभन्दा बढी कोरस कलाकारलाई गहतराजले नृत्य गराएका छन् । भिडियोलाई ओएसआर डिजिटल युट्युव च्यानलबाट रिलिज गरिएको छ ।

दर्जनभन्दा बढी चलचित्रमा मुख्य सहायक निर्देशक भएर काम गरिसकेका शर्माको ‘एकलव्य’ डेब्यु निर्देशन हो । पारिवारिक प्रेम कथामा आधारित यस चलचित्रले समाजका विविध पक्षलाई केलाएको निर्देशक शर्माले बताए ।

चलचित्रमा कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाईंको गीत÷संगीत, भोजराज देवकोटाको पटकथा संवाद, कृष्ण श्रेष्ठको छायांकन, अर्जुन जिसीको सम्पादन रहेको छ ।

यो चलचित्रमा सोनामसँगै ओसिन भट्टराई, महिला सिलवाल, पुष्कर राउत, सुशील पोखरेल, सुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुनसहितका कलाकारको अभिनय छ । एकलव्यलाई राजेन्द्र दुलाल, सोनाम थापामगर र अभि थापामगरले निर्माण गरेका हुन् ।

प्रतिक्रिया