काठमाडौं । मेट्रो रेडियोलोजी एन्ड इमेजिङ प्रालि (एमआरआई सेन्टर) ले सरकारी दरभन्दा सस्तोमा रेडियोलोजी सेवा उपलब्ध गराउन सुरु गरेको छ । २०५६ देखि रेडियोलोजीअन्तर्गतका एक्सरे, अल्ट्रासाउन्ड, सिटी स्क्यान र एमआरआई सेवा निजीस्तरबाट उपलब्ध गराउँदै आएको थियो ।
सेन्टरका प्रशासकीय अधिकृत रवीन बस्न्यातले एमआरआई सेवा सात हजार, सिटी स्क्यान दुई हजार ६ सयदेखि नौ हजार १ सयसम्म, अल्ट्रासाउन्ड ८ सय, मेमोग्राफी एक हजार ५ सय र डेन्टल ओपिजी ९ सयमा उपलब्ध गराउन सुरु गरिएको जानकारी दिए । ती सेवाको दर सरकारी अस्पतालले प्रदान गर्ने दर भन्दा सस्तो रहेको बताइएको छ ।
सेन्टरका गतिविधिका बारेमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले रेडियोलोजी सेवा नाफामूखीभन्दा गरीब जनताको सेवा भावले सञ्चालन भएको जानकारी दिए । न्याम्सअन्तर्गतको वीर, त्रिविवि शिक्षण, निजामती लगायतका अस्पतालमा अहिले पनि विशेष गरी एमआरआई सेवा लिन बिरामीले कम्तिमा एक हप्ता पालो कुर्नुपर्ने बाध्यता छ ।
‘बिरामीले आफूले चाहेका समयमा तत्काल रेडियोलोजी सेवा उपलब्ध गराउनु हाम्रो ध्येय छ । बिहान सेवा लिनेलाई साँझ र साँझ सेवा लिनेलाई भोलिपल्ट बिहान रिपोट दिन्छौँ । यहाँ आएपछि पालो कुरिरहनु पर्दैन’, बस्न्यातले भने । सेन्टरमा रेडियोलोजिष्ट प्रा डा निर्मल न्यौपाने, प्राडा रिन्की न्याछ्यो, प्राडा. शर्मा पौडेललगायत चिकित्सकले सेवा प्रदान गरिरहेका छन् ।
उनीहरु चिकित्सा अध्ययन संस्थानबाट रेडियोलोजीमा एमडी प्राप्त चिकित्सक हन् । सो विषयमा स्वर्णपदक विजेता प्राडा. न्यौपानेले यहाँको रेडियोलोजी सेवा सरकारी दरको भन्दा सस्तो रहेको जानकारी दिँदै बिरामीलाई आफूले चाहेको सयममा सेवा दिन सेन्टर सफल रहेको दाबीसमेत गरे । पछिल्लो समय अल्ट्रासाउन्ड, सिटी स्क्यान, एमआरआई तथा पेट स्क्यान उपकरणको आविष्कारसँगै रेडियोलोजी सेवाले फड्को मारेको छ ।
अस्पतालमा सेवा लिन जाने बिरामीको आवश्यकतानुसार प्रारम्भिक परीक्षण मुख्यतया एक्सरे जाँचबाट हुन्छ । हाड जोर्नी भाचिएका, छातिमा संक्रमण आदिको परीक्षणमा एक्सरे जाँचले प्रारम्भिक समस्याको पहिचान गर्न सहयोग पुग्ने चिकित्सकले जनाएका छन् । रेडियोलोजिष्ट प्राडा. न्यौपानेका अनुसार अल्ट्रासाउन्ड अति सूक्ष्म ध्वनिको प्रयोगबाट शरीरको अंगमा जाँच गर्ने आधुनिक उपकरण हो ।
गर्भाअवस्थादेखि भ्रण, सुत्केरी अवस्थासम्म आमा तथा नवजात शिशुको समस्या पहिचान, पेट, स्तनलगायतको अल्ट्रासाउन्डबाट रोगको पहिचान गर्न सजिलो हुन्छ । सिटी स्क्यानले विशेष गरी चोटपटक (ट्रमा)का समस्या पहिचान गर्न सजिलो हुन्छ । मस्तिष्कमा रगत जमेमा, हड्डी तथा करङ भाचिएको तुरन्त पत्ता लगाउन यही उपकरणको सहयोग लिइन्छ ।
‘पेट तथा छातिको रोग निदान गर्न भरपर्दाे माध्यम सिटी स्क्यान नै हो । धमनीसम्बन्धी रोग, टाउकोको क्यान्सर पत्ता लगाउन यसले सहयोग गर्छ’, उनले भने । यसैगरी, चुम्बकीय शक्तिबाट सञ्चालन हुने अति उच्चस्तरको प्रविधिका रूपमा रहेको एमआरआईको सहायताले स्नायु, मेरुदण्ड, हाडजोर्नीलगायत रोग पहिचान गर्न यसको प्रयोग हुन्छ ।
यसको सहयोगले नरम तन्तु स्पष्ट देखाउँछ । ‘हामीले पछिल्लो समय दक्षिण एसियाकै उत्कृष्ट एमआरआई उपकरणबाट सेवा दिइराखेका छौँ’, प्रशासकीय अधिकृत न्यौपानेले भने ।
प्रतिक्रिया