काठमाडौं । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानले राष्ट्रिय चिकित्सा शिक्षा ऐनविपरीत स्नातकोत्तर तह अध्ययनका लागि सिट वर्गीकरण गरेको प्रति सरकारी चिकित्सक संघ नेपाल (गोदान) र युवा चिकित्सक संघ, नेपालले विरोध जनाएका छन् ।
शनिबार प्रतिष्ठानले कानुनविपरीत एमडीः एमएस अध्ययनका लागि विदेशी विद्यार्थीलाई नेपाली विद्यार्थी भन्दा प्राथमिकता दिई गरेको कोटा विभाजनको युवा चिकित्सक संघले आइतबार विज्ञप्ति जारी गर्दै विरोध जनाएको थियो । त्यसैगरी, गोदानले सोमबार विज्ञप्तिमार्फत गैर कानुनीरूपमा आर्थिक प्रलोभनमा परेर गरिएको कोटा विभाजनलाई सच्याउन माग गरेको हो । यस्तो निर्णय गर्ने प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्न समेत सरकारसमक्ष माग गरेको हो । नेपाल सरकारकै बजेटमा सञ्चालित प्रतिष्ठानले ऐनको ठाडो उल्लंघन गरी आर्थिक प्रलोभनमा नेपालीभन्दा विदेशी विद्यार्थीलाई प्राथमिकता दिनु गलत भएको दुवैै संगठनले जनाएका छन् ।
प्रतिष्ठानले स्नातकोत्तर अध्ययनका लागि अत्यन्त गैरजिम्मेवार ढंगबाट जेहेन्दार विद्यार्थीलाई निरुत्साहित गर्नेगरी सिट निर्धारण गर्नुले मेधावी नेपाली विद्यार्थीको मिहिनेतको उपहास भएको गोदानले जनाएको छ । यसबाट नेपाली विद्यार्थीको अस्मितामा चरम प्रहार भएकाले उक्त वर्गीकरणलाई तुरुन्त खारेज गर्नुपर्ने माग गोदानको छ । गोदानले विदेशीलाई पोसेर नेपाली विद्यार्र्थीको घाँटी निमोठ्ने उक्त वर्गीकरण तत्काल खारेज गरी विज्ञको टोली गठन गरेर कानुन र व्यवहारसम्मत ढंगले नयाँ वर्गीकरण गर्न सुझाएको छ । गोदानले सोमबार नै उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई भेटेर यस विषयमा ध्यानाकर्षणसमेत गराएको छ ।
यता युवा चिकित्सक संघले नेपाली विद्यार्थी उपलब्ध नभएको खण्डमा मात्र विदेशीलाई अवसर दिइनुपर्ने माग राखेको छ । अन्तर्राष्ट्रिय अभ्यासमा समेत आफ्ना नागरिकलाई दिएर बचेको कोटा मात्र विदेशीलाई दिने प्रचलन भएको स्मरण गराउँदै संघले पैसाको लोभमा नेपाली विद्यार्थीहरुलाई शिक्षाबाट वञ्चित गर्ने यस्तो खालको गलत निर्णयमा सरकारले हस्तक्षेप गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गरेको छ ।
विदेशी विद्यार्र्थीलाई अधिकतम ३३ प्रतिशत मात्र कोटा दिन सकिने ऐनको व्यवस्था विपरीत प्रतिष्ठानले शनिबार नेपाली भन्दा विदेशी विद्यार्र्थीका लागि बढी कोटा दिएको थियो । प्रतिष्ठानले निकालेको भर्नासम्बन्धी सूचनामा सर्जरीको ६ मध्ये ४ सिट विदेशीका लागि बालरोग र मेडिसिनका ५–५ सिटमध्ये ३–३ सिट विदेशी विद्यार्र्थीका लागि छुट्याएको छ ।
चिकित्सा शिक्षा ऐेन ०७५ को दफा १७ (५) ले ‘स्नातक तथा स्नातकोत्तर तहका लागि तोकिएका कुल सीट संख्यामध्ये विदेशी विद्यार्थीको संख्या एक तिहाइभन्दा बढी हुने छैन भनि उल्लेख गरिएको छ ।’ ऐन अनुसार पिजीको जम्मा सीट संख्या र विषयगत रूपमा ३३ प्रतिशत सीट मात्र विदेशीलाई दिन पाइन्छ । त्यस्तै, बिपी अस्पतालमै कार्यरत चिकित्सकहरूको संस्था जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीलगायतका संस्थाहरुले समेत यसको विरोध गर्दै आएका छन् ।
प्रतिक्रिया