सांस्कृतिक ग्रन्थ निस्कने

काठमाडौं । नेपालको सांस्कृतिक पहिचान झल्किने पुस्तक प्रकाशित हुने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले सातै प्रदेशको गौरवमय सांस्कृतिक पहिचानको उत्खनन् गरी ‘नेपाल दर्शन’ नामक कृति प्रकाशन गर्ने भएको छ ।

मुलुकका विभिन्न सांस्कृतिक सम्पदाको स्थलगत अध्ययनबाट वस्तुगत विवरण संकलन गरेर विश्लेषणसहित नेपाली र अंग्रेजी संस्करणमा ग्रन्थ प्रकाशन गरिन लागिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले विदेशीलाई समेत नेपालको सम्पदाबारे जानकारी गराउन मिल्ने प्रकाशनको अभाव भएकाले त्यस्तो प्रकाशनले राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा नेपाली गौरवको परिचय दिने बताए । आफूहरूको वर्तमान कार्यकालभित्रै सक्ने यस महत्वाकांक्षी योजनाका लागि ठूलै रकम चाहिने भएकाले नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा समावेश गरी बजेट विनियोजन गर्न आग्रह गरिएको उनले जानकारी दिए । यसमा प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले प्रतिबद्धता दिइसकेको उनले सुनाए ।

यसैबीच प्रतिष्ठानले आगामी अक्टोबर १५ देखि २० सम्म काठमाडौंमा दोस्रो चीन–दक्षिण एसिया साहित्य सम्मेलन गर्ने र यसबाट अन्तर्राष्ट्रिय प्राज्ञिक सम्बन्ध विस्तार हुने जनाएको छ ।

प्रतिक्रिया