व्यवसायिक नैतिकताले समृद्धि

सभ्य समाजले आफ्नो गन्तव्य निर्धारण गर्न नसकेको अवस्थामा समस्या सिर्जना भई व्यवधान उत्पन्न हुनेछ । परिणाम स्वरूप सामाजिक पृष्ठभूमिमा नकारात्मक प्रभाव पर्न गई आपराधिक तत्वको बाहुल्यता कायम रहन जाने प्रबल सम्भावना रहन्छ । यसै सन्दर्भमा भन्दा मुलुकले हासिल गर्ने भनेको समृद्धिको यात्रामा समेत गतिरोध उत्पन्न हुने देखिन्छ । नेपालका अतिरिक्त विश्वको कुनै पनि विकासोन्मुख वा विकसित राष्ट्रले आफ्नो समृद्धिको मार्गलाई पहिल्याउने क्रममा सम्बद्ध मुलुकको व्यवसायी वर्गहरूको ध्यान केन्द्रित हुने अवस्थालाई अन्यथा लिन मिल्दैन । किनकि, सफल व्यवसायीवर्ग भनेकै वास्तवमा समृद्धिको संवाहक एवं परिसूचक हुन् ।

तसर्थ, व्यवसायीवर्गको सबल एवं सक्षम नेतृत्वले मात्र सफल औद्योेगीकरणको अवधारणाले मूर्त रूप धारण गर्न सक्ने अवस्था रहन्छ । जसका लागि व्यापार अभिवृद्धिको सफल व्यवस्थापन गर्न सक्नुपर्छ । तत्पश्चात् उत्पादित वस्तु तथा सेवा खरिदको लागि नागरिक समाजलाई उत्पे्ररित गर्ने कार्यमा व्यवसायीवर्ग पूर्ण रूपले सफल रहने छन् भन्ने विश्वास लिन सकिन्छ । तर यस महान कार्यका लागि व्यवसायिक नैतिकताको कसिमा खरो रूपमा उत्रनुपर्ने चुनौती भने कायमै रहेको छ । जसका लागि न्यून मुनाफामा केन्द्रित रहँदै अत्यधिक उत्पादनको मूलमन्त्रलाई आत्मसाथ गर्दै व्यवसायिक नैतिकताकोे कसीमा खरो रूपमा आत्म—मूल्याकंन गर्ने प्रवृत्तिको विकासलाई व्यवसायिक नैतिकताको अब्बल सिद्धान्त मान्न सकिन्छ । जसको उच्चत्तम प्रयोगमा यथार्थमा उपभोक्ता वर्गको विश्वासको मत हासिल गर्न सफल भइनेछ ।

उत्पादित वस्तु तथा सेवाको परिमाणात्मक गुणस्तरमा कुनै पनि प्रकारको सम्झौता नगर्ने कुरामा पूर्ण प्रतिबद्धता व्यक्त गर्ने चाहना राख्ने हो भने सम्बद्ध व्यवसायीद्वारा उत्पादित व्यवसायिक उत्पादनमा प्रश्न उठाउन सक्ने अवस्था रहँदैन । जसलाई ग्राहक विश्वासको कसीमा उच्चत्तम परिणाम मान्न सकिन्छ । यसका अतिरिक्त उत्पादित वस्तु एवं सेवा उपयोग गरेबापत प्राप्त हुन आउने कुनै पनि प्रकारको हानी नोक्सानी एवं जोखिमको सन्दर्भमा आवश्यक क्षतिपूर्तिसहितको उपभोक्ता हित संरक्षण गर्न सक्षम रहे व्यापार विविधीकरणको क्षेत्रमा अब्बल दक्षता हासिल गर्न सम्भव रहन्छ । जसको पूर्णताले व्यवसायिक नैतिकता एवं जवाफदेहितामा पूर्ण रूपले विश्वस्त रहने आधार खडा हुनेछ ।

व्यवसायीवर्गले आफ्नो समूहलाई नाफामूलक संस्थाको रूपमा मात्र केन्द्रित नराखी उपभोक्ता हितको खातिर सामाजिक हितग्राही संस्थाका रूपमा रूपान्तरण गर्ने चेष्टा राख्ने हो भने व्यवसायिक नैतिकताको कसिमा सफल उदाहरणीय पात्र बन्न सक्षम रहन्छन् । जसको प्रत्यक्ष फाइदा भनेको संख्यात्मक रूपमा न्यून संख्यामा उत्पादन गरिएको वस्तु एवं सेवाबाट पनि मनग्य लाभ हासिल गर्न सम्भव रहन्छ । यसले के प्रमाणित गर्दछ भने सम्बद्ध व्यवसायीद्वारा उत्पादित वस्तुको साखलाई व्यवसायिक सफलताको चुलीमा एक नम्बरको उच्च बनाउन महत्वपूर्ण भूमिका निर्वाह हुने कुरामा हामी कसैको पनि दुईमत हुन सक्दैन ।

जुन निश्चित रूपमा नागरिक समाजको हितमा केन्द्रित रहन्छ । जसका लागि सम्बन्धित मुलुकको मूल कानुन संविधानको अधिनमा रहने गरी सोही अनुरूपको अन्य कानुनी पक्षलाई आत्मसात् गर्दै व्यवसायिक चारित्रिक विशेषतालाई अवलम्बन गनूुपर्ने हुन्छ । यो नै इमान्दारी एवं नैतिकतासमेत हो जसको जगमा पक्कै पनि उपभोक्ता वर्ग विश्वस्त रहनेछन् । तर, यसका लागि सम्बन्धित वस्तु तथा सेवाको सही सूचना प्राप्त गर्ने उपभोक्तावर्गको कानुनद्वारा संरक्षित तथा सुरक्षित व्यावसायिक हक अधिकारलाईृ कुनै पनि हालतमा कुण्ठित पार्ने प्रयत्नलाई न्यायोचित कार्य मान्न सकिँदैन । यदि, व्यावसायिक अहमताको कारण उपभोक्ता हितविपरीतका असंवैधानिक कदम चाल्ने प्रयत्न गर्ने हो भने, सोको प्रत्योपादक ऋणात्मक असर पर्ने तथ्यलाई कुनै पनि हालतमा नजरअन्दाज गर्न मिल्दैन । तसर्थ यसमा विशेष हेक्का राख्ने समूहलाई नै सफल व्यवसायीको रूपमा मूल्याकंन गर्न सकिनेछ ।

किनकि, कुनै पनि उपभोक्तावर्गले आफू अनुकूलको उपभोग गर्न चाहने वस्तु तथा सेवाको सुक्ष्म भन्दा सूक्ष्म सूचना एवं जानकारी पाउनु सम्बद्ध पक्षको नैसर्गिक—कानुनी अधिकार क्षेत्र भित्रका विषयवस्तु हुन् । जसको अभावमा सम्बद्ध उपभोग्यवस्तु कति सुरक्षित टिकाउपूर्ण एवं गुणस्तरका छन् भन्ने कुराको यथार्थपरक—सूचनामूलक जानकारी प्राप्त गर्न उपभोगकर्तावर्ग वञ्चित रहने हुने हुदा उपभोक्ता हित संरक्षण गर्ने कार्यमा असफल हुनेछ । प्रस्तुत कदम विशुद्ध उपभोक्ता हित संरक्षण विपरीत हुनुको साथै व्यवसायी नैतिकताको विपक्षमा रहेको हुदा गैरउपभोक्ता हित संरक्षण नितिको रूपमा लिन सकिन्छ ।

तसर्थ, यस महत्वपूर्ण तथ्यको हु—बहुपालना गर्नाले सम्बन्धित वस्तुप्रतिको जवाफदेहिता अभिवृद्धि गर्न लाभदायी भूमिका निर्वाह गर्न सकिन्छ । यसका साथै उपभोगका दृष्टिकोणले उपयुक्त नहुने वस्तुहरू एकपटक झुक्कानमा पारेर बिक्रीवितरण गरेता पनि सोही प्रवृत्तिमा आइन्दा उपभोक्ताको जनविश्वास घटने भएको कारण ऋणात्मक असर पर्नेछ । प्रस्तुत अवस्था सिर्जना भए व्यवसाय विस्तारमा न्यूनता आई औद्योगिक क्षेत्र धरासयी हुन सक्ने प्रबल सम्भावना जीवन्त रहन्छ ।

जसको नकारात्मक असर उपभोक्ता वर्गमा मात्र केन्द्रित नरही राज्यको राजस्व असुलीको क्षेत्रमा समेत नकारात्मक प्रभाव पर्न जानेछ । न्यून राजस्व उठतीको कारण व्यवसायी एवं राज्यबीच राजस्व सहजीकरणका लागि असहजताको परिस्थिति पैदा भए असमझदारीको दूरी तीव्र रूपमा बढ्नेछ । यी दुवै बीचको अन्तरसम्बन्धको विकासले मात्र क्रमवद्ध रूपमा व्यवसायिक सफलता प्राप्त हुने हुँदा सामाजिक सहचारीको रूपमा व्यवसाय विस्तार गर्न सकिनेछ । यस अवस्था पश्चातः सामाजिक उत्तरदायीत्वको अभिवृद्धि भई सफल व्यवसायिको रूपमा समाजमा रूपान्तरण हुने अवस्था रहन्छ । जुन व्यवसाय विस्तारको लागि शुभसूचक कदम हो ।

मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान लगभग ३० प्रतिशतकोे हाराहारी रहेको भएता पनि सम्बद्ध पक्षको योगदानको आधारमा यस क्षेत्रको हितका लागि हालसम्म पनि सही रूपमा निजीक्षेत्रमैत्री नीति निमार्ण हुन सकेको छैन । अत ः यस क्षेत्रको विकासको लागि ठोस रणनीतिक योजनासहितको आवश्यक रणनीतिहरू तर्जुमा गरी समग्र निजी क्षेत्रको विकासमा यदि समयनानुकुल परिवर्तन गर्ने चाहना राख्ने हो सरोकारवाला पक्षको अविलम्ब ध्यान जानु अनिवार्य भइसकेको छ । परणिामस्वरूप व्यवसायी वर्गले उक्त सकारात्मक कार्यको सराह्ना गर्दै आमनेपाली समाजप्रति आफ्नो उत्तरदायित्व बहन गर्नुको साथै सामाजिक सहचारीको रूपमा आफूलाई प्रमाणित गर्ने प्रयत्न गर्नुपर्ने हुन्छ ।

जसले निश्चित रूपमा भ्रष्टाचार रहित न्यून मु—नाफामुखी व्यवसायिक अवधारणालाई आत्मसाथ गर्नुको साथै द्विपक्षीय सहकार्यको विकासमा अमूल्य छाप छोड्न सक्षम रहने देखिन्छ ।

यी यस्ता सकारात्मक व्यवहारहरू हुन्, जसले सफल व्यवसायिक साख अभिवृद्धिको लागि महत्वपूर्ण योगदान पु¥याउनेछ । प्रस्तुत अवस्थापश्चात् क्रमशः व्यवसायको क्षेत्रमा सामाजिक उत्तरदायित्व वहन गर्दै कल्याणकारी राज्यको अवधारणा अनुरूपको व्यवहार लागू गर्नुपर्ने हुन्छ ।

सामाजिक सुरक्षाको जिम्मेवारी बहन गर्ने क्षमताको अभिवृद्धिले अन्ततः व्यवसायीवर्गलाई नागरिक समाज एवं श्रमप्रतिको उत्तरदायित्व बहन गर्न नैतिक रूपमा थप जिम्मेवार बनाउनेछ । परिणामस्वरूप व्यवसायिक क्षेत्रमा सकारात्मक नतिजाहरू स्वतः मुखरित हुने अवस्था तयार हुनेछ ।

प्रतिक्रिया