जाजरकोट । दुई हप्तादेखि टाइफाइड र ज्वरोको बिरामीको संख्या बढे पनि डोल्पा अस्पतालमा औषधि नहुँदा समस्या भएको छ । टाइफाइड जाँच गर्नका लागि आवश्यक पर्ने किट (हुइडल पेस्ट रियाजेन्ट) नहुँदा समस्या उत्पन्न भएको हो । पाँच दिनदेखि यो औषधि अभाव हुँदा अस्पतालमा आएका बिरामीको उपचारमा चुनौती थपिएको डा. सिजन रावलले बताए ।
मौसम परिवर्तनसँगै डोल्पामा बिरामी बढे पनि टाइफाइड पत्ता लगाउने किट (औषधि) नै नहुँदा समस्या भएपछि अनुमानका आधारमा उपचार गर्न बाध्य भएको डा.रावलले बताए । यातायात र हवाई यातायातको सहज पहुँच नभएको डोल्पामा औषधिको आपूर्तिमा ढिलासुस्ती गर्दा धेरै बिरामी निजी औषधि पसलमा उपचार गर्न बाध्य भएका छन् ।
अस्पताल प्रशासनले औषधि अभाव भएको जानकारी प्रदेश सरकारलाई गराए पनि माग पूर्ति नभएको बताएको छ । डोल्पा अस्पताल प्रदेश मातहतमा रहेकाले कुनै पनि कुरा अभाव भएमा पूर्ति गर्ने जिम्मा प्रदेश सरकारको रहेको छ । त्यस्तै दुई जना चिकित्सकको दरबन्दी भएको डोल्पा अस्पतालमा एक जनाले मात्र काम गरिरहेका छन् । करारमा एक चिकित्सक कार्यरत छन् ।
अस्पतालमा डिजिटल एक्स–रेसमेत नहुँदा पुरानो एक्स–रेबाट काम सञ्चालन हुँदै आएको छ । त्यस्तै बिरामीलाई दिइने अक्सिजनसमेत नहुँदा दैनिक समस्या उत्पन्न भएको छ । जीर्ण भवनमा उपचार गर्दा समस्या हुँदै आएको छ । अस्पताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भए पनि अहिलेसम्म बोलपत्र आह्वान हुन सकेको छैन ।
प्रतिक्रिया