सगरमाथामा आरोहणमा विश्व रेकर्ड

दोलखा । जिल्लाको बिगु गाउँपालिका–१ लामाबगरका लीलाबहादुर बस्नेतले काठमाडौंबाटै हिँडेको सात दिनमा सगरमाथाको सफल आरोहण गरी फर्किएर विश्व रेकर्ड राखेका छन् ।

सगरमाथा आरोहणका लागि काठमाडौंबाट हिँडेको सातै दिनमा सगरमाथाको चुचुरोमा पुगेर काठमाडौं छोटो समयमा आउने उनी पहिलो व्यक्ति हुन् । पाँचौँपटक सर्वोच्च शिखर सगरमाथा चढेका ३७ वर्षीय बस्नेतले सफल आरोहणमा विश्व रेकर्ड राखेका हुन् । उनले गत जेठमा सफल आरोहण गरेका थिए ।

सफल आरोहणपछि गाउँ फर्केका बस्नेतलाई स्थानीय लामाबगरवासीले स्वागत तथा अभिनन्दन गरेका थिए । बस्नेतले सामान्यतया सगरमाथा आरोहण गर्न ४५ दिनदेखि ६० दिनसम्मको अनुमति हुन्छ । तर, आपूmले हिमाल आरोहणका लागि १० दिनको अनुमति लिएको बताए । बस्नेत भन्छन् ‘मे १८ तारिख बिहान ७ बजे काठमाडौंबाट लुक्ला उडेँ । १९ तारिखमा बेसक्याम्प, २० तारिखमा बेसक्याम्प–२ पुगे । २१ तारिखमा ७ हजार ९ सय मिटरको उचाइमा थकाइ मारेर साँझ ८ बजे हिँडेर २२ तारिखको बिहान ६ बजे चुचुरोमा पुगेँ ।’

चारपटक सगरमाथा पुगेकाले छोटो समयमै पुगेर फर्कन सक्छु भन्ने आँटले योजना बनाएर हिँडेको बस्नेतले बताए । विश्वभर भाषा, धर्म, संस्कृतिको नाममा नेपाललगायत विश्वभर अशान्त भइरहेको भन्दै त्यसको अन्त्यका लागि सगरमाथा आरोहण गरिएको स्वागत तथा अभिनन्दन गरेको समारोहमा बस्नेतले प्रष्ट पारे ।

बिगु गाउँपालिकाले ४ लाख ८९ हजार ४ सय ७७ रुपैयाँ, लामाबगरवासीले १ लाख ८६ हजार, प्यारगन स्कुलबाट २ लाख ५० हजार र प्यारागन स्कुलमा कार्यरत एक जना अमेरिकन नागरिकले दुई लाख ५० हजार सहयोग गरेको बस्नेतले बताए । उनले १० हजारमाथि सहयोग गर्ने स्थानीयवासीलाई धन्यवादको प्रमाणपत्रसमेत प्रदान गरेका छन् । उनले सेभेन समिट टे«क्समार्फत आरोहणका लागि सगरमाथा गएका थिए ।

स्वागत तथा अभिनन्दन गरेको समारोहमा सम्बोधन गर्दै बिगु गाउँपालिकाका प्रमुख युधिष्ठिर खड्काले विश्व रेकर्ड राखेर पालिकाको मात्र नभई देशकै नाम उच्च बनाएकोमा बधाइ ज्ञापन गरे । उनले लीला बहादुरकै सपना सकार पार्न गाउँपालिकाले यसैवर्षदेखि रक क्लाइमिङ बनाउन बजेट छुट्याउने प्रतिबद्धता जाहेर गरे । खड्काले बिगु गाउँपालिकाको ब्यानर सर्वोच्च शिखर सगरमाथाकाको चुचुरोमा पुर्याई फरफराएकोले थप योजनाका साथ काम गर्नसमेत प्रेरणा मिलेको धारण व्यक्त गरे ।

उनलाई सेभेन समिट कम्पनीले साथ र सहयोग गरेको थियो । उनीसँगै गएका सहयोगी बिरामी भएर अन्तिम बेसक्याम्पमा बसेपछि आवश्यक सामग्री सहितको भारी बोकेर एक्लै चुचुरोमा पुगेको बताए । माथि पुगेपछि त्यहाँ भएका अन्य व्यक्तिहरूले आफ्नो फोटो खिच्न सहयोग गरेको उनले प्रष्ट पारे । उनले सानाठूला गरी बस्नेतले सगरमाथासहित आधा दर्जन बढी हिमालको आरोहण गरेका छन् । बस्नेतले नेपालका मात्र नभई चीनको तिब्बतमा रहेका दुइटा हिमाल पनि चढेको बताए ।

प्रतिक्रिया