भारतको बिहारमा लिची खाएकै कारण कयौँ केटाकेटीको ज्यान गएको खबर आइरहेको वेला धेरै नेपालीको मनमा स्वाभाविक प्रश्न उब्जिएको छ, भारतबाट आयातित भएका लिची र तथा अन्य फलफूल निश्चिन्त भएर खान होला कि नहोला ? यो लिची र आँपको मौसम भएकाले पनि त्यस बारेमा जनचासो बढेको हो ।
यसबारेमा सरकारी अधिकारीहरू भन्छन् नेपालमा हालै परीक्षण गरिएका स्वदेशी र विदेशी लिची र फलफूलमा विषादीको अवशेष भेटिएको छैन । तर, जनस्वास्थ्यविद्हरू भने नेपालमा विषादीको परीक्षण प्रभावकारी र सर्वव्यापी नभइसकेकोले उपभोक्ता आफैँले सावधानी अपनाउनु राम्रो हुने बताउँछन् ।
हालै भारतको विहारमा लिची खाएपछि इन्सेफलाइटिस रोग लागेर कैयौँ बालबालिकाको ज्यान गएको समाचार सार्वजनिक भएपछि नेपालमा पनि लिचीलाई लिएर उपभोक्ताहरू चिन्तित भएका हुन् । नेपालका बजारमा स्वदेशीसँगै र भारतबाट आयातित लिचीसमेत बिक्री हुने गरेकोले त्यस्तो चिन्ता बढेको हो ।
लिचीका अतिरिक्त आँप, मेवा, स्याउ, केरालगायतका फलफूल र ठूलो परिमाणमा तरकारी मुख्यगरी भारतबाट नेपालका बजारमा भित्रिने गरेका छन् । पकाउने वा भण्डार गर्ने क्रममा फलफूलमा क्याल्सियम कार्बाइड र माछामा फोर्मलिन नामक रसायन प्रयोग गर्ने गरिएका विवरण नेपाली सञ्चारमाध्यमहरूमा यसअघि नै सार्वजनिक भइसकेका छन् ।
नेपालमा कृषि मन्त्रालयअन्तर्गतका कम्तीमा तीनवटा निकायले खाद्य अनुगमन तथा परीक्षणको काम गर्दछन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमन गर्दछ । त्यो विभागले नेपाल–भारत सीमा क्षेत्रमा रहेका आफ्ना १२ वटा कार्यालयहरू मार्फत् बजार अनुगमन गरिरहेको बताएको छ ।
विभागका महानिर्देशक संजीवकुमार कर्णका अनुसार विभागले अहिले अन्य खाद्य पदार्थका अतिरिक्त लिची र फलफूलको समेत अनुगमन गरिरहेको छ र फलफूलहरू परीक्षण गराएर मात्रै नेपाल भित्र्याउने नियमअनुसार काम भइरहेको छ । त्यसैले, कर्ण भन्छन्, ‘लिची खान सकिन्छ तर धेरै खान हुँदैन ।’
कृषि उपजको वैज्ञानिक जाँच गर्न भन्दै हालै अर्को नयाँ निकाय स्थापना गरिएको छ, केन्द्रीय प्रयोगशाला । त्यहाँका प्रमुख कञ्चन पाण्डे प्रयोगशालाले पूर्णता नपाइसकेकोले परीक्षणको काम सुरु नभइसकेको बताउँछन् ।
फलफूल र तरकारीमा विषादी परीक्षणको कुरा आउनेवित्तिकै कृषि अधिकारीहरूले जिम्मेवार ठान्ने एउटै निकाय हो, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र । त्यो केन्द्रले झापा, सर्लाही, काठमाडौं, कास्की, रुपन्देही, बाँके, कैलालीसहित सात स्थानमा यन्त्रहरू राखी विषादी परीक्षण गर्दै आएको छ ।
तर, ती यन्त्रले फलफूल र तरकारीमा प्रयोग गरिने सबैखाले विषादीको परीक्षण गर्न सक्दैनन् । ती यन्त्रले कार्बामेट र ओर्गानोफोस्फेट वर्गका विषादीको अवशेष मात्र परीक्षण गर्न सक्छन् । त्यसैले नेपालमा बिक्री हुने फलफूल तरकारी र अन्य खाद्य पदार्थ पूर्ण रूपमा हानीकारक विषादीरहित छन् भनेर ठोकुवा गर्न सकिँदैन ।
लिचीसँज जोडिएको चिन्ताकै सन्दर्भमा, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख डाक्टर डिल्लीराम शर्मा भन्छन्, ‘हामीले दुई वर्गका (कार्बामेट र ओर्गानोफोस्फेट) विषादी भए–नभएको मात्रै परीक्षण गर्छौँ । त्यसको नतिजा हेर्दा अहिले लिची र अन्य फलफूलमा ती विषादीको अवशेष भेटिएका छैन ।’ परीक्षण गरिएका फलफूलका नमुनामा अन्य प्रकारका विषादी भए–नभएको प्रष्ट छैन ।
यति हुँदा पनि प्रश्न उठ्न सक्छ, यदि लिची र फलफूलमा हानिकारक वा हानिकारक मात्रामा विषादी हालिएको रहेछ भने के गर्ने ? शर्मा भन्छन्, ‘फलफूल तरकारीमा विषादी हालिएको रहेछ भने पनि तिनीहरूलाई केही समयसम्म प्रयोग नगरी राख्नुपर्छ । जसलाई कुर्न पर्ने अवधि भनिन्छ । त्यो अवधि पूरा गरेर खाएमा लिची खान सुरक्षित हुन्छ ।’
त्यसको अर्थ फलफूल तरकारी ताजै खाएको राम्रो भन्ने सिद्धान्त व्यवसायिक रूपमा उत्पादन गरिने फलफूल तरकारीको हकमा लागु हुँदैन । फलफूल विकासको फाँटमा कार्यरत कृषि मन्त्रालयअन्तर्गतको अर्को निकाय हो, राष्ट्रिय फलफूल विकास केन्द्र ।
हानिकारक रसायनयुक्त फलफूल नेपाली बजारमा भित्रिन सक्ने चिन्ताको प्रसंगमा, त्यो केन्द्रकी प्रमुख रमिता मानन्धर भन्छिन् फलफूलमा विषादी वा अन्य हानिकारक रसायन प्रयोग भए–नभएको वा भारतको लिची खान योग्य हो वा होइन भन्नेबारे अझै धेरै अनुसन्धान र निगरानी बढाउन आवश्यक छ ।
उनका अनुसार नेपालमा फल्ने लिचीभन्दा भारतमा फल्ने लिची ठूलो र गाढा रातो रङको हुने गरेको पाइएको छ । उनी भन्छिन्, ‘अहिले बिहारमा लिची खाएका कारण बालबालिका बिरामी परेको खबर आएपछि नेपालमा पनि त्यसबारे गहन अनुसन्धान थाल्न आवश्यक छ ।’
पछिल्लो समय नेपालमा पनि व्यवसायिकरूपमा तरकारी तथा फलफूल उत्पादन गर्ने किसानहरूले खेती गर्ने वेलादेखि उपज भण्डार गर्ने र बजार पु¥याउने बेलासम्म बढ्दो रूपमा विषादी र अन्य रसायनको प्रयोग गर्ने गरेका विवरणहरू नेपाली सञ्चारमाध्यमहरूमा सार्वजनिक भइरहेका छन् ।
एकातिर देशभित्र विषादीको प्रयोग घटाउने नेपाल सरकारका योजना प्रभावकारी हुन सकेका छैन । अर्कोतिर खुला सीमा रहेको भारतबाट नेपाल आउने सबै फलफूल र तरकारीको गुणस्तर र स्वच्छताको प्रभावकारी अनुगमन र परीक्षण हुनेमा आशंकाहरू कायमै छन् । अन्य देशबाट नेपाल भित्रिने फलफूल र अन्य खाद्य पदार्थ पनि सुरक्षित र विषादीरहित हुन्छ भन्ने कुरामा विज्ञहरू ढुक्क छैनन् ।
जनस्वास्थ्यविद् अरुणा उप्रेतीका विचारमा सरकारले प्रांगारिक खेती र तीतेपाती र नीमजस्ता प्राकृतिक कीटनाशक औषधिहरू प्रयोग गर्न किसानहरूलाई प्रोत्साहित गर्नु पर्दछ । उनी भन्छिन्, ‘फलफूलमा रसायन र विषादीको अवशेष हुन सक्नेबारे उपभोक्ताहरू पनि चनाखो हुनुपर्दछ । बजारमा रसायन प्रयोग गरिएका फलफूल र सागसब्जी किनेर खानुको सट्टा देशभित्रै प्राकृतिक रूपमा विषादी प्रयोग नगरीकन उत्पादन हुने (आरु र आलुबखडा जस्ता) फलफूल खाने बानी बसाल्नुपर्छ ।’ (बिबिसिको सहयोगमा)
प्रतिक्रिया