सुषमाको चित्र ‘एसियन म्युजियम’ मा

काठमाडौं । नेपाली कला क्षेत्रमा तीन दशकदेखि सक्रिय कलाकार सुषमा राजभण्डारीले बनाएको चित्र रुसस्थित ‘एसियन म्युजियम’ मा राखिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञसमेत रहेकी राजभण्डारीले सिर्जना गरेको गणेशको चित्रलाई उक्त संग्रहालयले संग्रहमा राखेको हो ।

एसियाका विभिन्न देशका कलाकारका कलाकृति राखिएको उक्त संग्रहालयमा नेपालबाट यसअघि चन्द्रमान सिंह मास्केले तयार पारेको कलाकृति राखिएको राजभण्डारीले जानकारी दिइन् । विश्वमा प्रसिद्ध रहेको उक्त संग्रहालयमा आफूले सिर्जना गरेको कृतिले स्थान पाएपछि नेपाल र नेपालीको गौरब बढेको बताउँदै प्राज्ञ राजभण्डारीले चित्रमा आँखामा एक प्रकारको शान्तिको भाव प्रकट भएको अनुभव हुने हुँदा आकर्षक रहेको जनाइन् ।

कलाकार राजभण्डारीले नेपाली कलाकार अन्तर्राष्ट्रिय तहमा जुनसुकै देशमा गएर पनि आफ्नो देशको पहिचान राख्न सक्षम भएको विचार व्यक्त गर्दै नेपाल र रुसबीच प्राचीन समयदेखि रहेको आपसी सम्बन्धलाई अझ मजबुत बनाउन आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रतिष्ठानका अनुसार यसअघि तत्कालीन राजा महेन्द्रको रुस भ्रमणका बेलासँगै रहेका मूधन्र्य कलाकार मास्केको कृति त्यहाँ राखिएको थियो । रुसको राजधानी मस्कोमा गत जेठ २२ देखि ३२ गतेसम्म राजभण्डारीको १६औँ एकल कला प्रदर्शनी समेत गरिएको थियो । विभिन्न ३० कृति रहेको उक्त प्रदर्शनीमा गैरआवासीय नेपाली, विदेशी नियोग, विदेशी कलाकार लगायतले केही चित्र खरिद गरेको जनाइन् ।

प्रतिक्रिया