‘पत्र नपाएसम्म धैर्य गर्नुस्’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन भइ आएको सूची अद्यावधिक गर्ने काम भइरहेकाले स्वास्थ्यकर्मीलाई पत्र प्राप्त नहुँदासम्म खटिएकै कार्यालयमा कार्यरत रहन अनुरोध गरेको छ । मन्त्रालयका प्रशासन प्रमुख जनार्दन गुरागाईँले सूचना जारी गर्दै सामान्य प्रशासन मन्त्रालयबाट समायोजनको सबै सूची आइसकेको र अद्यावधिक गर्ने काम भएको जनाएका छन् ।

गुरागाईँले हस्ताक्षर गरेको विज्ञप्तिमा सामान्यबाट प्राप्त भएको सूचीअनुसार सबै समायोजनको विवरण अद्यावधिक गर्ने काम भइरहेको भन्दै सबै स्वास्थ्यकर्मीलाई आफू खटिएको कार्यालय तथा जिम्मेवारीमा धैर्यताका साथ सेवा प्रवाहमा खटिरहन अनुरोध गरिएको छ ।

मन्त्रालयले सम्बन्धित विभागीय प्रमुख, निर्देशक, कार्यालय प्रमुखहरुले पनि समायोजनाको पत्र प्राप्त नहुँदासम्म आफू मातहतका कर्मचारीलाई आफू खटिएकै कार्यालयबाट सेवा सुचारु गराउनसमेत आग्रह गरेको छ । मन्त्रालयले आम नागरिकलाई पुर्याउने सेवा सुविधा सुनिश्चित गर्न गराउन आ–आफ्ना ठाउँ र जिम्मेवारीमा कार्यरत रही रहन समेत आग्रह गरेको छ ।

‘सम्बन्धित विभागीय प्रमुख, निर्देशक, कार्यालय प्रमुखहरुले पनि समायोजनको पत्र प्राप्त नहुँदा सम्म आफू मातहतका कर्मचारीहरुलाई आफू खटिएकै कार्यालयबाट सेवा प्रवाह सूचारु गराई यस मन्त्रालय मार्फत आम नागरिकलाई पु¥याउने सेवा सुविधा सुनिश्चित गर्न गराउन आ–आफ्नो ठाउँ र जिम्मेवारीमा कार्यरत रहीरहन हुन यसै सूचनाद्वारा जानकारी गराईएको छ,’ पत्रमा उल्लेख ।

मन्त्रालयले प्राप्त समायोजन सूचीमा गुनासो सम्बोधनबाट प्राप्त भएका विवरण अद्यावधिक गर्ने र समायोजन भएका पद नामका कर्मचारीको समायोजन पत्र कार्यरत कार्यालयमा नै पठाउने व्यवस्था मिलाईको जनाएको छ । समायोजन सम्बन्धमा कसैको वहकाउ र भ्रममा नपरी सेवारत रहन समेत अनुरोध गरिएको छ ।

यसअघि शुक्रबारै औषधि व्यवस्था विभागले गरेको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले स्वास्थ्यको समायोजनको विषयलाई सामान्य प्रसाशन मन्त्रालयले सुल्झाउनुको सट्टा बल्झाएर पठाएकोले समस्या भएको बताए ।

स्वास्थ्यका कर्मचारीहरुको समस्या एउटै नहोस भनेका थियौँ, तर नकारात्मक भएर आयो ।’ डा. यादवले भने । कार्यक्रममा स्वास्थ्य सचिव रामप्रसाद थपलियाले समायोजनको काममा मन्त्रालय लागिरहेको भन्दै सम्पन्न भएपछि कर्मचारीलाई समायोजनको पत्र कार्यरत संस्थामै पुग्ने बताए । उनले समायोजनको पत्रपछि मात्रै पदस्थापनको पत्र जाने हुनाले केही समय अझै लाग्ने बताए ।

प्रतिक्रिया