चलचित्र छायांकनलाई अनुदान

दाङ । तुलसीपुर उपमहानगरपालिकाले चलचित्र छायांकनका लागि अनुदान दिने भएको छ । आर्थिक वर्ष ०७६-७७ को नीति तथा कार्यक्रममा उपमहानगरपालिकाले यस्तो नीति अघि सारेको हो ।

तुलसीपुरको पर्यटकीय क्षेत्र, संस्कृति, परम्परा र संरचनालाई समावेश गरेर चलचित्र छायांकन, वृत्तचित्र, निर्माण गर्नेलाई अनुदान दिने जनाइएको छ ।

यस क्षेत्रको कला, संस्कृति तथा पर्यटन प्रवद्र्धनका लागि यस्तो कार्यक्रम अघि सारिएको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

उनले ‘घुम्न जाऔँ तुलसीपुर’ अभियानलाई सफल बनाउनका लागि तुलसीपुरमा पर्यटनमा, सांस्कृतिक महोत्सव, खेलकूद महोत्सव, विज्ञान प्रदर्शनी, सांस्कृतिक झाँकी प्रदर्शनीजस्ता आयोजना गर्ने बताए । एक वडा, एक उद्यान निर्माण गरिने, सबै जातजातिको सम्मान, विभिन्न पर्यटकीय स्थल पुग्ने सडक निर्माण गर्ने नीति अघि सारेको छ ।

त्यस्तै, तुलसीपुर–१९ सक्राममा रहेको सशस्त्र ब्यारेकलाई क्रान्ति संग्रहालय तथा बहुसांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्ने, तुलसीपुरको पहिचानलाई विदेशमा चिनाउन विदेशीसँग भागिनी सम्बन्ध कायम उपमहानगर प्रमुख पाण्डेले जनाए । त्यसैगरी, उपमहानगरले थारू जातिको महतवा प्रथालाई कानुनी दायरामा ल्याउने भएको छ ।

प्रतिक्रिया