यस्तो छ खोपको इतिहास

बितेको शताब्दीमा खोपका कारण करोडौँ मानिसको ज्यान जोगिएको छ । तर, पनि कतिपय देशका स्वास्थ्य विज्ञहरूमा भने खोपप्रति हिच्किचाहटको प्रवृत्ति बढ्दो रहेको बताउँछन् । यो प्रवृत्तिप्रति विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) निकै चिन्तित छ । त्यसैले, उसले यसलाई सन् २०१९ को १० प्रमुख विश्वव्यापी स्वास्थ्य संकटको सूचीमा राखेको छ ।

खोपको खोज हुनुभन्दा पहिले संसार निकै खतरनाक थियो जहाँ विविध रोगका कारण दशौँ लाख मानिसले ज्यान गुमाइरहन्थे । दशौँ शताब्दीमा चिनियाँहरूले पहिलोपटक एक प्रकारको खोप पत्ता लगाए । ‘भ्यारियोलेसन’ भनिने प्रक्रियाअन्तर्गत स्वस्थ्य मानिसलाई रोगले ग्रसित तन्तुको सम्पर्कमा ल्याइन्थ्यो ताकि उनीहरूमा प्रतिरोधी क्षमता जन्मियोस् ।

आठ शताब्दीपश्चात् ब्रिटिश चिकित्सक एडवार्ड जेनरले गोठाला महिलाहरूलाई गाईहरूमा लाग्ने सामान्य किसिमको ‘काउपक्स’ रोग लाग्ने गरेको तर उनीहरूलाई गम्भीर किसिमको स्मलपक्स वा बिफर नलाग्ने गरेकोबारे लामो अध्ययन गरे । बिफर अत्यन्त संक्रामक रोग थियो जसले एकतिहाइ बिरामीको ज्यानै लिन्थ्यो । त्यसैका कारण बाँचेकाहरू पनि जीवनभरि खत लिएर वा दृष्टिविहीन भएर बाँच्नुपथ्र्यो ।

सन् १९७६ मा जेनरले एक आठ वर्षीय जेम्स फिप्समाथि परीक्षण गरे । ती चिकित्सकले काउपक्स रोगबाट भएको घाउको पीप ती बालकको शरिरमा दलिदिए । लगत्तै ती बालकमा पनि सो रोगको लक्षण देखा प¥यो । जब फिप्स सो रोगबाट निको भए तब जेनरले उनलाई बिफरको सम्पर्कमा पनि त्यसै गरी पु¥याए । तर, ती बालक स्वस्थ नै रहे अर्थात् काउपक्सले उनलाई बिफर प्रतिरोधी बनाइदियो ।

सन् १९७८ मा उक्त परीक्षणको नतिजा प्रकाशित भयो र भ्याक्सिन (खोप) शब्दको उत्पत्ति भयो । ल्याटिन भाषामा गाईलाई भ्याक्का भनिने गरेकोमा त्यसैबाट भ्याक्सिन शब्द सुरु भएको मानिन्छ ।

गत शताब्दीमा खोपका कारण थुप्रै रोगले पु¥याउने हानिमा निकै कम भएको छ । सन् १९६८ मा त्यसको खोप विकास नहुन्जेल वार्षिक करिब २६ लाख मानिस दादुराका कारण मर्ने गरेको तथ्यांक छ । खोपको प्रयोगले सन् २००० को तुलनामा सन् २०१७ मा दादुराको कारण हुने मृत्युको परिमाण ८० प्रतिशतले घटेको डब्लुएचओले जनाएको छ ।

केही दशकअघि मात्र पनि दशौँ लाख मानिसलाई सताएको पोलियोको संक्रमणले प्यारालाइसिस वा मृत्युलाई निकै चिन्ता बनाइदिएको थियो । तर, अहिले विश्वमा पोलियो लगभग निर्मूल भएको छ । यसले मानिसमा चिन्ता घटाउँदै गएको छ ।

विगतमा मानिसहरू धार्मिक दृष्टिले खोपको प्रयोग गर्न अनकनाउँथे । खोप लगाउँदा शरीर अपवित्र हुने वा त्यसले छनोटको स्वतन्त्रता हनन गर्ने उनीहरुको अन्ध विश्वास थियो । सन् १८०० को समयता ब्रिटेनमा खोप विरोधी समूह नै देखा परेका थिए । तिनले रोगसँग लड्न रोगीहरूलाई एक्ल्याउने जस्ता वैकल्पिक उपायको पैरवीसमेत गरे । जसले मान्छेलाई खोपदेखि झन् टाढा बनायो ।

सन् १८७० मा एकजना ब्रिटिश खोपविरोधी अभियानकर्ता विलियम टेबको भ्रमणपश्चात् अमेरिकामा पनि खोपविरोधी समूह गठन भएको थियो । पछिल्लो समयमा खोपविरोधी आन्दोलनका एक मुख्य अभियानकर्मी एन्ड्र्यु वेकफिल्ड रहे । सन् १९९८ मा ती लन्डनस्थित चिकित्सकले एमएमआर खोप र अटिज्मबीच सम्बन्ध रहेको गलत विवरण प्रकाशन गरेका थिए । एमएमआर भनेको दादुरा, हाँडे तथा रुबेला रोगका लागि साना बालबालिकालाई दिइने खोप हो ।

उनको विवरणलाई गलत ठह¥याइएको छ र वेकफिल्डलाई ब्रिटेनको मेडिकल रजिस्टरबाट पनि हटाइएको थियो । तर, पनि उनको दाबीपश्चात् ब्रिटेनमा एमएमआर खोप प्रयोगमा कमी आयो । सन् २००४ मा मात्र ब्रिटेनमा एमएमआर खोप प्रयोग गर्ने बालबालिकाको संख्या एक लाखले घट्यो । खोप प्रयोग गर्नेको संख्या घटेपछिका वर्षहरूमा दादुराको घटना ह्वात्तै बढ्यो ।

खोपका बारेमा विश्वमा ठूलै पदमा आसिन भएका पनि विरोधी देखापरे । इटालीका आन्तरिक मामिलामन्त्री माट्टियो साल्भिनी खोपविरोधी समूहका पक्षधर छन् । यस्तै, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विना कुनै प्रमाण खोपलाई अटिज्मसँग जोडिदिए । तर, अचेल भने उनले अभिभावकहरूलाई आफ्ना बच्चालाई खोप लगाउन आह्वान गर्न थालेका छन् ।

एक अन्तर्राष्ट्रिय अध्ययनले खोपप्रति सबभन्दा कम विश्वास युरोपेली क्षेत्र र खासगरी फ्रान्समा रहेको देखाएको छ । जब जनसंख्याको ठूलो हिस्साले खोप प्रयोग गर्छ तब त्यसले रोग फैलन रोकिदिन्छ र प्रतिरोधी क्षमता नभएका वा खोप नलगाएकाहरूलाई समेत जोगाउँछ । यसलाई समुदायगत सुरक्षाकवच वा हर्ड इम्युनिटी पनि भनिन्छ । तर, कुनै अज्ञानता वा अरू कुनै कारणले खोप प्रयोग गरिएन भने पूरै जनसंख्या खतरामा पर्छ ।

हर्ड इम्युनिटी हासिल गर्न कति जनसंख्याले खोप लगाएको हुनुपर्छ भन्ने आँकडा रोगैपिच्छे फरक छ । दादुराको लागि यो ९५ प्रतिशत छ भने पोलियोको लागि ८० प्रतिशत छ । गतवर्ष अमेरिकाको बु्रकलिनमा कट्टर यहुदी समुदायले खोप तथा अटिज्मबीच सम्बन्ध रहेको गलत जानकारीसहितका पर्चा बाँडे । सोही समुदाय अहिले अमेरिकामा दशकौँयता फैलिएको सबैभन्दा ठूलो दादुराको प्रकोपको केन्द्रमा छ ।

इंल्यान्डका सबैभन्दा वरिष्ठ चिकित्सकले सामाजिक सञ्जालमा व्याप्त रहेको खोपको गलत सूचनाले धेरै मानिस मूर्ख बनिरहेको भन्दै गत वर्ष चेतावनी दिएका थिए । अमेरिकी अनुसन्धानकर्ताहरूले भने त्यस्ता गलत सूचना राखेर मतभेद चर्काउन इन्टरनेटमा रुसबाट स्वचालित संयन्त्रहरूको प्रयोग भएको आरोप लगाएका छन् ।

डब्लुएचओका अनुसार केही वर्ष यता विश्वभरि खोप लगाएका बालबालिकाको संख्या ८५ प्रतिशतमा स्थिर रहेको छ । उसले भनेको छ खोपले हरेक वर्ष संसारभरि २० देखि ३० लाख मानिसको ज्यान जोगाउँदै आएको छ ।

खोपका विरुद्ध सबैभन्दा ठूलो चुनौती तथा तिनको सबैभन्दा कम प्रयोग दर द्वन्द्व तथा कमजोर स्वास्थ्य उपचार प्रणाली उपलब्ध भएका देशहरूमा परेको छ । ती देशको उदाहरणमा अफगानिस्तान, एंगोला तथा प्रजातान्त्रिक गणतन्त्र कंगो पर्दछन् ।

तर, विकसित मुलुकहरूको हकमा घट्दै गएको गम्भीरतालाई डब्लुएचओले प्रमुख समस्या मानेको छ, अर्थात् मानिसहरूले ती रोगले कति हानि गर्न सक्छन् भन्ने बिर्सन थालेका छन् । (बिबिसीको सहयोगमा)

प्रतिक्रिया