बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले ठूलो परिणामको लागूऔषध बरामद गरेको जनाएको छ । प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार नेपालगञ्ज उपमहानगरपालिका–२२, पुरैनीबाट साढे १८ किलो ५ सय ग्राम अफिमसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बुधवार बिहान नौ बजे पुरैनीस्थित बाबाकुटीमा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागुऔषधसहित कारोबारमा संलग्नलाई नियन्त्रणमा लिएको प्रदेश–५, लागुऔषध अनुसन्धान ब्युरो नेपालगञ्जले जनाएको छ ।
पक्राउपर्नेमा भेरी नगरपालिका–९, खलंगा, जाजरकोटका २५ वर्षीय राजेन्द्र विश्वकर्मा, पूर्वी रुकुम पुथा गाउँपालिका–२ का ४९ वर्षीया शर्मिला मगर, नलगाढ गाउँपालिका–९ का २५ वर्षीया वीरबहादुर विक, सोही ठाउँका ५० वर्षीय पृथ्वीबहादुर विश्वकर्मा र पञ्चपुरी नगरपालिका–९, खुर्सानीबारी, सुर्खेतका ५९ वर्षीय अम्मरबहादुर दहराई रहेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेलले बताए ।
पक्राउ परेको यति ठूलो परिणाम नेपालमै दोस्रो ठूलो परिणाम रहेको एसपी पौडेलले बताए । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बाँकेले बुधबार नै पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
पुरैनीदेखि नेपालगञ्जतर्फ आउँदै गरेको भे१ह १३९५ नं. को अटोरिक्सामा सवार रहेका उनीहरूबाट झोलामा प्लास्टिकद्वारा प्याकिङ गरी लुकाई ल्याइरहेको अवस्थामा अवैध लागुऔषध अफिमसहित उनिहरूलाई पक्राउ गरेको एसपी पौडेलले बताए ।
थप अनुसन्धानका लागि उनीहरूलाई कानुनबमोजिम कारबाही अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरीप्रमुख पौडेलले बताए । उनीहरूले भारततर्फ लैजाने तयारी गरिरहेका थिए हाम्रो टोलीले उनीहरूको निगरानी गरी पक्राउ गर्न सफल भएको एसपी पौडेलले भने । उनीहरूलाई लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा ६ (३) बमोजिम १५ वर्षसम्म जन्मकैद र पाँच लाखदेखि २५ लाखसम्म जरिवाना हुन सकिने व्यवस्था रहेको प्रहरीले जनाएको छ ।
बाँके प्रहरीले आव ०७५-७६ मा लागुऔषध कारोबारी गर्ने २ सय २१ मुद्दा दर्ता गरेको छ । ०७४ मा १ सय ३७ र ०७५ मा १ सय ५४ गरी कुल २ सय २१ मुद्दा दर्ता गरेको जनाएको छ । जसमा ३ सय ३८ जना कारोबारीलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
प्रतिक्रिया