महानिर्देशकसहित १३ जनामाथि मुद्दा

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशकसहित १३ जनामाथि अख्तियार दुरुपयोग अनुन्धान आयोगले भ्रष्टचारको मुद्दा दायर गरेको छ । मोबाइल भ्यान प्रयोगशाला खरिदमा १२ करोड भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले महानिर्देशक सञ्जिवकुमार कर्णसहित १३ जनामाथि विशेष अदालतमा बिहीबार भ्रष्टाचारमुद्दा दायर गरेको हो ।

उनीहरूमाथि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि प्रयोगशाला मोबाइल भ्यान खरिदमा १२ करोड ४० लाख ४७ हजार ५ सय ५८ रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ । अख्तियारले महानिर्देशक कर्णसहित विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रविता श्रेष्ठ, नासु गुरुदत्त गौतम, शाखा अधिकृत भागिरथ आचार्य, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाइ खुमलटारका उपसचिव (लेखा) गणेशप्रसाद चालिसे, लेखापाल बाला राम पोख्रेल, तत्कालीन परियोजना निर्देशक नरहरिप्रसाद घिमिरे, वरिष्ठ कृषि इन्जिनियर सरोज अधिकारी, वरिष्ठ योजना अधिकृत तिलकराज चौलागाईं, परियोजना निर्देशक लक्ष्मणप्रसाद पौडेल र वरिष्ठ अनुगमन मूल्यांकन अधिकृत इन्द्रहरि पौडेललाई पनि मुद्दा दायर गरेको छ । त्यस्तै प्रुडेन्ट मेडिटेक इन्टरनेसनलका प्रतिनिधि प्रवीण कुँवरलाई पनि प्रतिवादी बनाइएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट खरिद गरिएका चारवटा प्रयोगशाला मोबाइल भ्यान खरिद गर्दा भ्रष्टाचार भएको अख्तियारको आरोप हो । मोबाइल भ्यानहरू कार्यालयमा दाखिला नगरी भुक्तानी गरिएको र त्यसक्रममा भ्रष्टाचार भएको अख्तियारले जनाएको छ ।

खाद्यान्नको गुणस्तर अनुसन्धानको क्रममा प्रयोग हुने ‘वेल इक्विपमेन्ट ल्यावोटरी मोबाइल भ्यान’ खरिदमा कमिसन खाई रकम भुक्तानी गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि बोलपत्रको माध्यमद्वारा खरिद गरिएका चार थान ‘वेल इक्विपमेन्ट ल्यावोटरी मोबाइलभ्यान’ प्रुडेन्ट मेडिटेक इन्टरनेसनल कमलादी, काठमाडौंले आपूर्ति गरेको थियो ।

राजमार्ग, नाका र बजार अनुगमनका क्रममा तत्काल नमुना परीक्षण र नतिजा दिनका लागि ती मोबाइलभ्यान खरिद भएका थिए । विभागका अनुसार चार वटा भ्यानको मूल्य करिब २८ करोड रुपैयाँ पर्छ । भ्यान फोर्ड कम्पनीको हो । ल्याबोरेटरी भ्यान खरिदको मुख्य उद्देश्य जनचेतना थियो । राजमार्गमा अनुगमन गर्दा अनुगमनस्थलमै परीक्षण, किसानले उत्पादन गरेको दूध, नाकामा तरकारी, विषादी, तेल, सिमेन्टलगायतका वस्तु तत्काल परीक्षण हुन सक्छ । मेसिनमा राख्नेबित्तिकै परीक्षण र नतिजा आउँछ । कारबाही र मुद्दाकै लागि पुनः परीक्षण गर्नुपरे पनि भ्यान प्रयोगशालाले मिसावट नभए नभएको परीक्षण गर्न मिल्छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग स्रोत अनुसार सरकारले भ्यानका लागि ०७३-७४ मा बजेटमार्फत खरिद गर्ने घोषणा गरेको थियो । प्रधानमन्त्री कृषि परियोजनाबाट दुई र खाद्य प्रविधिअन्तर्गत दुई गरी चार वटा भ्यान खरिद गर्ने निर्णय भएको थिया । महालेखा परीक्षकको प्रतिवेदनले पनि भ्यान खरिद प्रक्रिया नियमसंगत नभएको जनाएको थियो । प्रधानमन्त्री कृषि परियोजना र खाद्य प्रविधिले प्रतिस्पधाबिनै खरिद प्रक्रिया अघि बढाएको उल्लेख छ ।

अनुसन्धानको क्रममा भ्यान र त्यसका विभिन्न सरसमान, उपकरण तथा रसायनहरूसमेत स्वीकृत मापदण्ड तथा स्पेसिफिकेसनअनुसार नभेटिएको अख्तियार स्रोतले बतायो । परीक्षणका क्रममा गुणस्तरहीन भएको भन्ने प्राविधिक प्रतिवेदनसमेत पेस भएको थियो । त्यसलाई बेवास्ता गरी सप्लायर्ससँगको मिलेमतोमा भुक्तानी भएको अख्तियारको दाबी छ ।

प्रतिक्रिया